रिचार्ज कार्डबाट बिजुलीको बिल तिर्ने योजना अलपत्र

    1366

    काठमाडौंः मोबाइलबाटै बिजुलीको बिल तिर्न सकिनेगरी नेपाल विद्युत् प्राधिकरणले तयार गरेको योजना अलपत्र परेको छ । चार वर्षअघि नेपाल टेलिकमकै रिचार्ज कार्डमार्फत बिजुलीको बिल तिर्नसक्ने गरी प्रविधिको विकास गरेपछि विद्युत् प्राधिकरणका उच्च व्यवस्थापनको बेवास्ताको कारण अलपत्र परेको हो ।

    मासिक ८० रुपैयाँ तिर्नका लागि १ हजार रुपैयाँसम्म खर्चेर विद्युत् प्राधिकरणको वितरण केन्द्रसम्म धाउनुपर्ने अवस्था रहेकोमा एसएमएस पेमेन्ट सिस्टममार्फत जुनसुकै ठाउँबाट पनि बिल तिर्नसक्ने गरी प्रविधिको विकास गरिएको छ ।

    पहिला प्राधिकरणले छुट्टै रिचार्ज कार्ड तयार गरेर अघि बढाउने सोच प्राधिकरणले बनाएपनि पछि टेलिकमले आफ्नै रिचार्ज कार्डमार्फत बिल तिर्न सम्भव हुने बताएको थियो ।

    “रिचार्ज कार्डमार्फत बिजुली बिल तिर्नका लागि प्राविधिक रुपमा सम्भव छ भनेर फाइनल डेमोसमेत भइसकेको छ तर, उच्च व्यवस्थापनको वेवास्ताले अघि बढेको छैन,” प्राधिकरण सूचना प्रविधि विभागका एक अधिकारीले भने, “विद्युत् प्राधिकरणले कार्यादेश दियो भने प्राधिकरण व्यवस्थापनले कार्यादेश दिएमा डेढ महिनाभित्र देशभरिकै ग्राहकले टेलिकमको रिचार्ज कार्डमार्फत तुरुन्तै ग्राहकले बिजुलीको बिल तिर्न सक्छन् तर चार बर्षदेखि अलपत्र छ, कार्यादेश कुरिरहेका छौं ।”

    श्रीलंका, दुबइ, फिजीलगायतका देशमा प्रचलनमा आइसकेको यो प्रविधि अघि बढाउन र यसका जोखिम पक्षबारे थाहा पाउन विद्युत् प्राधिकरणले फिजी इलेक्ट्रिसिटी अथोरिटीलाई पत्रसमेत पठाइसकेको थियो तर त्यो अघि बढ्न सकेको छैन ।

    “एकातिर पूर्वाधारका लागि कुनै खर्च नपर्ने अर्कोतिर टेलिकम र उपभोक्तालाई एकदम सहज हुने भएकोले रिचार्ज कार्ड प्रविधि धेरै प्रभावकारी हुन्छ,” ती अधिकारीले भने, “अहिले अनलाइमार्फत बिजुलीको बिल तिर्ने कुरा बढी चर्चामा छ, एक÷डेढ करोडको सफ्टवेयर ल्याएर तुरुन्तै सेवा सुरु गर्न सकिने रिचार्ज कार्डको योजना छायामा छ ।”

    अहिले अनलाइनमार्फत बिजुलीको बिल तिर्ने प्रविधि इन्टरनेट सेवा पुगेका क्षेत्रमा प्रभावकारी भए पनि बिजुलीको केन्द्रीय ग्रीड पुगेका ९५ प्रतिशतभन्दा बढी क्षेत्रमा मोबाइल सेवा पुगिसकेकोले रिचार्ज कार्ड प्रविधि धेरै प्रभावकारी हुने उनको तर्क छ । विद्युत् प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी प्राधिकरणमा अनलाईन पेमेन्ट सिष्टमबारे कुरा भएपनि रिचार्ज कार्डमार्फत बिजुलीको बिल तिर्नेबारे खासै छलफल अघि नबढेको बताउँछन् ।

    बिजुलीको बिल तिर्न प्राधिकरणकै काउन्टरमा पुग्नुपर्ने बाध्यता रहेकोमा ग्राहकले नयाँ वर्ष २०७१ देखि घरमै बसी–बसी रिचार्ज कार्डमार्फत बिल तिर्ने योजना ल्याएको थियो । प्राधिकरणका अनुसार मोबाइलमा स्टार ४१०० वा ४१०१ स्टार जिल्ला र वितरण केन्द्रको कोर्ड, ग्राहकको नम्बर हाली ह्यास गरेर रिचार्ज गरेपछि त्यो रकम बिजुलीको बिल तिर्ने प्रणालीमा गइ बिल भुक्तानी हुनेछ भने रिचार्ज बढी भएमा अर्को महिनाको बिल तिर्नका लागि रकम सञ्चित हुन जान्छ ।

    यो नयाँ प्रविधिमार्फत बिल तिर्नका लागि आवश्यक हार्डवेयरतर्फ भास सर्भर, वेभ सर्भर र डाटाबेस सर्भरका लागि २३ लाख २५ हजार, सफ्टवेयरतर्फ एसएमएस पेमेन्ट भास मोडुल र रिचार्ज कार्ड मोडुलका लागि १८ लाख, नेटवर्किङतर्फ ब्यान्डविथ र म्यानाजड स्विचका लागि २ लाख ७० हजार तथा क्षमता अभिवृद्धिका लागि १५ लाख खर्च हुनेछ भने एनटीसी र एनसेलको भीपीएन विथ सर्भिस प्रोभाइडर भने नेगोसेसनका आधारमा टुंग्याउनुपर्ने उल्लेख छ ।

    पहिलो चरणमा घरेलु ग्राहकलाई लक्षित गरी अघि बढाउन लागिएको उक्त परियोजनाबाट सर्वसाधारणले ठूलो फाइदा पाउन सक्ने प्राधिकरणले जनाएको छ । त्यति बेला गरिएको विश्लेषणमा करिब २६ लाख बिजुलीका ग्राहकमध्ये घरेलु २४ लाख ७२ हजारमध्ये १५ प्रतिशतले मात्र रिचार्ज कार्डमार्फत बिजुलीको बिल तिरेमा मात्र मासिक रूपमा ३ करोडभन्दा बढी प्रत्यक्ष फाइदा पुग्नेछ ।

    प्राधिकरणको यो आधारमा ५० प्रतिशतले मात्र रिचार्ज कार्ड उपयोग गरेमा मासिक रूपमा सर्वसाधारणको १२ करोडभन्दा बढी जोगिने उल्लेख गरेको थियो ।

    स्रोत:कारोबार