तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय र सर्वसाधारणका लागि शेयर जारी गर्दै

    1552

    फागुन ४, चरिकोट । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय जनता र अन्य सर्वसाधारणका लागि रू. दुई अर्ब ६४ करोड बराबरको शेयर जारी गर्ने तयारी गरेको छ ।

    दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म शेयर जारी गर्ने तयारी गरेको हो । धितोपत्र बोर्डको स्वीकृति आइसकेपछि फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र शेयर संकलन गर्ने आन्तरिक तयारी रहेको आयोजनाका प्रवक्ता डा गणेश न्यौपाने बताउँछन् ।

    आयोजनाले दुई करोड ६४ लाख कित्ता शेयर जारी गर्ने तयारी गरेकामा स्थानीयवासीलाई रू. एक अर्ब पाँच करोड र अन्य सर्वसाधारणलाई रू. एक अर्ब ५८ करोडको शेयर दिने कम्पनीले बताएको छ ।

    धितोपत्र बोर्डको स्वीकृति प्राप्त हुनासाथ शेयर निष्कासनको आवश्यक प्रक्रिया अघि बढ्नेछ । प्रभावित क्षेत्रले बढी शेयर पाउने सहमति यसअघि नै भइसकेको उल्लेख गर्दै प्रवक्ता डा न्यौपाने भन्नहुन्छ, ‘आयोजना निर्माणका क्रममा भएको असरका दृष्टिले दोलखावासीलाई तीन वर्गमा बाँडेर सोहीअनुसार शेयर लगानीको अवसर दिइने छ ।’

    पूर्व सहमतिअनुसार आयोजनाका मुख्य संरचना रहेको साविकका गाविस लामाबगर र गौरीशंकरका बासिन्दालाई ‘क’ वर्ग, सडक मार्ग र प्रसारण लाइनले छुने क्षेत्रका बासिन्दा ‘ख’ वर्ग र अन्य जिल्लावासीलाई ‘ग’ वर्गमा वर्गीकरण गरिएको छ ।

    ‘ग’ वर्गमा परेका नागरिकले न्यूनतम ५० कित्ता र ‘क’ वर्गकाले १ सय ५० कित्तासम्म शेयर खरीद गर्नसक्ने आयोजनाले बताएको छ । आयोजनाले यसअघि नै दुई अर्ब ५४ करोड बराबरको शेयर कर्मचारीलाई लक्षित गरी जारी गरिसकेको छ ।

    दोलखावासीमध्ये शेयर लगानीका लागि तोकिएको अन्तिम मितिसम्म जन्म दर्ता भएका बालबालिका र विवाह भई आएका महिलाले विवाह दर्ता प्रमाणपत्रका आधारमा शेयर खरीद गर्न पाउने भएका छन् । त्यसका लागि दोलखा जिल्लावासीले नागरिकताको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्ने छ ।

    शेयरका लागि जिविसले तीन वर्षअघि संकलन गरेको तथ्याङ्कअनुसार दोलखाको जनसङ्ख्या दुई लाख ८० हजार ५ सय ८४ छ । तामाकोशीको लगानी सम्झौता भएको मिति २०६४ माघ १५ गतेभित्र बसाइँ सरी दोलखा आएकाले पनि शेयर खरीद गर्न पाउने व्यवस्था छ ।

    स्थानीयवासीले न्यूनतम् ३० कित्ता र अधिकतम् ३ सय कित्तासम्म लगानी गर्न पाउने व्यवस्था गर्न लागेको छ । धितोपत्र ऐन २०७३ अनुसार शेयर खरीद विक्री गर्नका लागि डिम्याट खाता अनिवार्य भएपनि सबैलाई डिम्याट खाताको जानकारी नभएको र खाता खोल्न समय लाग्ने हुँदा त्यहाँका बासिन्दाका लागि बैङ्क खाता मात्र अनिवार्य गरेर डिम्याट खाता ऐच्छिक गराउन अनुरोध गरेको प्रवक्ता न्यौपानेले बताए । उनले जिल्लावासीलाई आफ्नो पायकपर्ने बैङ्कमा पुगेर बैङ्क खाता खोल्न समेत सबैलाई आग्रह गरेका छन् ।

    माथिल्लो तामाकोशीको शेयर २०७१ को चैतमा खुलेर पछि विभिन्न कारणले रोकिएको थियो । भारतीय ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण आयोजना अझ केही समय पर धकेलिने समेत बताइएको छ । रासस