मुस्ताङमा हावाबाट बिजुली

    1534

    म्याग्दी : मुस्ताङको जोमसोममा सञ्चालनमा ल्याइएको हावाबाट विद्युत् उत्पादन गर्ने परियोजना सरकारलाई हस्तान्तरण गरिएको छ ।

    बुद्ध पावर प्रालिले हावाबाट १.५ किलोवाट विद्युत् उत्पादन गरेको हो ।

    स्पेनिस लगानीकर्ता राफेल भेनस पिच र गैरआवासीय नेपाली संघका पूर्वसल्लाहकार पुस्कर तिमिल्सेनाको पहलमा जिल्ला प्रहरी कार्यालय मुस्ताङ परिसरमा केही महिनाअघि योजना निर्माण भएको थियो ।

    स्ेपनिस प्रविधिको प्रयोग गरेर विद्युत् उत्पादन गरिएको हो । फलामको अग्लो खम्बाको टुप्पोमा राखिएको मदानी प्रकृतिकै पंखालाई हावाले घुमाएर बिजुली निस्कने प्रविधि जडान गरेको तिमिल्सिनाले बताए ।

    हावाबाट निकालिएको विद्युत् जिल्ला प्रहरी कार्यालयमा प्रयोग गरिएको छ ।परीक्षण सफल भएपछि आयोजना सरकारलाई हस्तान्तरण गरेको तिमिल्सिनाले बताए । बढी हावा बहने समयमा यो आयोजना सञ्चालनमा आउनेछ । अन्य समयका लागि व्याकअपको रूपमा सौर्य प्रणाली पनि जडान गरिएको छ । उक्त योजनाको उपकरणहरू स्पेनबाट ल्याइएको हो ।

    आयोजनाको उद्घाटनका लागि जोमसोम आएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हावाबाट बिजुली निकाल्ने आफ्नो योजना पुष्टि भएकोमा खुसी व्यक्त गरे । एमालेका अध्यक्षसमेत रहेका ओलीले नेपालका अन्य ठाउँमा पनी यस्ता आयोजनाको सम्भावना रहेको बताउँदै देशको विकास र समृद्धिका लागि आफूले देखेको सपना पूरा भएरै छाड्ने ठोकुवा गरे ।

    उनले मुस्ताङस्थित कोरला नाका सञ्चालनमा ल्याउन चीन सरकारसँग उच्च प्राथमिकताका साथ छलफल अघि बढाएको जानकारी दिए । हेलिकप्टरबाट मुस्ताङ आएका ओलीले कोरना नाका क्षेत्रमा पुगेर त्यहाँको अवस्थाको बारेमा अनुगमन गरेका थिए ।

    स्रोत:कारोबार