राप्तीपारि सौर्य ऊर्जा

    1615

    श्रावण ३०, २०७४- राप्तीपारि क्षेत्रमा वर्षौंदेखि विद्युतीकरणको काम अलपत्र परेपछि स्थानीयले सौर्य ऊर्जा प्रयोग गर्न थालेका छन् । सौर्य ऊर्जामार्फत राप्तीपारिका दुर्गम बस्तीहरू झलमल्ल हुन थालेका हुन् ।

    नरैनापुर गाउँपालिकाका कटकुइयाँ, लक्ष्मणपुर, कालाफाँटा, मटेहिया, गंगापुर र राप्ती सोनारी गाउँपालिकाका फत्तेपुर, बिलौना, खासकुस्मालगायतका गाउँमा सौय ऊर्जाको प्रयोग बढ्दै गएको हो । जिल्ला समन्वय समिति ‘जिसस’ का अनुसार राप्तीपारिका पाँच हजार बढी घरधुरीमा सौर्य ऊर्जा जडान गरिएको छ । जिससले गत वर्ष १ हजार ४ सय ५० र अघिल्लो वर्ष ५ सय घरधुरीमा सोलार जडान गरेको थियो । जिल्ला ऊर्जा तथा वातावरण शाखाका अनुसार २० वाटको सौर्य ऊर्जा अनुदानमा वितरण गरिएपछि सोलार प्रयोग गर्नेको संख्या बढ्दै गएको हो । विद्युत्का लागि वर्षौंदेखि माग गर्दै आए पनि बेवास्ता भएपछि स्थानीयले सरकारी अनुदान र आफ्नै लगानीमा सोलार जडान गरेका हुन् ।

    विद्युत्का पोलहरू ०५१ सालमा गाडिए पनि राप्तीपारिका गाउँमा अझैसम्म बिजुली पुग्न सकेको छैन । राप्तीसोनारी ७ का अगुवा किसान दयाराम थारूले बिजुली पर्खंदा पर्खंदै हैरान भएपछि सोलार जडान गरिएको बताए । ‘वर्षौं भयो पोल गाडिएका छन्, बिजुली आउँदैन । पाँच वर्षदेखि यहाँका गाउँहरूमा सोलार भित्रिएका छन्,’ उनले भने, ‘यसले बिजुलीे पर्खाइको सास्तीलाई केही कम गरेको छ ।’ राप्तीपारिका गाउँमा विद्युतीकरण गर्न गाडिएका अधिकांश स्थानका पोलहरू जीर्ण बन्दै गएपछि स्थानीयले धमाधम सोलार जडान गर्न थालेको स्थानीय विनोद चौधरीले बताए । किसानहरूले समेत सौर्य ऊर्जा जडान गरी थोपा सिँचाइमार्फत तरकारी खेती गरिरहेका छन् ।

    जिल्ला ऊर्जा शाखाका इन्जिनियर रामबाबु यादवले राप्तीपारिका कालाफाँटा, लक्ष्मणपुर, गंगापुरलगायतका क्षेत्रमा १ हजार ४ सय ५० सोलार सेट गत आर्थिक वर्षमा अनुदानमा वितरण गरिएको बताए । बजारमा साढे ११ हजार पर्ने २० वाटको सोलार सेटलाई सरकारी अनुदानमा स्थानीयले २ हजार रुपैयाँमा खरिद गरेको उनले बताए ।

    शाखाले तीन वर्षअघि राप्तीपारिका करिब १३ हजार घरधुरीमा वैकल्पिक ऊर्जाबारे अध्ययन गरेको थियो । हाल अधिकांश घरधुरीले सोलार प्रयोग गर्न थालेको इन्जिनियर यादवको भनाइ छ । उनका अनुसार २० वाटको सोलार अनुदानमा ४ हजार ५ सय रुपैयाँमा स्थानीयले पाउँछन् ।

    जिससका अनुसार बाँकेका करिब ८० प्रतिशत घरधुरीमा विद्युत् सुविधा पुगेको छ ।
    विद्युत्को विकल्पका रूपमा सोलार प्रयोग गर्न थालेपछि लोडसेडिङ नहुने भएको छ ।

    स्रोत:कान्तिपुर