सवा दुई लाख ग्राहक अन्धकारमा

    1101

    काठमाडौं: अविरल वर्षा र बाढीले नेपाल विद्युत् प्राधिकरणका देशभरका ३० भन्दा बढी प्रसारण र वितरण लाइन, सवस्टेशन तथा विद्युत् गृहहरूमा क्षति पुगेको छ । पूर्वाञ्चल, मध्यमाञ्चल तथा पश्चिमाञ्चल विकास क्षेत्रअन्तर्गतका ती संरचनाहरूमा बाढीका कारण क्षति पुगेको हो ।

    विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बाढीका कारण प्रसारण लाइन, सवस्टेशन, वितरण लाइन र विद्युत् गृहहरूमा क्षति पुगेको छ । “बाढीले विराटनगर र जनकपुर क्षेत्रका अधिकांश संरचनामा क्षति पुगेको छ,” उनले भने, “सम्भव भएको ठाउँमा तुरुन्तै प्रणाली सञ्चालन गर्ने र बाढीका कारण असम्भव देखिएको क्षेत्रमा सम्भव भएपछि तत्काल काम अघि बढाउँछौं ।”

    बाढीले क्षति पु¥याउँदा विराटनगर तथा जनकपुर क्षेत्रका अधिकांश जनता विद्युत् सेवाबाट वञ्चित छन् । विद्युत् प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक सुनिल ढुंगेलले बाढीका कारण विराटनगर र जनकपुरमा सवा दुई लाखभन्दा बढी ग्राहक विद्युत्बाट वञ्चित हुनुपरेको बताए ।

    • विद्युत्का ३० संरचनामा क्षति
    • २२५ मेगावाट प्रणालीबाट विच्छेद

    बाढीका कारण निजी क्षेत्रको ७० सहित २२५ मेगावाट केन्द्रीय प्रणालीबाट विच्छेद भएको छ । प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठले बाढीले विद्युत् गृह क्षतिका साथै प्रसारण लाइन र सवस्टेशनमा समस्या आएका कारण केन्द्रीय प्रसारण लाइनबाट विच्छेद भएको जानकारी दिए ।

    स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईंका अनुसार २२ मेगावाटको सानिमा माई, १४.९ मेगावाटको हेवा खोला ‘ए’, ७ मेगावाटको माई क्यासकेड, १० मेगावाटको माथिल्लो माई, ६.१ मेगावाटको माथिल्लो माई ‘सी’, ७ मेगावाटको जोगमाई जलविद्युत् केन्द्रलगायत आयोजना प्रणाली अवरुद्ध हुँदा उत्पादन बन्द भएको छ । संखुवासभामा सञ्चालित ४.४ मेगावाटको हेवा, ३ मेगावाटको पिलुवा र ९ सय किलोवाटको तल्लो पिलुवाको उत्पादन पनि बन्द भएको ईप्पानले जनाएको छ ।

    प्राधिकरणका अनुसार काबेली करिडोरअन्तर्गत दमक–गोदक १३२ केभी खण्डको इलाम चुलाचुलीमा १७ नम्बर टावर र हेटौंडा सबस्टेसन नजिक ६६ केभी टावर पल्टिन लागेकाले ६६ केभी औद्योगिक फिडर सर्किटका साथै दुहबी, दमक, चन्द्रनिगाहपुर र अनारमनि सबस्टेसनमा क्षति पुगी प्रणाली अवरुद्ध भएको छ । १३२ केभीको चपुर–पथलैया र ढल्केबर–चन्द्रनिगाहपुर तथा ६६ केभीको बालाजु–त्रिशूली लाइनमा पनि समस्या देखिएको छ ।

    त्यसैगरी लहान सवस्टेशन अन्तर्गतको रुपनी र लोकल फिडरबाहेक सम्पूर्ण ३३ केभी तथा ११ केभी बन्द भई ३६ मेगावाटको लोडमध्ये २ मेगावाटमात्र, ढल्केबर सवस्टेशन अन्तर्गतको जनकपुर फिडरबाहेक सम्पूर्ण बन्द भएर ३५ मेगावाटको लोडमध्ये १ मेगावाटमात्र र चपुरमा खपत हुने ३२ मेगावाटमध्ये १.५ मेगावाटमात्र खपत भइरहेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका अनुसार परवानीपुर, वीरगन्ज, सिमरा, भरतपुर, शिवपुर, कोहलपुर सवस्टेशन लगायतका क्षेत्रमा पनि समस्या देखिएको छ भने खपतसमेत धेरै घटेको छ । वर्षाका कारण १४४ मेगावाटको कालीगण्डकीले एक सय मेगावाट मात्र, ७० मेगावाटको मध्य मस्र्याङ्दीले २५ मेगावाट र ६९ मेगावाटको मस्र्याङ्दीले ३२ मेगावाटमात्र उत्पादन गरिरहेको छ । त्यस्तै, गण्डक पावरहाउसको उत्पादन बन्द भएको छ ।

    कार्यकारी निर्देशक घिसिङका अनुसार माग घटेपछि बिहार र टनकपुरबाट हुने विद्युत् आयात बन्द गरिएको छ भने ढल्केबर–मुजफ्फरपुरबाट ल्याइएको लिऊ वा तिर (टेक अर पे) को विद्युत्समेत ७ मेगावाटदेखि ३३ मेगावाटसम्ममात्र आयात गरिएको छ ।

    बाढीका कारण माग कम भएर आयात कम गर्दा दैनिक प्राधिकरणले सित्तैंमा ४० लाखदेखि १ करोडसम्म तिर्नुपर्ने बाध्यता छ । कार्यकारी निर्देशक घिसिङले बाढीका कारण माग कम भएको बारे सम्बन्धित निकायलाई जानकारी दिइसकेको बताए ।

    क्षति संकलन र पुनस्र्थापनाका लागि टोली    
    विद्युत् प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले बाढीका विद्युत् प्राधिकरणका पुगेको क्षतिबारे विवरण संकलन गर्न तथा तत्काल प्रणाली पुनस्र्थापनाका लागि टोली परिचालन गर्ने निर्णय गरेको छ ।

    बाढी पीडितलाई राहत दिने उल्लेख गर्दै विद्युत् प्राधिकरणले चार सञ्चालकलाई विवरण संकलन र पुनस्र्थापनाका लागि परिचालन गर्ने निर्णय गरेको ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले जानकारी दिए ।

    प्राधिकरणका अनुसार पूर्वाञ्चलमा सञ्चालक सदस्य चेतराज जोशीको संयोजकत्वमा उपकार्यकारी निर्देशक राजीव शर्मा र निर्देशक बज्रभूषण चौधरी तथा मध्यमाञ्चलमा सञ्चालक सदस्य उमेश थानीको संयोजकत्वमा उपकार्यकारी निर्देशक मनोज सिलवाल, निर्देशकद्वय अनिरुद्र यादव लगायतको टोली गठन गरिएको छ ।

    त्यसैगरी, पश्चिमाञ्चलमा सञ्चालक सदस्य चन्द्र टन्डनको संयोजकत्वमा उपकार्यकारी निर्देशक हरिराज न्यौपाने, निर्देशक रामजी भण्डारी, सुरेश क्षेत्र तथा सुदूरपश्चिमाञ्चलमा सञ्चालक सदस्य भक्तबहादुर पुनको संयोजकत्वमा विनोद उपाध्याय, तारा शर्मालगायत रहेको टोली परिचालन गरिएको छ । टोली सोमबारदेखि परिचालन भई क्षति संकलन र पुनस्र्थापनामा खटिने मन्त्री शाहीले जानकारी दिए । “प्राधिकरणको अर्बौं रुपैयाँको संरचनामा क्षति भएकोले टोली परिचालन गरेका हौं,” उनले भने ।
     

    स्रोत:कारोबार