एनआरएनको लगानीमा गोरखामा अप्पर माछाखोला र निम्रुङखोला जलविद्युतको शुरुवात

1332

बैशाख २०, २०७६

गोरखा– गैरआवासीय नेपाली (एनआरएन) सहितको लगानीमा गोरखामा १४ दशमलव ५५ मेगावाटको दुई हाइड्रोपावर निर्माण शुरु भएको छ । गोरखाको धार्चे गाउँपालिको माछाखोलामा अप्पर माछाखोला जलविद्युत आयोजना शुरु भइसकेको छ भने १० मेगावाटको निम्रुङखोला जलविधुत आयोजना निर्माणको अन्तिम तयारी तयारीमा रहेको छ ।

लाप्राक र सिङ्लाको बीच भाग भएर बग्ने धार्चे ५ को माछाखोलाबाट विकास हाइड्रोपावर कम्पनीले ४ दशमलव ५५ मेगावाटको जलविद्युत उत्पादनका लागि काम शुरु गरेको कम्पनीका अध्यक्ष तथा गैरआवासीय नेपाली संघ(एनआरएनए)मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले बताए ।

माछाखोलामा अप्पर माछाखोला जलविद्युत आयोजना निर्माणका लागि आवश्यक सबै काम सकेर निर्माणको काम अघि बढिसकेको न्यौपानेले बताए । ‘निर्माणका लागि आबस्यक सबै प्रक्रिया सकी लाइसेन्स लिइसकेको र बाँध निर्माणका लागि एकसय रोपनी जग्गा समेत खरिद गरिसकेको न्यौपानेले बताए । न्यौपानेले जग्गा खरिद प्रक्रिया सम्पुर्ण सकिएको , आयोजनालाई चाहिने सम्पुर्ण मोटरबाटोको निर्माण कार्य सम्पन्न भएको र ट्रान्समिसन लाईन र बिधुत प्रशारण लाईनको सम्झौतासमेत सकिएर निर्माण कार्य शुरू भैरहेको बताए ।

उनले भने–‘ धार्चे वडा नं ४ को आयोजना क्षेत्रमा पर्ने सय रोपनी जग्गा खरिद प्रक्रिया पनि सकिएको छ । दुई किलोमिटर माथि बाँध बाँधेर रेसिफाँट आसपास पावरहाउस निर्माण गरिने छ । माछाखोला दोभानबाट आयोजनास्थल पुग्न चाहिने करीब ७ किलोमिटर लामो मोटरबाटो समेत निर्माण सकिएको छ । हामी झोलामा खोला हालेर हिड्दैनौं । काम धमाधम भइरहेको छ ।’ बाँधस्थलबाट तीन किलोमिटर पानी ल्याउने र २१० मिटर उचाइबाट पानी खसालेर विधुत उत्पादन गर्ने न्यौपानेले बताए । न्यौपानेले आफुहरुले पिपिए गर्दा दुई बर्षमा निर्माण सम्पन्न गर्ने भनिए पनि त्यो भन्दा छिटो निर्माण सम्पन्न हुने दाबी गरे ।

आयोजनाबाट उत्पादित विधुत नेपाल विधुत प्राधिकरणले खरीद गर्ने गरी विधुत खरीद सम्झौता(पिपिए) सम्पन्न भइसकेको समेत अध्यक्ष न्यौपानेले जानकारी दिए । आयोजनासँग प्रधिकरणले हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्खामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा खरिद गर्ने गरि गत कात्तिकमा नै पिपिए भएको हो ।

त्यसैगरी आयोजना सञ्चालन गर्न वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदनसमेत तयार भइसकेको छ । आयोजनाको लागत ९६ करोड रहेको छ । जसमध्ये ७० प्रतिशत लगानी बैंकले गरेको र बाकि ३० प्रतिशत लगानी स्थानीय लगानीकर्ता र संचालक समितिले गर्ने बताइएको छ ।

विकास हाइड्रोपावरमा एनआरएनएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेसँगै नेपाल बिज्ञापन संघका सचिब कृष्ण घिमिरे, सरोज धिताल, विकास अधिकारी, सुनिलबाबु श्रेष्ठ र इन्द्र ढकाल सञ्चालक समितिमा रहेका छन् । विकास हाइड्रोपावर कम्पनीले नै ४ दशमलव ५५ मेगावाटको अप्पर माछाखोला जलविधुत आयोजनासंगै १० मेगावाटको निम्रुङखोला जलविधुत आयोजना निर्माण गर्न लागेको हो ।

विकास हाईड्रो पावरमा प्रमोटर शेयर लगानी गर्न ईच्छुकलाई जेठ १५ गतेसम्मको समय थप गरिएको कम्पनीले जनाएको छ । उक्त मिति भित्र शेयर खरिद गर्न चाहने ईच्छुक ब्यक्तिहरूले कम्पनीमा सम्पर्क गरि प्रमोटर शेयर खरिद गर्न कम्पनीले एक विज्ञप्ति जारी गरेको छ । अध्यक्ष न्यौपानेले प्रमोटर शेयर लगानी गर्न इच्छुक धेरै स्थानीय र गैरआवासीय नेपाली साथीहरुको आग्रहलाई कदर गर्दै समय थप गरिएको बताए । उनले प्रमोटर शेयर लगानीको कार्य हुदै गर्दा पनि हाईड्रोको काम चाहिं भईरहनेसमेत बताए । विकास हाइड्रोपावर कम्पनी प्रालिका सञ्चालक एंव स्थानीय घिमिरेले कम्पनीले सञ्चालन गर्ने आयोजनाहरूमा स्थानीय जनताको नै अधिकतम सहभागिता र स्थानीयकै शेयर लगानीमा ध्यान दिने बताए ।

सञ्चालक घिमिरेले स्थानीयसँगको सहकार्यबाटै कम्पनीले निर्माण गर्न लागेको निम्रुङ्ग खोला हाईड्रोपावर र अप्पर माछा खोला हाईड्रोपावर दुवै आयोजना समयमै सम्पन्न गर्ने समेत बताए । घिमिरेले विकास हाइड्रोका लगानीकर्ता गोर्खाली नै भएकाले काम गर्न सजिलो भएको र कम्पनीले स्थानीयसँग सहकार्य गर्दै अगाडी बढने प्रतिबद्धतासमेत व्यक्त गरे ।

यता गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले गाउँपालिकाभित्र जलविधुत सञ्चालन हुन लागेकोमा आफु खुशी भएको बताउदै कम्पनीहरुलाई यथाशीघ्र काम अघि बढाउन आग्रह गरेका छन् । अध्यक्ष गुरुङले आफ्नो गाउँपालिकामा आएका बिकास निर्माणका सबै कार्यलाई आफ्नो समर्थन रहने समेत बताए । सो गाउँपालिकामा आयोजना निर्माणको तयारीमा विकास हाइड्रोपावर कम्पनी, निम्रुङखोला जलविधुत आयोजना, रिचेत खोला हाइड्रोपावर कम्पनी, बुढीगण्डकी हाइड्रोपावर कम्पनी र वाटर इनर्जी हाइड्रोपावर कम्पनी रहेका छन् ।

 

स्रोत:जनसवाल