त्रिशूली थ्री ए आयोजना गुणस्तरहीन सिमेन्ट प्रयोग

    2587

    रसुवा, १० मंसिर – निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ए को निर्माणको जिम्मा पाएको चिनियाँ गेजुवा कम्पनी (सिजीजीसी) ले आयोजना बाँध निर्माणमा पुनः गुणस्तरहीन डल्ला परेको सिमेन्ट प्रयोगमा ल्याएको छ । प्राधिकरण र चिनियाँ गेजुवा ग्रुप कम्पनीको रोहबरमा गत कात्तिक अन्तिम साता लगाएको ताला ठेकेदारले एकलौटी फोडेर डल्ला परेको सिमेन्ट प्रयोग ल्याएको प्राधिकरणका एक कर्मचारीले जानकारी दिए । गुणस्तरहीन सिमेन्ट प्रयोग भइरहेको तथ्य बाहिर आएपछि अनुसन्धानका लागि स्टोर सिलबन्दी गरिएको थियो ।
    गोदाममा राखिएको सिमेन्टको गुणस्तर परीक्षणका लागि इन्जिनियरिङ क्याम्पस पुल्चोक पठाइएको भए पनि नतिजा नआउँदै डल्ला परेको सिमेन्टमा नयाँ सिमेन्ट मिसाएर प्रयोगमा ल्याएको छ । परीक्षणको रिपोर्ट आएपछि मात्र सो सिमेन्ट प्रयोगमा ल्याउन प्राधिकरणले गरेको आग्रहलाई समेत अटेर गरी चिनियाँ ठेकेदारहरूले आयोजना निर्माणको काम गरिरहेका नेपाल विद्युत् प्राधिकरणका कर्मचारी संगठनका अध्यक्ष सीताराम थापाले बताए । “प्राधिकरणको रोहबरमा लगाइएको ताला एकलौटी रूपमा फोडेर पुरानो सिमेन्टसँगै मिसाएर प्रयोगमा ल्याईएको छ, यसमा हाम्रो आपत्ति छ,” थापाले भने ।
    प्राधिकरण सीजीजीसी र एनडब्लूएच कन्सल्टेन्टले तीनवटा ताला लगाएकोमा ठेकेदार कम्पनीले एकलौटी ताला फुटाएर सिमेन्ट प्रयोगमा ल्याएको हो । आयोजनाका जिम्मेवार पदाधिकारीहरू भने मूकदर्शक बनेर हेरिरहेको स्थानीय सरोकारवालाले बताए । आयोजना प्रमुख ऋषिकेश शर्मा भने यस विषयमा बोल्न चाहेनन् । ताला खोल्न शर्माले समर्थन दिएको प्राधिकरणका कर्मचारीहरू बताउँछन् । गोदामबाट भारतीय अम्बुजा नामको ३ हजार बोरा डल्ला परेका कमसल सिमेन्ट प्रयोगमा ल्याइएको स्रोतको दाबी छ ।
    बाँधस्थलनजिकैे ५ सय १९ मेट्रिक टन र नुवाकोटको देवीघाटमा १२ सय मेट्रिक टन सिमेन्ट भण्डारण गरिएको छ । दुवै स्थानमा भण्डारण गरिएको सिमेन्ट डल्ला परेका छन् । १९ सय मेट्रिक टन सिमेन्टको नेपाली मूल्यअनुसार ३ करोड रुपैयाँ पर्छ । भारतीय ब्रान्डको अम्बुवा सिमेन्ट गेजुवा कम्पनीले जलविद्युत् निर्माणका लागि बिनाभन्सार नुवाकोट भिœयाएको हो ।
    ठेकेदार कम्पनीले आयोजनास्थलमै गुणस्तर जाँच गर्ने ल्याब निर्माण गरेको छ । सोही ल्याबमा परीक्षण गरी गुणस्तरीय भएको भन्दै कम्पनीले काम गरिरहेको छ । बाँध निर्माणमा कमसल सिमेन्टले कमसल बाँधस्थल कमजोर बन्ने देखिएको छ । बाँध कमजोर भई फुटे बाँधस्थल रसुवाको शान्तिबजार, नुवाकोटको सोले, बेत्रावतीदेखि देवीघाटसम्म डुवानमा पर्ने देखिन्छ । कमसल सिमेन्ट अहिले बाँध निर्माणका लागि ग्राउडिङको काममा प्रयोग भइरहेको छ । महŒवपूर्ण स्थलमा प्रयोग हुने सिमेन्ट गुणस्तरीय हुनुपर्ने विज्ञहरू बताउँछन् । ग्राउडिङका लागि मात्र ५ हजारभन्दा धेरै बोरा सिमेन्ट खर्च हुने अनुमान गरिएको यो आयोजनामा चिनियाँ कम्पनीले यही कमसल सिमेन्टको प्रयोग गरिरहेको छ ।
    नेपालमा ४३ र ५३ ग्रेडका सिमेन्ट मात्र प्रयोग हुने गरेका छन् । ४३ ग्रेडभन्दा तलको सिमेन्ट प्रयोग गर्न पाइँदैन, तर चिनियाँ कम्पनीले चीनमा ३३ ग्रेडको सिमेन्ट मापदण्डअनुसारको हुने भन्दै डल्ला परेको सिमेन्टलाई ३३ ग्रेडको संज्ञा दिएको छ । चिनियाँ मापदण्डमा ३३ ग्रेडको सिमेन्ट हुन्छ भन्दै ठेकेदार पक्ष ड्यामेज सिमेन्ट प्रयोग गरिरहेको छ ।
    चाइनाको एक्जिम बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यस आयोजना ८९ मिलिएन डलर अर्थात् नेपाली सात अर्ब ५५ करोड ५० लाख अनुमानित लागतमा निर्माण हँुदैछ । डाँडागाउँको मैलुङमा बाँध बाँधेर ४ हजार ९३ मिटरको सुरुङमार्ग हुँदै नुवाकोटको मनकामना गाविस वडा नं. १ अर्चेलेमा विद्युत्गृह निर्माण हुनेछ । सन् २०११ मा निर्माण सुरु भएको यो आयोजना २०१४ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि अहिलेसम्म २० प्रतिशत पनि काम पनि हुन सकेको छैन । सोही कारण आयोजना निर्धारित समयमा सम्पन्न हुनेमा समेत आशंका बढेको छ ।

    प्रस्तुति: कारोवार