पिपल्स हाइड्रो २७ मेगावाटको खिम्ती–२ निर्माण गर्दै

    2708

    Khimti Kholaमङ्सिर १६, काठमाडौं । पिपल्स हाइड्रो सहकारी संस्था लिमिटेडले २७ दशमलव २ मेगावाट क्षमताको खिम्ती–२ जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीको शनिवार बसेको तेस्रो साधारणसभाले सो आयोजना निर्माण गर्ने निर्णय गरेको हो । ‘जनसहभागितमा आयोजना निर्माण गर्ने निर्णय गरेका छौं, ’ कम्पनीका अध्यक्ष कृष्ण आचार्यले अभियानसँग भने । आयोजनाको प्रारम्भिक सर्वेक्षणको काम पूरा भइसकेको छ । सरकारले सो आयोजनाको सर्वेक्षणका लागि अनुमति पनि दिइसकेको छ ।

    अनुमतिपत्रमा २७ दशमलव २ मेगावाट क्षमता उल्लेख भएता पनि प्राविधिक समितिले ४५ मेगावाट विद्युत् उत्पादन गर्न सकिने बताएको छ । आयोजनावाट ४५ मेगावाट विद्युत् उत्पादन गर्न ७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । ‘लगानीकर्ताले आयोजनामा कम्तीमा रू. १ लाखदेखि बढीमा रू. १ करोडसम्म लगानी गर्न सक्छन्,’ आचार्यले भने । आयोजनास्थलका प्रभावित व्यक्ति, गाविस, नगरपालिका, जिविस र आयोजनामा काम गर्ने कामदारसमेतले आयोजनामा लगानी गर्न सक्ने छन । ‘आयोजना निर्माणमा धेरै जनसहभागिता रहने सम्भावना रहेकाले पनि हामीलाई थप प्रेरणा मिलेको छ,’ उनले भने । आयोजनाको निर्माण कार्य ५ वर्षमा सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । आयोजनामा लगानी गर्ने व्यक्तिले ५ किस्तामा रकम बुझाउनु पर्ने छ । पहिलो वर्ष कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ ।

    कम्पनीले अयोजना निर्माणका लागि जग्गा खरीद, विद्युत् खरीद सम्झौता (पीपीए), वातावरण प्रभाव मूल्याङ्कन (ईआईए) र विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम गर्ने तयारी गरिरहेको छ । आयोजना निर्माणका लागि आवश्यक पर्ने रकम देशभित्रकै लगानीकर्ता र सङ्घसंस्थाबाट जुटाउने कम्पनीले बताएको छ । आयोजनाबाट उत्पादित विद्युत् स्वदेशमा नै खपत गर्ने गरी आयोजनाको निर्माण गर्न लागिएको कम्पनीको भनाइ छ ।

    प्रस्तुति: अभियान