पश्चिम सेती निर्माणको कार्यतालिका तयार

    3451

    मङ्सिर २०, काठमाडौं । पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य निर्धारित समय सन् २०१९ भित्रै पूरा गर्ने गरी कार्यतालिका तयार गरिएको छ । चीनको थ्री गर्जेज कर्पोरेशनको सहायक कम्पनी सीडब्ल्यूई इन्भेष्टमेण्टले सो कार्यतालिका तयार पारेको लगानी बोर्डका सहसचिव मुकुन्दप्रसाद पौड्यालले बताए । उनले भने, ‘कार्यतालिकालाई अन्तिम रूप दिन बोर्ड र थ्री गर्जेजबीच छलफल भइरहेको छ ।’ थ्री गर्जेज र ऊर्जा मन्त्रालयबीच गतवर्ष भएको सम्झौतामा पनि सन् २०१९ को अन्त्यसम्ममा आयोजनाको निर्माण सम्पत्र गर्ने उल्लेख छ । कार्यतालिकामा आयोजनाको सम्भाव्यता अध्ययन, निर्माण कार्य र विद्युत् खरीद सम्झौतालगायतका विषय समावेश भएको स्रोतले बताएको छ । थ्री गर्जेजले आयोजना निर्माण कार्य अघि बढाउने उद्देश्यले काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरिरहेको ऊर्जा मन्त्रालयका सहसचिव मोतीबहादुर कुँवरले बताए ।

    आयोजनाले निर्धारित समयभन्दा ८ महीना ढिलो काम थालिए पनि निर्धारित समयभित्रै सम्पत्र गर्ने बताएको छ ।

    तत्कालीन प्राकृतिक स्रोत साधन समितिले ऊर्जा मन्त्रालय र थ्री गर्जेजबीच भएको सम्झौता तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएपछि आयोजनाको प्रक्रिया अवरुद्ध हुन पुगेको थियो । यसअघि ७ सय ५० मेगावाटको सो आयोजना निर्माण गर्न अष्ट्रेलियन कम्पनी स्नोई माउण्टेन इनर्जी कर्पोरेशन (स्मेक) ले चासो देखाएको थियो । एक दशक अवधिसम्म पनि आयोजना बनाउन नसकेपछि सरकारले सो कम्पनीलाई हटाएर आयोजना निर्माणको जिम्मा थ्री गर्जेजलाई दिएको थियो । सुदूर पश्चिमको सेती नदीमा निर्माण हुने यो आयोजना जलाशययुक्त आयोजना हो । यसको अनुमानित लागत १ अर्ब ६० करोड अमेरिकी डलर (रू. १ खर्ब २४ अर्ब) रहेको छ ।

    प्रस्तुति: अभियान