एलईडी चिम खरिदमा ‘भ्रष्टाचार’ ! श्रीलंकाले पनि भारतबाट ६५ भारुमै खरिद गर्दैछ

    1346

    काठमाडौं । भारतले नेपाललाई दिएको दरमा श्रीलंकालाई पनि १ करोड थान एलईडी चिम बिक्री गर्ने भएको छ ।
    नेपालमा एलईडी चिम खरिदमा करोडौं भ्रष्टाचारको कुरा उठेका बेला भारतले छिमेकी श्रीलंकालाई सोही दरमा सिधै एलईडी दिन लागेको हो । यसबाट नेपालमा आयातित चिममा भ्रष्टाचार नभएको स्पष्ट हुने नेपाल विद्युत प्राधिकरणको दावी छ ।

    यसविषयमा श्रीलंकाको सिलोन इलेक्ट्रिसिटी बोर्ड र भारतको इनर्जी इफिसेन्स सर्भिसेज लिमिटेड(ईईसीएल) बीच १ डलर अर्थात ६५ भारुमा ९ वाटको एलईडी चिम खरिदको प्रक्रिया अघि बढेको छ । दुई देशबीचका ऊर्जामन्त्रीबीच छलफल भइसकेको छ । ईईसीले नेपाललाई दिएको दरमा श्रीलंकालाई एलईडी चिम उपलब्ध गराउन प्रस्ताव गरेको छ ।

    भारतको विद्युत मन्त्रालयले पारदर्शी खरिद प्रक्रियाले एलईडीको मूल्य नाटकीय रुपमा घटेको जानकारी दिएको छ । भारतमै ९ वाट क्षमताको एलईडी चिमको मूल्य ६५ भारु पर्ने विद्युत मन्त्रालयले स्पष्ट पारेको छ ।

    नेपाल विद्युत प्राधिकणले भारतको ईईएसएलबापत प्रतिगोटा ६५ भारुमा २ करोड थान एलईडी चिम खरिदको तयारी गरेको हो । यो दर हेटौँडासम्मको आपूर्ति गर्दाको हो । हेटौँडासम्म आइपुग्दा नेपालमा एलईडीको दर प्रतिगोटा १०४ नेपाली रुपैयाँ पर्छ । भन्सार र मूल्य अभिवृद्धि कर (भ्याट) र विद्युत प्राधिकरणको सेवा शुल्क जोड्दा बढीमा १४० सम्म पर्ने प्राधिरकरणले जानकारी दिएको छ । जबकी नेपालमा साढे ३ सय रुपैयाँसम्म पर्छ ।

    ईईसीएलले फिलिप्स  र ओसराम ब्राण्डको गुणस्तरिय एलईडी चिम नेपाललाई उपलब्ध गराउने सहमति गरेको छ । उसले जडानदेखि ३ वर्षको वारेन्टी समेत दिने छ ।

    उज्यालो नेपाललाई साकार बनाउन र औद्योगिक लगायत अन्य क्षेत्रको लोडसेडिङ अन्त्य गर्न एलईडी बल्ब प्रयोगमा ल्याउन लागेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनाए ।

    यसअघि नेपाल भारतका सचिवस्तरिय संयुक्त स्थायी समिति (जेसीडब्ल्युआर) को गत जुनमा भारतको नयाँ दिल्लीमा भएको बैठकमा ईईसीएलमार्फत एलईडी चिम खरिद गर्न सकिने निर्णय गरेको उनले जानकारी दिए ।

    मुलुकलाई फाइदा हुने र २ सय मेगावाटसम्म बिजुली खपत घटाउन सक्ने गुणस्तरीय लिड चिम भारतको सरकारी निकायबाट सस्तोमा खरिद गर्न लागेको उनको भनाई छ ।

    घिसिङले बिहान बेलुकाको विद्युत माग व्यवस्थापन गर्न ऊर्जा दक्षताका लागि २ करोड थान एलईडी चिम खरिद गर्न लागेको जानकारी दिए ।
    फिलिप्स ब्राण्डको चिमको मूल्य साढे ३ सय रुपैयाँ रहेको उनले बताए । भारतबाट खरिद गर्दा भन्सार बाहेक प्रतिचिम १०४ रुपैयाँ पर्ने उनले बताए । प्राधिकरणले १० प्रतिशत सेवा शुल्क लिएमा चिम खरिदको कुल लागत खर्च २ अर्ब ३२ करोड रुपैयाँ लाग्ने उनको भनाई छ ।

    एलईडीको लोड फयाक्टर .९५ प्रतिशत रहेको उनले स्पष्ट पारे । ९ वाट क्षमताको २ करोड एलईडी जडानपछि  उर्जा दक्षता बढ्न गई २ सय मेगावाट बिजुली बचत हुने उनको भनाई छ । यो क्षमताको जलविद्युत आयोजना बनाउन ४० अर्ब रुपैयाँ र ५ वर्ष लाग्ने घिसिङले बताए ।

    ६० वाटको इनक्यसेन्ट चिम बराबर ३६ वाटको ट्युवलाईट बराबरको १८ वाटको सीएफएल बराबरको ९ वाटको एलईडी चिमले काम  गर्न उनले स्पष्ट पारे । एलईडी चिममा मर्करीको प्रयोग नभएकाले वातावरणमैत्री देखिएको छ । एउटा एलईडी ५० हजार घण्टासम्म सञ्चालन हुने देखिएको छ । सरकारबाट ऋण लिएर एलईडी खरिद गरी पछि पुनः सरकारलाई सो रकम फिर्ता दिने भएको छ ।

    स्रोत:बाह्रखरी