कालीगण्डकी प्रसारण करिडोरको काम तीव्र

    1203

    • एक वर्षभित्र म्याग्दीको दानादेखि बुटवलसम्म सीधा प्रसारण लाइन बन्ने
    • १५ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न मिल्ने

    मंसिर २०, २०७४-कालीगण्डकी र धौलागिरी क्षेत्रका नदीबाट विभिन्न आयोजनाले उत्पादन गर्ने विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोड्न यति बेला प्रसारण लाइन निर्माणको काम तीव्र रूपमा भइरहेको छ ।

     २०७३ जेठ तेस्रो साता सुरु भई ८ सय १० दिनमा सम्पन्न गर्ने लक्ष्य लिएको कालीगण्डकी विद्युत् प्रसारण करिडोर आयोजनाले कामलाई तीव्रता दिएको हो । कालीगण्डकी लगायत धौलागिरीभित्रका विभिन्न नदीहरूमा उत्पादित १५ सय मेगावाटसम्म विद्युत् सीधै राष्ट्रिय प्रसारण लाइनमा जोड्न विद्युत् प्राधिकरण म्याग्दीको दाना र पर्वतको खुर्कोटमा सबस्टेसन निर्माण थालिएको छ । ०७३ असोजदेखि सुरु भएको भौतिक संरचना निर्माणको काम २०७५ असोजभित्र पूरा गर्ने लक्ष्य प्राधिकरणको छ । 

    ‘अहिलेको प्रगति हेर्दा हामी अन सेड्युल नै छौं,’ आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुँयालले भने, ‘मुख्य सिभिल काम टावर, कन्ट्रोल रुमका फाउन्डेसन र रिटेनिङ स्ट्रक्चर भइरहेको छ । यसबाहेक सप्लाई आइटममाका टावर बोल्ड साइटमा आइसकेका छन् । ट्रान्सफर्मर स्टेसन फाउन्डेसनको काम पनि धमाधम अघि बढाइएको छ ।’ प्राविधितर्फको धेरै काम सकिए पनि सबै परियोजनामध्ये २५ प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

    आयोजना प्रमुख चन्दनकुमार घोषका अनुसार प्राविधिकतर्फको डिजाइन, टावर, फाउन्डेसन, ट्रान्सफर्मरलगायतका उपकरणहरूको डिजाइन सकिएको छ । ‘डिजाइनतर्फको सबै काम कम्प्लिट भइसक्यो,’ घोषले भने, ‘अब इक्युपमेन्टको फिल्ड म्यानेजमेन्ट बाँकी छ । सिभिलतर्फका काम पनि धमाधम अघि बढेका छन् ।’ भौतिक निर्माणतर्फ सडक, आयोजनाको सबस्टेसन रहने भवन, ट्रान्सफर्मर र टावरका धेरैजसो फाउन्डेसनका काम अघि बढाइएको आयोजनाले जनाएको छ ।

    पाँच वर्षअघि सबस्टेसनका लागि जग्गा अधिग्रहण सुरु गरेको प्राधिकरणले गत वर्षको असोजमा आयोजनाका लागि आवश्यक एक सय ५४ रोपनी जग्गाको मुआब्जा वितरण सकेर निर्माणतर्फको काम अघि बढाएको हो । एसियाली विकास बैंकलगायत विभिन्न दातृ निकायको ऋण सहयोगमा आठ अर्ब ४२ करोडमा निर्माणाधीन आयोजनाको अवधि २७ महिना हो ।

    आयोजनाअन्तर्गत म्याग्दीको दाना, पर्वतको खुर्कोट र बुटवलमा तीनवटा छुट्टाछुट्टै सबस्टेसन निर्माण हुनेछन् । आयोजनाको दाना–खुर्कोट प्रसारण लाइनमा २२०/१३२ केभीका टावरहरूबाट दानादेखि खुर्कोटसम्म ५०० तथा खुर्कोटदेखि बुटवलसम्म १५ सय मेगावाट विद्युत् प्रसारण क्षमता रहेको आयोजना प्रमुख घोषले बताए ।

    धौलागिरीमा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाहरूका लागि प्रसारणको बाटो यसले निर्धारण गर्ने आयोजना कार्यालयले जनाएको छ । सरकारले ‘राष्ट्रिय गौरवको आयोजना’ का सूचीमा राखेकाले आयोजना समयमै सक्न आर्थिक समस्या नुहने आयोजना प्रमुख घोषले जनाए । आयोजनाका तीनवटै सबस्टेसनको प्राविधिक तथा कन्स्ट्रक्सन भारतको ‘टाटा प्रोजेक्ट लिमिटेड’ र चीनको ‘चिन्क इलेक्ट्रिक कम्पनी लिमिटेड’ ले संयुक्त रूपमा निर्माण गरिरहेका छन् ।

    आयोजनाले म्याग्दीको दाना, तातोपानी, भुरुङ, घार, हिस्तान, दोबा, बेग, भगवती, राखुपिप्ले, पर्वतका बाँसखर्क, माझफाँट, मल्लाज, धाइरिङ, नाङलबाङ, पाङ हुँदै खुर्कोट सबस्टेसनमा जोड्छ । त्यस्तै खुर्कोट सबस्टेसनबाट पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र नवलपरासी हुँदै बुटवल सबस्टेसनमा जोडिएर राष्ट्रिय प्रसारणमा पुर्‍याइने निर्माण कम्पनी टाटा प्रोजेक्टका प्रतिनिधि अर्जुन गुरुङले बताए । दाना–खुर्कोट सबस्टेसनको दूरी ३९ किलोमिटर र खुर्कोटदेखि बुटलवको दूरी ८८ किलोमिटर छ ।

    पर्वत, म्याग्दी र मुस्ताङका गरी करिब डेढ सय मेगावाटका आयोजना एक वर्ष उत्पादन सुरु गर्ने गरी तयारीमा छन् । पर्वतको मोदीमा २, म्याग्दीको घलेम्दी, मिरिस्तीमा ३ र मुस्ताङको थापाखोलामा एक गरी ६ वटा विद्युत् आयोजनाहरू आगामी वर्षभित्रै उत्पादन दिने तयारीमा छन् । यी आयोजनाहरू छिट्टै सम्पन्न भए पनि राष्ट्रिय प्रसारणमा पठाउन कालीगण्डकी प्रसारण करिडोर नै कुर्नुपर्छ । निर्माणाधीन विद्युत् आयोजनाहरूका कारण पनि करिडोरको काम तोकिएभन्दा छिटो सक्न निर्माण पक्षलाई दबाब छ ।

    स्रोत:कान्तिपुर