अस्पताल र अक्सिजन उद्योगमा विद्युत जान नदिन नेपाल विद्युत प्राधिकरण हाई अलर्टमा

1645

काठमाडौं,३१ वैशाख २०७८ । नेपाल विद्युत प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरु र अस्पतालहरुलाई चौबिसै घण्टा निरन्तर विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको छ । अस्पताल र अक्सिजन उद्योगहरुको विद्युत प्रसारण तथा वितरण हुने सम्पूर्ण फिडरहरुलाई अधिकतमसतर्क ९ज्ष्नज ब्भिचत०को सूचीमा वर्गीकृत गरिएको छ । साथै अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ख्याल गर्दै विद्युत निर्वाद आपूर्तिका लागि वैकल्पिक फिडरसमेत तयार गरिएको छ । अक्सिजन उद्योगहरु रहेका ककनी, हरिसिद्धी, बुटवल, सिमरा, जनकपुर, विराटनगरलगायतका स्थानमा नयाँ वैकल्पिक फिडरहरु जडान गरिएको छ ।

कोभिड—१९को दोस्रो लहर देखिनासाथ अक्सिजन उद्योग तथा अस्पतालहरुमा विद्युत आपूर्ति हुने फिडरहरुको पहिचाहन गरी समस्या आउन नदिन आवश्यक व्यवस्था गर्न देशभरका वितरण केन्द्रहरुलाई निर्देशन दिइएको र सम्बन्धित वितरण केन्द्रहरुले सोहीअनुसार प्रवन्ध गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताउनुभयो । उहाँले अहिले अस्पताल र अक्सिजन उद्योगहरुमा विद्युत आपूर्तिको समस्या नरहेको उल्लेख गर्नुभयो ।

अक्सिजन उद्योग तथा अस्पतालहरुमा निर्वाद विद्युत आपूर्तिको लागि बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेको संयोजकत्वमा सहायता कार्यदल गठन गरिएको छ । ‘अस्पताल तथा अक्सिजन उद्योगमा विद्युत् आपूर्तिमा समस्या आउन नदिन हरसम्भव उपाय अपनाएका छौं, कथंकदाचित समस्या आएमा त्यसको तत्काल जानकारी दिन र अनुगमनका लागि कार्यकारी निर्देशक,उद्योगका पदाधिकारीहरु, कार्यदलका संयोजक, सम्बन्धित वितरण केन्द्रका प्रमुखहरुसहितको भाइबर,ह्वाट्सएप ग्रुप संचालनमा ल्याइएको छ,’शाक्यले भन्नुभयो ।

अस्पताल तथा अस्सिजन उद्योगसँग सम्बन्धित विद्युत प्राविधिकहरुलाई उक्त ग्रुपमा जोडिन आग्रह गरिएको छ । आफ्नो अस्पताल वा उद्योगमा विद्युतको समस्या आउनासाथ तत्काल खबर गर्न आग्रह गरिएको छ ।

प्रधानमन्त्रीका विकासविज्ञ सल्लाहकार गजेन्द्र थपलिया, कार्यकारी निर्देशक शाक्य, कार्यदलका संयोजक पाण्डे र स्थानीय वितरण केन्द्रहरुको प्रमुखसहितको टोलीले काठमाडौं उपत्यकामा रहेको विभिन्न अस्पताल तथा अक्सिजन उद्योगहरु र विद्युत आपूर्तिका गर्ने फिडरहरुको अवलोकन गरी समस्याको पहिचान गरेको छ । समस्या समाधानका लागि आवश्यक उपायहरु तर्जुमा गरी सोहीअनुसार कार्य अगाडि बढाइएको शाक्यले बताउनुभयो ।