लकडाउनले नछोएको सुपरमादी, जहाँ ४५० कामदारलाई भ्याइनभ्याइ छ

2085

५ वैशाख, पोखरा । टिपरहरु ढुंगा माटो बोकेर दौडिरहेका छन् । डोजर माटो खन्ने र सम्याउने काममा व्यस्त छ । सेता, पहेँलो हेलमेट कामदारहरुको चहलपहल पनि उस्तै छ ।

यो हो, कास्कीको मादी गाउँपालिकामा निर्माणाधीन सुपर मादी जलविद्युत आयोजना ।

लकडाउनका कारण पोखरा मात्र होइन, सिंगो देशमा चहलपहल बन्द भएको बेला मादी किनारको कलबन्दी र सोंदाको सुपर मादी जलविद्युत आयोजनामा भ्याइनभ्याइ छ यतिबेला । मादी गाउँपालिका ताङतिङ गाउँबाट ४ किलोमिटर पर छ सुपर मादी हाइड्रो । कलबन्दी भन्ने ठाउँमा जलविद्युत आयोजनाको ड्यामसाइट र सुरुङ मार्गलगायतका काम भइरहेको छ भने सोंदा भन्ने ठाउँमा पावर हाउस निर्माणको काम चलिरहेको छ ।

कोरोना भाइरस कोभिड–१९ ले विकास आयोजनाहरु प्रभावित भइरहेका बेला सुपर मादी हाइड्रोपावर लिमिटेडले भने एरिया सिल गरेर काम गरिरहेको छ । ४४ मेगावाट क्षमताको सुपर मादीमा अहिले ४ सय ५० जना कामदारले काम गरिरहेका छन् । कामदारलाई बाहिर जान नदिने र बाहिरबाट कामदार नल्याउने गरी आयोजना निर्माणको काम भइरहेको सुपर मादी हाइड्रोका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिए ।

‘कोरोना भाइरसका कारण विश्व नै प्रभावित हुँदा मादी सुपर हाइड्रो पनि अछुतो रहने कुरा भएन । तै पनि लकडाउनभन्दा अगाडिदेखि नै ल्याइएका निर्माण सामाग्रीबाट काम अगाडि बढिरहेको छ,’ ढुंगानाले अनलाइनखबरसँग भने, ‘यो आयोजनामा ४५० जनाले सतर्क रहँदै काम गरिरहनुभएको छ ।’ ७५० भन्दा बढी मजदुर कार्यरत भएपनि लकडाउनभन्दा पहिले केही कामदार घर गए । बिदामा गएकाहरुलाई पनि तत्काल काममा नअनाउन भनिएको साइट इन्जिनियर दीपक देवकोटाले जानकारी दिए ।

केही समयका लागि फलाम र रड स्टक छ भने र सिमेन्ट ल्याउन सरकारले अनुमति दिएको छ । लकडाउनभन्दा पहिले चैत ८ गतेदेखि नै कर्मचारी आयोजनामा आएका छैनन् । ‘बिदामा गएकालाई उतै बस्न भन्यौं । नयाँ कामदार नल्याउने र यहाँका कामदारलाई पनि सुरक्षित राखेर बाहिरका मानिसहिरुको सम्पर्कमा जान दिएका छैनौं,’ अध्यक्ष ढुंगानाले भने, ‘कामदारको सुरक्षा, खाद्यन्य र बसोबासको ब्यवस्था हामीले मिलाएका छौं ।’

मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले पनि गाउँलेसँग घुलमिल हुन नदिने र नयाँ कामदार आउन नदिने सर्तमा काम गर्न सहजीकरण गरिएको बताएका छन् ।

लागत बढ्ने अनुमान

७ अर्ब ६५ करोड लागत अनुमान गरिएको आयोजना २०७८ को असारमा सक्ने लक्ष्य थियो । कोरानाका कारण थप ६ महिना समय लाग्ने प्रारम्भिक अनुमानत छ । लकडाउनको अवस्था हेरेर अवधि लम्बिन सक्ने देवकोटाले बताए । यसले लगानी पनि बढ्नेछ । प्रति मेगावट १७ करोडभन्दा कममा आयोजना सक्ने लक्ष्य राखे पनि कोरोनाले लगानी बढ्ने देखिएको अध्यक्ष पुष्पज्योतिले बताए ।

३ वर्षअगाडि देखि नै पहुँचमार्ग निर्माणको काम थालिएको भएपनि २ वर्षअघिदेखि हाइड्रोको काम सुरु भएको हो । ६ हजार ९ सय मिटर खन्नुपर्ने अन्डरग्राउण्ड स्टक्चरमध्ये ५० प्रतिशत काम सकिएको छ । पावर हाउसको स्काभेसनको काम भइरहेको छ । सेफ्टी बेसिनको काम भइरहेको छ । बाँधको काम भने वैशाखभित्रै सक्नैपर्ने दबाव रहेको साइट इन्जिनियर देवकोटाले बताए ।

आयोजनाबाट उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणको लेखनाथ सबस्टेसनमा जोड्ने गरी प्रसारण सम्झौता छ । विद्युतगृहदेखि माथिल्लो मादीको पावरहाउससम्म करिब ९ किलोमिटर प्रसारण लाइन आयोजना आफैंले निर्माण गर्नेछ । आयोजनाको सिभिल निर्माण हिमाल हाइड्रो लिमिटेड र परामर्शदाताको जिम्मा सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ कम्पनीले पाएका छन् । सिभिल निर्माणको ठेक्का २०७५ जेठ ८ गते भएको थियो ।

सानिमा बैंकको अगुवाईमा ८ बैंकले आयोजनामा ५ अर्ब ७५ करोड २५ लाख लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । एनआईसी एसिया, एनसीसी, सनराइज, कुमारी, कृषि विकास र राष्ट्रिय वाणिज्य र प्रभु बैंकसँग लगानी सम्झौता भएको छ ।

Online Khabar