Sanjen speedup the construction of both of its project with total capacity of 57 MW

    1091

    छविलाल बगाले
    रसुवा २७ साउन – रसुवा जिल्लाको चिलिमे गाविसमा ५७.३ मेगावाट क्षमताका २ आयोजनाको निर्माण कार्य तीव्र भइरहेको छ । बैशाख १२ गतेको महाभुकम्प र त्यसपछिका पराकम्पनका कारण केही समय बन्द गरिएको यी आयोजना पुनः सुचारु गरिएको हो ।
    आगामी २ बर्षभित्रमा दुबै आयोजनाको निर्माण कार्य सम्पन्न गरी विद्युत उत्पादन थाल्ने लक्ष्य राखी दुबै आयोजनामा अहिले धमाधम निर्माणको काम अघि बढिरहेको छ । झण्डै २ बर्ष अघिदेखि निर्माणमा गएको १४.८ मेगावाट क्षमताको सान्जेन (माथिल्लो) जलविद्युत आयोजना र ४२.५ मेगावाट क्षमताको सान्जेन जलविद्युत आयोजनाले यतिबेला सुरुङ निर्माणका साथै विद्युत गृह तथा डिशेन्डिङ बेशीनको काम गरिरहेको छ ।
    चिलिमे गाविसमा अवस्थित १४.८ मेगावाट क्षमताको सान्जेन (माथिल्लो) जलविद्युत आयोजनाले तिलोचेस्थित सान्जेन खोलामा १४ मिटर लम्बाई र ३.३० मिटर उचाईको बाँध बाँधी १४ सय मिटर लामो हेडरेस सुरुङ र ४ सय ७० मिटर लामो भुमिगत पेनस्टक पाइपमार्फत ल्याइएको पानीलाई सिम्बु गाउँको फेदीमा निर्माण गरीने विद्युत गृहमा खसालीने जनाएको छ ।
    हालसम्ममा माथिल्लो सान्जेन जलविद्युत आयोजनामा मुख्य र सहायक गरी १ हजार ८ सय ४० मिटरमध्ये ७ सय ५० मिटर लामो सुरुङको निर्माण कार्य सकिएको आयोजनाका आयोजना प्रमुख गिरिराज अधिकारीले बताए । उनले भुकम्पका कारण केही समय काम रोकिएको भएपनि समयमा सबै काम सकाउनुपर्ने भएकोले निर्माणको काम सुचारु गरेको बताएका छन् । ‘भुकम्पका कारण जिल्लामा निर्माणाधिन अन्य जलविद्युत आयोजनाहरु सुचारु हुन सकेका छैनन्’ आयोजनाका आयोजना प्रमुख अधिकारीले भने, ‘जिल्लामा भुकम्पका पराकम्पन गइरहे पनि दुबै आयोजनाको सुरुङ, विद्युत गृह रहने स्थानहरु खन्ने काम तिब्र गतिमा भएको छ । यसका साथै आयोजना सुचारु गराउन आयोजना आफैले उपकरणहरु परिचालन गरी क्षतविक्षत भएको पहुँच मार्गको मर्मत गरेको थियो ।’
    कुल जडित क्षमता १४.८ मेगावाट रहने माथिल्लो सान्जेनमा साइड इन्टेक सँगै जोडिएको इन्टेक केनलमार्फत ६० मिटर लामो बालुवा थिग्रयाउने संरचना (डिसेन्डर) बाट बालुवारहित पानीलाई ४४ हजार १ सय ७८ घनमिटर क्षमता भएको पोखरीमा जम्मा गराई हेडरस टनेलमा पठाइनेछ ।
    ५.१ मेगावाट क्षमताका ३ वटा फ्रान्सिस टर्बाइन जडान गरि विद्युत उत्पादन थालिने यस आयोजनाबाट सुख्खा याममा १०.५८३ गिगावाट र बर्षायाममा ७१.८५६ गिगावाट विद्युत उत्पादन हुने आयोजनाको दावी छ ।
    पानीको वहावमा आधारित (रन अफ द रिभर) प्रणालीको यो आयोजनाले आगामी २०१७ को जुन महिनासम्ममा आयोजना निर्माणको कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ । कुल ग्रस हेड १६१.३ मिटर रहेको सान्जेन (माथिल्लो) जलविद्युत आयोजनाले विद्युत प्राधिकरणसँग बार्षिक रुपमा ८२.४३९ गिगावाट विद्युत बिक्रि गर्ने गरी विद्युत खरिद बिक्रि सम्झौता (पिपिए) गरेको थियो ।
    २ अर्ब २१ करोड ८८ लाख अनुमानित लागत रहेको यस आयोजनामा कर्मचारी संञ्चय कोषमार्फत ५० प्रतिशत दीर्घकालिन ऋण लगानी र ५० प्रतिशत स्वपुँजी परिचालन गरिने आयोजनाका महाप्रबन्धक मिलाप बहादुर पाण्डेको भनाई छ ।

    यस्तै प्रवद्र्धक कम्पनी सान्जेन जलविद्युत कम्पनीले संचालनमा ल्याएको ४२.५ मेगावाट क्षमताको तल्लो सान्जेनले पनि आफ्नो निर्माण कार्य अघि बढाएको छ । १४.८ मेगावाट क्षमताको सान्जेन (माथिल्लो) जलविद्युत आयोजनाले विद्युत उत्पादन गरी पठाएको पानीलाई तल्लो सान्जेनले सिधै आफ्नो सुरुङमा पानी पठाएर विद्युत उत्पादन गर्नेछ । एउटै प्रसारण लाइन र प्रवेश मार्ग तथा एउटै खोलामा आयोजना परेकाले एकसाथ निर्माण गरिएको आयोजनाको दावी छ ।
    अन्य आयोजनाभन्दा यी २ आयोजनाको विशोषता अलि फरक रहेको आयोजनाका प्रमुख अधिकारीले बताए । ‘यो आयोजना प्रख्यात चिलिमे मोडेलमै बन्छ’ अधिकारीले कारोबारसँग भने, ‘माथिल्लो सान्जेनले विद्युत उत्पादन गरि पठाएको पानीलाई सिधै तल्लो सान्जेनको सुरुङमा पठाई आयोजनाको विद्युत गृह रहने स्थान चिलिमे गाविसको चिलिमे गाउँमा विद्युत उत्पादन गरिनेछ । र तल्लो सान्जेनबाट विद्युत उत्पादन भई बाहिर निस्किएको पानीलाई पुनः २.७ मिटर चौडा टेलरेसमार्फत हाल चालु अवस्थामा रहेको २२ मेगावाटको चिलिमे जलविद्युत केन्द्रको पावर क्यानलमा पठाइन्छ । यसकारण तीनवटा आयोजना सान्जेन माथिल्लो, सान्जेन र चिलिमे आयोजना क्यास्केट (श्रृङखलबद्ध आयोजना) प्रोजेक्ट हुनेछ ।’
    तल्लो सान्जेजनले हालसम्म मुख्य र सहायक गरी ५ सय ५० मिटर भुमिगत सुरुङ निर्माण गरीसकेको छ भने विद्युत गृह रहने स्थान चिलिमे–२ मा एक्साभेसनको ८० प्रतिशत काम सम्पन्न गरिसकेको छ ।
    यि दुबै आयोजनाको मुख्य लगानीकर्ता चिलिमेको ३८ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० र रसुवा जिविस र सबै गाविसहरूको संस्थागत ३ प्रतिशत शेयर रहेको छ । यसका साथै आयोजनामा प्रवद्र्धक कमपनीका कर्मचारीको ३.५ प्रतिशत, सञ्चयकोषका कर्मचारीको १ प्रतिशत, सञ्चयकोषका संचय कर्ताका १९.५ प्रतिशत, प्रभावित क्षेत्रका सबसाधरणलाई १० र आम सर्बसाधरणलाई १५ प्रतिशत शेयर लगानी रहनेछ ।
    दुवै आयोजनाबाट उत्पादित बिजुली प्राधिकरणले हिउँदमा प्रतियुनिट ८.४० र वर्षायाममा ४८०. रुपैयाँमा किन्ने छ । ३० वर्षको सम्झौता अवधिमा व्यापारिक उत्पादन मितिदेखि ९ पटकसम्म तीन प्रतिशतका दरले मूल्यवृद्धि हुनेछ । यी दुई आयोजना निर्माणका लागि चिलिमेले सहायक कम्पनीका रूपमा सान्जेन जलविद्युत कम्पनी दर्ता गरेको हो ।
    यी दुवै आयोजनाबाट उत्पादित बिजुली चिलिमेको बाँधस्थलस्थित प्रस्तावित चिलिमे हब’ मा जोडिनेछ । प्रधिकारणको दायित्वभित्र परेको २२० केभी चिलिमे हब र चिलिमेदेखि त्रिशुली–३ बि सम्मको २२० केभीको डबल सर्किट प्रसारण लाइनको निर्माण समयमा सम्पन्न नभएमा उत्पादित विद्युत खेर जाने निश्चित देखिन्छ । सान्जेनका यि २ आयोजनाको ५७ मेगावाट र १ सय ११ मेगावाटको रसुवागढी पनि यही चिलिमे हवमा जोडिने भएकोले यसको निर्माणमा प्राधिकारणले विशेष ध्यान पु¥याउनुपर्ने विज्ञहरु बताउँछन् ।

    स्रोत: : कारोबार