कर लगाउने गाउँपालिकाको निर्णयप्रति स्वतन्त्र ऊर्जा उत्पादन संघको आपत्ति

    1481

    काठमाडौं । चर्नावती खोला जलविद्युत् आयोजनालाई १० लाख रुपियाँ जलविद्युत् कर तिराउने दोलखाको मैलुङ गाउँपालिकाको निर्णयप्रति स्वतन्त्र ऊर्जा उत्पादन संघको आपत्ति जनाएको छ । संघद्वारा प्रवद्र्धित उक्त आयोजनामा दोहोरो कर तिर्नुपर्ने अवस्थामा संघले विरोध जनाएको हो ।

    संघका अध्यक्ष शैलेन्द्र गुरागाईँद्वारा जारी विज्ञप्तिमा हालको कानुन अनुसार नेपाल सरकारलाई तिर्नुपर्ने कर बुझाउँदै आएको अवस्थामा गाउँपालिकाको यस निर्णयप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख छ ।

    संघले नयाँ कानुन अनुसार जलविद्युत्मा लाग्ने करको बारेमा स्पष्ट नभएको अवस्थामा जलविद्युत्लाई थप करभार नपर्ने गरी निर्णय गर्न सम्बन्धित निकायलाई आग्रह पनि गरेको छ । त्यसो नगरे लगानीकर्ता अन्योलमा पर्ने हुँदा जलविद्युत् क्षेत्रमा थप लगानीकर्ता आउन निरुत्साहित हुने संघले जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ – ‘संघीय संरचनामा कुन निकायलाई रोयल्टि तिर्नेबारे स्पष्ट छैन । हालको नियमानुसार जलविद्युत् आयोजनको कर कति र कसरी तिर्नेबारे व्यवस्था नहुञ्जेल स्थानीयर सरकारलाई थप करको भार नपर्ने गरी निर्णय गर्न आग्रह गर्दछौं ।’

    स्रोत:बाह्रखरी