बर्दियाको राजापुर सबस्टेसन संचालन, विद्युत् आपूर्ति सुधार हुने

1036

काठमाडौं,१० जेठ २०७६ । बर्दियाको राजापुर क्षेत्रको  विद्युत आपूर्तिलाई व्यवस्थित,भरपर्दो र प्रभावकारी बनाउन निर्माण गरिएको राजापुर सबस्टेसन  संचालनमा आएको छ ।
नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको ९ करोड ३६ लाख रुपैयाँको लगानीमा निर्माण भएको ३३÷११ किलोभोल्ट  (केभी) राजापुर सबस्टेसन बुधबारबाट संचालनमा आएको हो । यसबाट त्यस क्षेत्रका करिब २० हजार ग्राहकले गुणस्तरीय र विश्वसनीय विद्युत् प्रयोग गर्न पाउने भएका छन् ।
कैलालीको टिकापुरबाट राजापुरसम्मको करिब २० किलोमिटर ३३ केभी लाइन पनि बुधबारबाटै सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
‘पहिले राजापुर क्षेत्रमा टिकापुरबाट ११ केभी लाइनबाट विद्युत् आपूर्ति गरिएको थियो, लामो दुरीबाट लाइन लगिएकाले  भोल्टेज ड्रप हुने, पटकपटक लाइन ट्रिप हुने लगायतका समस्या थिए’,उनले भने । ‘अब टिकापुरबाट ३३ केभीबाट राजापुर सबस्टेसन विद्युत जान्छ, त्यसपछि मात्रै ११ केभीबाट वितरण गरिने हुँदा भोल्टेज सुधार हुने, प्रणालीको चुहावट घट्ने र विद्युत् आपूर्तिको विश्वनसीयता बढ्ने छ ।’
राजापुर सबस्टेसनबाट ३ वटा फिडरहरु राखिएको छ । त्यसमध्ये ११ केभीका दुई वटा फिडरहरुबाट विद्युत आपूर्ति गरिएको प्राधिकरणका नेपालगंज क्षेत्रीय कार्यालय प्रमुख मनोजकुमार सिंहले जानकारी दिए । प्राधिकरणले सबस्टेसन निर्माणका लागि आर्थिक वर्ष ०७१÷७२मा ठेक्का सम्झौता गरेको थियो । ठेक्का सम्झौता २०७२को असारबाट कार्यान्वयनमा आएको थियो ।
प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।
मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो र गुणस्तरीय बनाउन चालु आर्थिक वर्षमा ३० वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण र स्तरोन्नती गरिसक्ने प्राधिकरणको योजना छ । चालु आर्थिक वर्षमा झापामा घैलाडुब्बा, तनहुँको मार्कीचोक, रोल्पाको होलेरी, सल्यानको शित्तलपाटी, जाजारकोटेको कुदु, प्यूठानको दम्ती, कैलालीको हसुलिया लगायतका सबस्टेसन संचालनमा आइसकेका छन् ।
चालु आवभित्रै ६ सय सर्किट किलोमिटर प्रसारण र ८ हजार सर्किट किलोमिटर वितरण लाइन निर्माण सम्पन्न हुने छन् । प्राधिकरणले  एक वर्षमा १९ वटा ग्रिड र २० वटा वितरण सबस्टेसनको निर्माण सम्पन्न गरेको छ ।
सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ ।