प्रस्तावित विद्युत् महसुलबारे सार्वजनिक सुनुवाई हुने

1274

३० फागुन २०७६

काठमाडौं – विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिबाट विद्युत् महसुल निर्धारणको लागि आएको प्रस्तावमाथि चैतको दोस्रो सातादेखि सार्वजनिक सुनुवाई गर्ने भएको छ। आयोगले बिहीबार सार्वजनिक सूचना जारी गरेर आगामी चैत १४, १६ र १७ गते सार्वजनिक सुनुवाइ गर्ने जनाएको छ।

आयोगले यसअघि पनि फागुन ७ गते ३५ दिने सार्वजनिक सूचना जारी गरेर प्रस्तावित महसुलमा आवश्यक सुझाव तथा प्रतिक्रिया जनाउनका लागि अनुरोध गरेको थियो। आयोगले सार्वजनिक सुनुवाईमार्फत आएका सुझाव तथा प्रतिक्रियालाई समावेश गरेर नयाँ विद्युत् महसुल कार्यान्वयनमा ल्याउने गरी सार्वजनिक सुनुवाई गर्न लागेको हो।  प्राधिकरणको सञ्चालक समितिको बैंठकले गत माघ १७ गते आयोगमा प्रस्तावित विद्युत् महसुल शुल्क बुझाएको थियो।

प्राधिकरणले प्रस्ताव गरेको महसुल शुल्क आयोगले स्वीकृत गरेपछि मात्रै कानुनी मान्यता प्राप्त गरेर मात्रै कार्यान्वयनमा आउनेछ। आयोगका प्रवक्ता रामप्रसाद धितालले विद्युत् महसुल सर्वसाधारणसँग प्रत्यक्ष जोडिएकाले सार्वजनिक सुनुवाई गरेर मात्रै कार्यान्वयन गरेर गर्ने बताए। ‘प्राधिकरणको सञ्चालक समितिले गरेको विद्युत् महसुलको प्रस्तावमाथि जनताको रायसुझाव लिन सार्वजनिक सुनुवाई गर्न लागेका हौं,’ उनले भने ‘आयोग सार्वजनिक सुनुवाई  फेसबुक, युट्यूब जस्ता सामाजिक सञ्जालमा समेत प्रत्यक्ष प्रसारण गरिने व्यवस्था गरिएको छ।’

उनका अनुसार आयोगले अनलाइनबाटै विद्युत् महशुलको लागि आवश्यक सुझाव दिन सकिने व्यवस्था मिलाइएको छ। प्रवक्ता धितालले सर्वसाधारणबाट आएको आवश्यक राय सुझाव लिएर आगामी चैत मशान्तभित्रै विद्युत्को महसुल निर्धारण गर्ने तयारी गरेको बताए। ‘सरोकारवाला निकायसँगबाट आएको रायसुझाव समावेश गरेर चैत मसान्तभित्रै विद्युत् महसुल निर्धारण गर्ने तयारीमा जुटेका छौं,’ उनले भने, सरोकारवाला निकायबाट आएको सुझावका आधारमा महशुल शुल्क थपघट हुने सम्भावना छ।’

प्राधिकरणको सञ्चालक समितिले विद्युतको महसुल सिजनअनुसार फरक–फरक दर प्रस्ताव गरेको छ। ११ देखि २० युनिट खपत गर्ने उपभोक्तबाट न्यूनतम शुल्क ३० रुपैयाँ र प्रतियुनिट तीन रुपैयाँ लिने प्रस्ताव गरेको छ। त्यस्तै २१ देखि ५० युनिट बिजुली खपत गर्ने उपभोक्ताबाट ५० रुपैयाँ न्यूनतम शुल्क र प्रतियुनिट आठ रुपैयाँ ५० पैसा महसुल शुल्क लिने प्रस्ताव गरेको छ। ५१ देखि एक सय युनिट खपत गर्ने उपभोक्ताबाट न्यूनतम शुल्क ७५ रुपैयाँ लिनेछ भने प्रतियुनिट नौ रुपैयाँ ७५ पैसा महसुल शुल्क प्रस्ताव गरेको छ।

सञ्चालक समितिले वैशाखदेखि मंसिरसम्म ३३ केभी विद्युत् उपभोग गर्ने विद्युतीय बसलाई पिकआवरमा बेलुका ५ देखि ११ बजेसम्म प्रतियुनिट आठ रुपैयाँ ४० रुपैयाँ शुल्क प्रस्ताव गरेको छ। राति ११ बजेदेखि विहान ५ बजेसम्म चार रुपैयाँ ४५ पैसा महसुल प्रस्ताव गरेको छ। बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म प्रतियुनिट ६ रुपैयाँ ६० पैसा महसुल प्रस्ताव गरेको छ। बैठकले पुसदेखि चैतसम्मको लागि छुट्टै महसुल प्रस्ताव गरेको छ। ३३ केभीको प्रसारणलाइनबाट विद्युत् उपभोग गर्ने विद्युतीय बसले पिकआवरमा प्रतियुनिट आठ रुपैयाँ ४० पैसा महसुल तिर्नुपर्नेछ।

 

स्रोत:नागरिक