नलसिङगाडमा लगानी गर्न जापानलाई प्रस्ताव

2180

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले जाजरकोटमा रहेको ४१७ मेगावाटको नलसिंङगाड जलविद्युत्मा लगानीका लागि जापानलाई आग्रह गरेका छन् ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भेट्न आएका जापानी राजदूत मासामिची साइगोको छलफलको क्रममा उनले यस्तो आग्रह गरेका हुन् । भेटमा जापानी राजदूतले नलसिंङगाड परियोजना जाइकाले सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा अध्ययन गरिरहेको बताउँदै परियोजना प्रादेशिक सन्तुलनका हिसावले पनि महत्वपूर्ण रहेको बताए ।

छलफलमा परियोजनालाई अघि बढाउने विषयमा छलफल भएको बताउँदै दुई देशको सम्बन्धका साथै उर्जा र जलस्रोतमा गर्न सकिने सहकार्यका विषयमा समेत छलफल भएको बताए । उनले जापान र नेपालबीच पुरानो र मैत्रिपूर्ण सम्बन्ध रहेको भन्दै विगतमा कुलेखानी परियोजनादेखि नलगाडसम्म जापानले गरेको सहयोग गरेको उल्लेख गर्दै उनले नेपालको जापान भरपर्दो विकास साझेदार मुलुक भएको र नेपालमा अहिले लगानीको लागी उपयुक्त वातावरण बनेकोले लगानीको लागी जापानमा सन्देश प्रवाह गरिदिन राजदूत साइगोसंग आग्रह गरे । उक्त परियोजनालाई अघि बढाउने विषयमा छलफल गर्न उर्जामन्त्री पुन जापानी विकास नियोग जाइकाको मुख्यालयको भ्रमण गर्ने कार्यक्रम छ । जापान भ्रमणकै क्रममा उनले आफ्ना समकक्षीसँग समेत उक्त परियोजनाका विषयमा छलफल गर्ने योजना रहेको बताए ।

जापानी राजदूतले नेपालको जलविद्युत् क्षेत्रमा लगनीका लागी राम्रो वातावरण वनेको सुखद समाचार सुनेको भन्दै जापानमा समेत लगानीका लागि आफुले अपिल गर्ने बताए । छलफलमा राजदूत साइगाले भारत र वङगलादेशसंग सहमती भएको क्रस बोर्डर प्रशारण लाइनबारे समेत चांसो व्यक्त गरेका थिए ।