प्राधिकरणलाई माग व्यवस्थापनको सकस

1408

नेपाल विद्युत् प्राधिकरणको लागि लक्ष्मीपूजाको दिनको विद्युत् व्यवस्थापन सबैभन्दा चुनौतीपूर्ण बन्ने गरेको छ । चार वर्षअघि तत्कालीन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले यही दिन माग व्यवस्थापन गरेर लोडसेडिङ अन्त्यको सन्देश दिएका थिए । एक दशकदेखिको बिजुलीको माग हेर्ने हो भने एकाधबाहेक अधिकांश वर्ष लक्ष्मीपूजाको दिन सबैभन्दा उच्च माग हुने गरेको छ । गत तिहारको लक्ष्मीपूजाको उच्च माग ११ सय ३२ मेगावाट रहेकोमा बुधबारको माग त्योभन्दा झण्डै ३ सय ३० मेगावाट बढेर १४ सय ६० मेगावाट पुग्यो । यस वर्ष भने पुसको दोस्रो साता लक्ष्मीपूजाभन्दा बढी नै बिजुलीको माग पुगेको थियो ।
विद्युत् प्राधिकरणले तथ्यांकअनुसार उपलब्ध बिजुलीको अवस्था हेर्ने हो भने भारतबाट ६ सय ५३ मेगावाट छ भने प्राधिकरणबाट ५ सय र निजी क्षेत्रबाट ३ सय मेगावाटको हाराहारीमा छ । हिउँदसँगै प्राधिकरण र निजी क्षेत्रबाट उत्पादन हुने बिजुलीको घट्दो छ । प्राधिकरण व्यवस्थापनले भारतबाट हिउँदमा बढीमा ५५० मेगाावट आयात गरे पुग्ने प्रक्षेपण गरेको थियो । तर, एक सय मेगावाट आयात बढिसकेको छ भने आइतबारदेखि ७० मेगावाट थप गर्ने योजना बनाएको छ । बिजुलीको माग १४ सय ५० मेगावाट नाघे पनि प्राधिकरणसँग १२ सय मेगावाटभन्दा बढी धान्ने वितरण प्रणाली छ । प्राधिकरणको तथ्यांकले ग्रीड सवस्टेशनहरूको क्षमता ४ हजार ५ सय एमभीए छ । छिमेकी राष्ट्र भारत नेपाललाई थप विद्युत् दिन तयार भएकोले विद्युत्को समस्या प्राधिकरणलाई छैन । तर, बिजुली भए पनि लैजाने बाटो भने छैन । प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य १७ सय मेगावाटसम्म विद्युत् माग पुगे पनि उत्पादनको व्यवस्थापन गर्न सक्ने भए पनि बिजुली ओहोरदोरको लागि समस्या भएको बताउँछन् । “बिजुली उपलब्ध भएरपनि केही लाइनहरूमा ओभरलोड भएको कारणले विद्युत् व्यवस्थापनमा समस्या परेको छ, विशेष गरी लामोसाँघु काठमाडौं, ढल्केबर–चपुर, भरतपुर–वर्दघाट ओभरलोड भएर यस्तो अवस्था आएको हो,” बुधबार साँझ निर्देशनका लागि भार प्रेषण केन्द्र (एलडीसी) पुगेका उनी भन्छन्, “वैकल्पिक व्यवस्थापन गर्दैछौ, यसका लागि एलडीसीलाई निर्देशन दिएका छौं, प्राधिकरण व्यवस्थापन टिम पनि लागेको छ ।”
कमजोर प्रसारण र वितरण प्रणालीलाई सुधार्नका लागि प्राधिकरणले प्रयास त गर्दै आएको छ । तर, लोडसेडिङ अन्त्यपछिको उत्पादनको आधारमा वितरण प्रणालीलाई बलियो र आधुनिक बनाउन भने प्राधिकरणले बनाउन सकेको छैन । यही कारण प्राधिकरणलाई बिजुली व्यवस्थापन गर्न नसकेर बिजुली जाने समस्या बढेको छ । प्राधिकरणले आगामी हिउँदका लागि भारतबाट ५ सयदेखि ५५० मेगावाटसम्म विद्युत् ल्याउने योजना बनाएकोमा यसमध्ये ३५० मेगावाट ढल्केबर–मुज्जफरपुर अन्तरदेशीय प्रसारणलाइनबाट ल्याउने गरी सम्झौता गरिसकेको छ । तर अहिले २ सय ७० मेगावाट मात्र ल्याउने क्षमता छ । ३५० मेगावाट बिजुली ढल्केबर–प्रसारण लाइनबाट ल्याउनका लागि निर्माणमा रहेका ३ सय १५ एमभीएका दुई ट्रान्सफर्मरमध्ये एउटा निर्माण हुनुपर्छ । शुक्रबारसम्म एउटा ट्रान्सफर्मर चार्ज भैसक्ने र आईतबारदेखि ७० मेगावाट थपिने कार्यकारी निर्देशक शाक्य बताउँछन् । प्राधिरकणले १३२ केभीका ५सहित अन्य ३३ केभीबाट बिजुली आयात गर्न सकिने अवस्था पनि छ । तर, आयात बिजुली वितरणमा भने अझै समस्या छ ।
पछिल्लो समय माग र आपुर्ति व्यवस्थापनमा समस्या हुनुको कारण यसलाई सुक्ष्म ढंगले विश्लेषण गरेर अघि बढ्न नसक्नु, सामूहिक रूपमा टिम परिचालन हुन नसक्नु, चुहावट घटाउन ठोस पहल नहुनु, यस्तो अवस्थामा ऊर्जा मन्त्रीहरूको कारण सरुवा र सरुवा रोक्ने कृयाकलाप हुनु, राजनीतिक अस्थिरताको कारणले ऊर्जा मन्त्रालयले माग र आपूर्ति व्यवस्थापनका लागि नेतृत्वदायी भुमिका नखेल्नु लगायतका कारणलाई लिइन्छ । “विगतमा प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक घिसिङ आफै राती ९÷१० बजेसम्म बसेर काम गर्नुहुन्थ्यो, समूह परिचालन गर्नुहुन्थ्यो, अहिले निर्देशन र छलफलमात्र बढी भएको छ,” विगतमा प्राधिकरण व्यवस्थापनमा संलग्न एक कर्मचारीले भने, “अहिले मन्त्री र मन्त्रालयले पनि त्यही महत्व दिएन, राजनीतिले यो विषय छायामा पर्यो, प्राधिकरण व्यवस्थापन पनि समूहगत रूपमा सुक्ष्म अध्ययन गरेर अघि बढ्न सकेन, यही कारण पछिल्लो समयमा समस्या छ ।” उनका अनुसार, नयाँ उद्योग र होटेल सञ्चालन नहुँदा र तराईमा लोड पनि नबढेको अवस्थामा यति धेरै माग बढ्नु भनेको चुहावट बढ्नु हो तर कार्यकारी निर्देशक शाक्य चुहावट नियन्त्रणको काम नियमित भईरहेकोले गत कार्तिकमा डेढ प्रतिशत चुहावट बढेको देखिए पनि अहिले त्यस्तो अवस्था नरहेको बताउँछन् ।

 

स्रोत : कारोबार