NEA becoming strict with contractor

    1199

    ठेकदारप्रति कडा बन्दै प्राधिकरण

    NEA_Buldingकाठमाडौ, असार ७ – राहुघाट जलविद्युत् आयोजनाको ठेक्का खारेज गरी जमानत जफत गर्ने प्रक्रियासमेत सुरु गरेको विद्युत् प्राधिकरणले अन्य ठेकेदारप्रति पनि कडा व्यवहार गर्न सुरु गरेको छ ।

    सबै आयोजना समयमै सक्न प्राधिकरण ठेकेदारप्रति कडा हुन थालेको हो । प्राधिकरणले आयोजना निर्माणमा ढिलाइ गर्ने ठेकेदारलाई नछाड्ने जनाएको छ ।

    राहुघाटपछि प्राधिकरणले निर्माणाधीन काबेली करिडोर प्रसारण लाइनको ठेकेदारलाई पनि समयमा नबनाए ठेक्का खारेज गर्ने चेतावनी दिएको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले काबेली करिडोर प्रसारण लाइनको भ्रमण गरे लगत्तै चेतावनी

    दिएका हुन् । ‘नरम व्यवहार गरेर भएन,’ उनले भने, ‘हाम्रो गल्ती भए त्यसलाई पनि समीक्षा गरिन्छ र सम्बन्धित अधिकारीलाई जे गर्नुपर्ने हो गरिन्छ । ठेकेदारको गल्ती भए उसलाई पनि छाडिन्न ।’

    कार्यकारी निर्देशक काफ्लेले सोझै ठेक्का खारेज गर्ने नभएर घुमाउरो भाषामा यस्तो चेतावनी दिएका हुन् । ‘समयमा नबने आयोजनाको म्याद थपिन्न भनेर प्रस्ट रूपमा भनेको छु,’ उनले भने । उनले काबेली करिडोर, भरतपुर–बर्दघाट, हेटौंडा– भरतपुर र हेटौंडा–ढल्केबर–दुहबी प्रसारण लाइनका ठेकेदारलाई समयमा काम नसके म्याद नथप्ने चेतावनी दिएका हुन् । यी प्रसारण लाइनका केही ठेकेदारको म्याद असारभित्र र केहीको म्याद आगामी साउभित्र सकिँदै छ । म्याद नथपे ठेक्का सम्झौता खारेज हुनेछ ।

    काफ्लेले काबेली करिडोरका ठेकेदार जगुवार ओभरसिज एस्टर जेभी प्रालिलाई गत बिहीबार २ साताभित्र पहिलो खण्डको प्रसारण लाइनको काम सिध्याउन कडा निर्देशनसमेत दिएका छन् । उक्त निर्देशन पालना नभए म्याद नथप्ने संकेत पनि उनले दिएका छन् । पहिलो खण्डको पहिलो खण्डमा दमकदेखि इलामसम्मको ३४ किलोमिटर पर्छ । यो खण्डको ९५ मध्ये ९४ टावर निर्माण हालै सम्पन्न भएको छ । तर तार तान्ने काम भने पूर्ण रूपमा सकिएको छैन ।

    कुल ९० किलोमिटर लामो काबेली करिडोरको ठेक्का सम्झौता सन् २०१० सेप्टेम्बरमा भएको हो । यो प्रसारण लाइन सन् २०१३ सेप्टेम्बरमा बनिसक्नुपथ्र्यो । तर ३ खण्डमा निर्माण हुने यो प्रसारण लाइनको खण्ड २ र खण्ड ३ को निर्माण हालसम्म सुरु भएको छैन ।

    दोस्रो खण्डमा फिदिमदेखि सोयाकसम्म ४१ किलोमिटर पर्छ । यो खण्डमा १ सय २३ वटा टावर निर्माण गर्नुपर्छ । तर प्राधिकरणले ५५ वटा टावर निर्माण गर्न मात्र जग्गा उपलब्ध गराउन सकेको छ । प्राधिकरणले उपलब्ध गराएको टावरको जग्गा नियमित नभएर छरिएका छन् । त्यही भएकाले जगुवारले काम गर्न सकेको छैन । तेस्रो खण्डको जग्गा अधिग्रहण नै हुन सकेको छैन । काफ्लेले जग्गा अधिग्रहणलगायत कामलाई तीव्रता दिने बताए ।

    २ सय २० केभी हेटौंडा–भरतपुर प्रसारण लाइन पनि सन् २००९ मा सुरु भएको हो । निर्माण सुरु भएको करिब ६ वर्ष बितिसक्दा पनि यो प्रसारण लाइनको काम सकिएको छैन । यो प्रसारण लाइनको पटकपटक थपिएको समय सकिनै लागेको छ । यो प्रसारण लाइनको निर्माण लागत २ अर्ब ४२ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको ७५ किलोमिटर लामो छ । यो प्रसारण लाइनमा २ सय २६ टावर बनाउनुपर्छ । तर करिब आधा मात्र काम भएको प्राधिकरण स्रोतको भनाइ छ ।

    सन् २००९ मै सुरु भएको २ सय २० केभी डबल सर्किट भरतपुर–बर्दघाट प्रसारण लाइन पनि सकिएको छैन । थपिएको समयअनुसार यो प्रसारण लाइन चालू आर्थिक वर्षभित्र सकिनुपर्छ । ७४ किलोमिटर लामो यो प्रसारण लाइनको अनुमानित लागत १ अर्ब ७० करोड रुपैयाँ छ ।

    विश्व बैंकको ऋण सहयोगमा बन्न लागेको हेटौंडा–ढल्केबर–दुहबी ४ सय केभी प्रसारण लाइन पनि समस्यामा छ । रणनीति र व्यापारिक महत्त्वको यो अन्तरदेशीय प्रसारण लाइन निर्माण भए नेपाल र भारतबीच १ हजार मेगावाट विद्युत् आदानप्रदान गर्न सकिन्छ ।

    स्रोत: ekantipur