पूर्वबाट थपिँदै बिजुली

    1184

    विराटनगर/इलाम/पाँचथर — पूर्वी जिल्लाबाट केही महिनाभित्रै ४५ मेगावाटभन्दा बढी विद्युत् थपिने भएको छ । पाँचथर, इलामलगायत जिल्लामा निर्माणाधीन केही जलविद्युत् आयोजनाहरू अन्तिम चरणमा पुगेकाले आगामी चार महिनाभित्र त्यति परिमाणको बिजुली थपिने भएको हो ।

    यसबाहेक ५० मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने लक्ष्यसाथ विभिन्न आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् ।
    धमाधम जलविद्युत् आयोजनाहरू सम्पन्न भएर उत्पादन हुन थाले पनि केही स्थानबाट केन्द्रीय प्रसारण लाइनमा जोड्न समस्या भएको छ । काबेली करिडोर प्रसारण लाइन समयमै पूरा हुन नसकेकाले उत्पादित बिजुली देशव्यापी रूपमा जोडिन समस्या भएको हो ।

    थपिँदै बिजुली

    इलाममा करिब ६३ मेगावाट बिजुली उत्पादन भइसकेको छ । अब निर्माणाधीन आयोजनाहरूबाट करिब २६ मेगावाट बिजुली निस्कने भएको छ । दशकअघि बनेको ६ दशमलव २ मेगावाट क्षमताको पुवाखोला जलविद्युत् आयोजना बनेपछि इलाममा अरू जलविद्युत् आयोजना बन्न थालेका थिए । सानिमा हाइड्रोबाट २२ मेगावाट, सानिमा क्यासकेटबाट ७, अप्परमाईबाट १२, अप्परमाई क्यासकेटबाट ६ दशमलव १ र साना माईखोला आयोजनाबाट ४ दशमलव ५ मेगावाट बिजुली उत्पादन गरिएको छ ।

    यसैगरी जोगमाईबाट ७ दशमलव ५, पुवाखोला १ बाट ४ दशमलव ४, जोशी हाइड्रोबाट तीन मेगावाट र माईखोला (हिमाल दोलखा) आयोजनाबाट ८ मेगावाट बिजुली उत्पादन भई सञ्चालनमा छ । इलामको सुम्बेकमा ७ दशमलव ८ मेगावाट क्षमताको सुपरमाई र बरबोटेमा ९ मेगावाटको सगरमाथा हाइड्रो जलविद्युत् निर्माणाधीन अवस्थामा छन् ।
    ४ अर्ब लागतमा १५ मेगावाटको हेवाखोला ‘ए’ जलविद्युत् आयोजना पूरा भइसकेको छ । माउन्टेन हाइड्रोपावर कम्पनीले ४ अर्ब ५० करोड लागतमा तल्लो हेवाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । २१ मेगावाट क्षमताको यो आयोजना करिब तीन महिनापछि पूरा हुने जनाइएको छ ।

    यसैगरी २५ मेगावाटको काबेली बी १ आयोजना पनि अन्तिम चरणमा पुगेको छ । ४ अर्ब ५० करोड रुपैयाँ लागतमा बन्दै गरेको यो आयोजना अरुण काबेली इनर्जी लिमिटेडले सञ्चालन गरिरहेको छ ।

    २ अर्ब ६० करोड लागतको इवाखोला जलविद्युत् आगामी चार महिनाभित्र बन्ने भएको छ । यसले १० मेगावाट विद्युत् उत्पादन गर्नेछ । यसैगरी विद्युत् प्राधिकरणको स्वामित्वमा बुटवल पावर कम्पनी/काबेली इनर्जी लिमिटेडले ३७ दशमलव ६ मेगावाटको काबेली ‘ए’ जलविद्युत् आयोजना बनाइरहेको छ । यो आउँदो डेढ वर्षभित्र सकिने र उत्पादित बिजुली केन्द्रीय प्रसारण लाइनमा जोडिने कम्पनीले जनाएको छ ।

    हिमाली जिल्ला ताप्लेजुङमा ५ मेगावाट क्षमताको फावाखोला जलविद्युत् आयोजना सम्पन्न भएर थापाटारस्थित सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिसकिएको छ । यस्तै फिमेखोला जलविद्युत् आयोजकले १ मेगावाट उत्पादन सुरु गरिसकेको छ ।

    यसबाहेक भोजपुर र संखुवासभामा पनि केही जलविद्युत् आयोजना सञ्चालित छन् । संखुवासभामा तीनवटा खोलाबाट साढे ११ किलोवाट बिजुली उत्पादन गरिएको छ । हेवाखोलाको ४ मेगावाट, पिलुवाको ३ दशमलव ५ मेगावाट र दिव्येश्वरी आयोजनाको ४ मेगावाट बिजुली उत्पादनभइसकेको हो ।

    सोलुखम्बु, खोटाङ, ओखलढुंगा, तेह्रथुम र भोजपुरमा पनि केही जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको विद्युत् प्राधिकरणले जनाएको छ ।
    बढ्दो माग

    प्रदेश नम्बर १ मा पछिल्लो समय बिजुलीको माग थप बढेको छ । मागअनुसार विद्युत् प्राधिकरणले व्यवस्थापन गर्न सकेको छैन । प्राधिकरणको विराटनगरस्थित क्षेत्रीय कार्यालयका निर्देशक बद्रीभूषण चौधरीका अनुसार पूर्वको माग २ सय २५ मेगावाट पुगेको छ । अघिल्लो वर्षको तुलनामा २५ प्रतिशत बिजुलीको माग बढेको हो । यो क्षेत्रमा घरेलु उपभोक्ताबाहेक औद्योगिक क्षेत्रमा पनि उल्लेख्य बिजुली खपत हुने गरेको छ ।

    अघिल्लो वर्ष २ सय मेगावाट बिजुलीको माग थियो । निजी क्षेत्रले निर्माण गरेका जलविद्युत् आयोजनाहरूबाट उत्पादित तथा भारतबाट आयातित बिजुलीसमेत पूर्वका जिल्लामा वितरण गरिएको छ । भारतबाट १ सय ३२ केभी क्षमतामा कटैया–दुहबी प्रसारण लाइनमार्फत १ सय १० मेगावाट बिजुली आयात गरिएको प्राधिकरणले जनाएको छ । प्रदेश नम्बर १ मा पर्ने सबै क्षेत्रमा गरी विद्युत् उपयोग गर्ने ५ लाख ७७ हजार १ सय ५२ ग्राहक रहेको जनाइएको छ ।

    सबैजसो आयोजनाहरू ‘रन अफ रिभर’ प्रविधिको भएकाले हिउँदमा साविक क्षमताभन्दा आधा मात्र बिजुली उत्पादन हुने गरेको छ । खोलाहरूमा पानीको बहाव घट्ने भएकाले फागुन/चैततिर सबैजसो आयोजनाको उत्पादन ३० प्रतिशतसम्म घट्ने गरेको छ । वर्षामा भने अधिकांश आयोजनाले क्षमताअनुसारकै बिजुली उत्पादन गर्ने गरेका छन् ।

    प्रसारण लाइनमा ढिलाइ

    प्रसारण लाइन पूरा नहुँदा भने मेची पहाडका जिल्लामा उत्पादित बिजुली केन्द्रीय प्रसारणमा जोड्न विलम्ब भइरहेको छ । समयमा काम नसकिएको अवस्थामा काबेली करिडोरको काम पूरा हुन सकेको छैन । १ सय ५० मेगावाट क्षमताको १ सय ३२ केभी प्रसारण लाइन आयोजनामा ढिलाइ भएको हो ।

    आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीका अनुसार चालु आर्थिक वर्षमा सरकारले उपलब्ध गराएको रकमले निर्माण कार्य पूरा गर्न कठिन हुने भएकाले थप सहयोग आवश्यक देखिएको छ । सरकारसँग ३५ करोड रुपैयाँ मागिएकामा चालु आर्थिक वर्षमा १३ करोड मात्र आएकाले अपुग भएको आयोजनाले जनाएको छ ।

    ‘आवश्यकताअनुसार बजेट आएर विवाद नहुने हो भने आगामी वैशाखसम्म काम पूरा हुनेछ,’ द्विवेदीले भने, ‘स्थापना गर्न बाँकी ३१ टावरमध्ये १८ वटाको काम भइरहेको छ ।’ स्थानीय उपभोक्ताको असन्तोषका कारण अवरोध भएपछि इलामको सिद्धिथुम्का र चमैतामा बनाउनुपर्ने १३ वटा टावर बन्न सकेको छैन ।

    विश्व वैंकको २ अर्ब ५८ करोड ४० लाख रुपैयाँ सहयोगमा सुरु भएको आयोजना पटकपटक म्याद थप्दा पनि समयमा निर्माण पूरा हुन नसकेपछि दाता सहयोगी विश्व बैंकले गत वर्ष आयोजना निर्माणबाट हात झिकेको थियो ।
    झापाको दमकदेखि पाँचथरको अमरपुरसम्म ९० किलोमिटरमा १ सय ३२ केभी डबल सर्किट लाइन निर्माण गर्नुपर्नेमा इलामको गोदकसम्म मात्र प्रसारण लाइन बनाइसकिएको छ । गोदकमा रहेको सबस्टेसनमार्फत इलाममा उत्पादित

    विभिन्न आयोजनाको ६३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएको छ ।

    प्रसारण लाइनको अभावमा पाँचथर र ताप्लेजुङमा निर्माण सम्पन्न भएका र निर्माण सम्पन्न हुन लागेका विद्युत् आयोजनालाई राष्ट्रिय प्रसारणमा जडान गर्न समस्या देखिएको छ । प्रसारण लाइनको अभावमा पाँचथरका विद्युत्गृहबाट उत्पादित विद्युत् पुरानै ३३ केभी प्रसारण लाइनमार्फत इलाम सबस्टेशनमा ल्याइएको छ ।

    स्रोत:कान्तिपुर