अबरुद्ध तल्लो मोदीखोलाको निर्माणकार्य सुचारु

    1350

    पर्वत, १३ असोज – स्थानीयको अवरोधका कारण केहीदिन देखि बन्द २० मेघावाट क्षमताको  तल्लो मोदीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सुचारु भएको छ ।
    स्थानीय युवाले रोजगारीको माग गर्दै अघिल्लो मंगलबार कर्मचारीमाथि कुटपिट गरेपछि बन्द भएको निर्माण कार्य सहमति पछि सुचारु भएको हो । प्रभावित क्षेत्रका स्थानीय युवालाई रोजगारीका लागि प्राथमिकता दिनेगरी आयोजना र युवा क्लब बीच सहमति पछि निर्माण कार्य सुचारु भएको आयोजना प्रमुख प्रबीण श्रेष्ठले बताए ।
    निजी क्षेत्रको मनाङ्ग टे«ड लिङ्कले निर्माण गरिरहेको आयोजनामा चुवा गाबिसको आम्बोटमा एडिट नं १ को  सुरुङ्ग निर्माण कार्य भैरहेको छ । अहिलेसम्म करिब २० मिटर सुरुङ्ग खनिएको छ ।
    तिलहार गिज्यान स्थित त्रिशक्ति युवा क्लवका युवाले कर्मचारीलाई कुटपिट गरेपछि असुरक्षाको कारण देखाउँदै निर्माण कार्य बन्द भएको थियो ।
    आयोजनाले एक महिना पहिले देखि  करीब ४ दशमलव ५ किलोमिटर लामो सुरुङ्गलाई चार भागमा बाँडेर खन्ने काम सुरु गरेको छ । अहिले सम्म  मुख्य सुरुङ्गमा पुग्नका लागि सहायक सुरुङ्ग खन्न थालिएको छ ।  दशै पछि भद्रखोला स्थित अडिट नम्बर २ बाट पनि निर्माण कार्य सरु गर्ने आयोजना प्रमुख श्रेष्ठले जानकारी दिए ।
    रनअफ द रिभर प्रणालीमा पर्वतको चुवा, तिलाहार, दुर्लुङ, बाजुङ तथा देउपुर गाविसस्थित यो आयोजना निर्माणकार्य २०७२ साल सम्ममा सम्पन्न गर्ने लक्ष्य छ । करिब ३ अर्ब ६० करोड को लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । २०६८ भदौमा नेपाल विद्युत् प्राधिकरण संग विद्युत् खरिद संझौता गरेको थियो । नेपाल इन्भेष्टमेण्ट बैङक लगायत अन्य ११ ओटा बैङ्कले सो आयोजनामा ऋण लगानी गर्ने प्रतिवद्धता व्यक्त गरिसकेका छन् । आयोजनामा लगानी गर्नेलाई कम्तिमा ८ प्रतिशत प्रतिफल दिइने तथा  १० प्रतिशत शेयर वितरण गर्ने आश्वासन पनि दिएको छ ।

     

    प्रस्तुति: कारोबार