माथिल्लो मस्र्याङ्दीमा लगानी गर्न चाइना एक्जिम सहमत

    2132

    काठमाडौं, ३ असार

    upper marsangdi नेपाली तथा चिनियाँ संयुक्त लगानीमा निर्माण हुन लागेको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजना (५० मेगावाट) निर्माणका लागि चाइना निर्यात आयात (एक्जिम) बैंकले ९ अर्ब रुपैयाँ लगानी गर्न सहमत भएको छ ।
    एक्जिम बैंकले प्रवद्र्धक सिनो हाइड्रो–सगरमाथा पावर कम्पनीलाई स्ट्यान्डर्ड चार्टड बैंकमार्फत कर्जा लगानी गर्ने भएको हो । एक्जिम बैंकले कर्जा दिने सहमति जनाएपछि प्रवद्र्धक सिनो सगरमाथाले स्ट्यान्डर्ड चार्टर्डसंग ऋण वार्ता थालेको छ । आयोजनामा एक्जिम बैंकले कर्जा लगानी गर्न सहमति जनाएको प्रवद्र्धक कम्पनीका एक अधिकारीले बताए । उनका अनुसार स्ट्यान्डर्ड चार्टर्डसंग वार्ता टुंगिएपछि औपचारिक रूपमा कर्जा सम्झौता हुनेछ ।
    आयोजना निर्माण गर्न करिब ११ अर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ । यसमध्ये प्रवद्र्धकले ३० प्रतिशत स्वपुँजी र बैंकले ७० प्रतिशत कर्जा लगानी गर्नेछ । कर्जाको ब्याजदर ७ प्रतिशत हुने उनले बताए ।
    आयोजनामा चीनको सिनो हाइड्रो कर्पोरेसन र नेपाली साझेदार मनकामना केवल कारअन्तर्गतको सगरमाथा पावर कम्पनी छ । आयोजनमा सिनोेको ९० र सगरमाथाको १० प्रतिशत लगानी छ ।
    कम्पनीले स्वपुँजीबाट आयोजनाको विस्तृत अध्ययनका साथै आयोजनास्थलसम्म पुग्न मस्र्याङ्दी नदीमा पुल निर्माण पूरा गरिसकेको ती अधिकारीले बताए । यस्तै पहँुच मागका साथै आवासगृह निर्माण भइरहेको छ । लमजुङमा पर्ने सो आयोजना नदीको बहाव (रन अफ दि रिभर) मा आधारित प्रकृतिको छ ।
    कम्पनीले दुई वर्षअघि नै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) गरिसकेको छ । पीपीएअनुसार २०७३ असोजदेखि व्यापारिक रूपमा विद्युत् उत्पादन गर्ने प्रतिबद्धता कम्पनीको छ । सरकारले ३५ वर्षका लागि विद्युत् उत्पादनको लाइसेन्स दिएको छ, जसअनुसार उसको लाइसेन्स अवधि २१०३ चैत १६ गतेसम्म छ ।
    विद्युत् उत्पादन हुने वर्ष प्रतियुनिट ६.९५ सेन्टमा पीपीए भएको छ । अमेरिकी डलरको विनिमय दर अनुमानित ७८ देखि ८० रुपैयाँ हुँदा पीपीए दर प्रतियुनिट ५ रुपैयाँ ४२ पैसादेखि ५ रुपैयाँ ५६ पैसा हुनेछ । व्यापारिक उत्पादन सुरु भएको १० वर्षसम्म ३ प्रतिशत र त्यसपछि १० प्रतिशत नेपाली रुपैयाँ र बाँकी डलरमा भुक्तानी गर्ने सहमति भएको छ ।
    विदेशी मुद्रामा लगानी आउने भएकाले व्यापारिक उत्पादन सुरु भएको १५ वर्षसम्म विदेशी मुद्रा विनिमय जोखिम प्राधिकरणले बेहोर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै, १५ वर्षपछि ९० प्रतिशत वैदेशिक मुद्रा अंशमा ३९ प्रतिशत जोखिम लगानीकर्ता र बाँकी ६१ प्रतिशत प्राधिकरणले बेहोर्नेछन् ।
    त्यस्तै, सरकारसँग आयोजना विकास सम्झौता (पीडीए)का लागि कम्पनीले ऊर्जा मन्त्रालयलमा आवेदन दिइसकेको छ ।डीपीआरअनुसार आयोजनाबाट वार्षिक ३१ करोड ७६ लाख २० हजार युनिट बिजुली उत्पादन हुनेछ । पुसदेखि चैतसम्म ५६ लाख ९६ हजार र वैशाखदेखि मंसिरसम्म २६ करोड ६ लाख ६० हजार युनिट बिजुली उत्पादन हुनेछ । सिनो हाइड्रोले ४५६ मेगावाटको माथिल्लो तामाकोसीका साथै कुलेखानी तेस्रोको सिभिल निर्माण गरिरहेको छ ।

    प्रस्तुति: कारोबर