चमेलियाको लागत डेढ अर्ब बढाउने तयारी

    2928

    काठमाडौं, २ असार
    Chameliyaविद्युत् प्राधिकरणले निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको लागत थप डेढ अर्ब रुपैयाँ बढाउने तयारी गरेको छ । स्वीकृत लागत १२ अर्ब ६६ करोड रहेकामा त्यसमा १ अर्ब ५७ करोड बढाएर प्राधिकरणले चमेलियाको लागत १४ अर्ब २३ करोड रुपैयाँ पुर्‍याउन
    लागेको हो ।
    आयोजना निर्माण कहिले र कति लागतमा सकिने हो, अझै टुंगो छैन । असार दोस्रो साताभित्र सकिनुपर्ने आयोजना अहिलेसम्म करिब ८८ प्रतिशत मात्रै निर्माण भएको छ ।
    खुम्चिएको सुरुङ (इस्क्विचिङ) निर्माण गर्न १ अर्ब ३० करोड, आयोजना अवधि लम्बिएबापतको रकम (प्रोलोङगेसन कस्ट) २४ करोड ३७ लाख तथा ठेकेदार र आयोजनाबीच सहमतिका आधारमा हुने भुक्तानी विवाद समाधान (एमिकेवल सेटलमेन्ट)का लागि २ करोड ७४ लाख रुपैयाँ थप्न लागिएको छ ।
    आयोजनाका निमित्त प्रमुख राजेन्द्र मानन्धरले लागत बढाउने प्रस्ताव प्राधिकरणमा पेस भइसकेको जानकारी दिए । ‘लागत बढाउने प्रस्ताव प्राधिकरणमा पेस गरिसकेका छौँ, सञ्चालक समितिको बैठक बस्न नसकेकाले स्वीकृत भएको छैन,’ उनले भने ।
    खुम्चिएको सुरुङ निर्माण गर्न ७० करोड लाग्ने बताइए पनि यसको लागत बढाएर १ अर्ब ३० करोड रुपैयाँ पुर्‍याइएको छ । तत्कालीन ऊर्जासचिव एवं प्राधिकरण सञ्चालक समितिका सदस्य हरिराम कोइराला नेतृत्वको उच्चस्तरीय टोलीलाई आयोजनाको परामर्शदाता सञ्जीव साहले खुम्चिएको सुरुङ निर्माण गर्न ७० करोड रुपैयाँ लाग्ने बताएका थिए । टोलीले वैशाख पहिलो साता आयोजनास्थल दार्चुलाको बँलाच निरीक्षण गरी जानकारी
    लिएको थियो ।
    टोलीले लागत र समयका विषयमा पटक–पटक सोधेको जिज्ञासामा साहले भनेका थिए, ‘इस्क्विचिङ हटाउन करिब ७० करोड लाग्ने अनुमान गरिएको छ, तीन सिफ्टमा काम लगाई ३ सय दिनभित्र काम सक्ने ठेकेदारले प्रतिबद्धता जनाएको छ ।’
    साहले त्यतिवेला उल्लेख गरेभन्दा अहिले स्क्विचिङ हटाउन थप ६० करोड रुपैयाँ बढी माग गरिएको छ । ‘स्क्विचिङको लागत अनुमान हचुवाको भरमा प्रस्ताव गरिएको छ,’ आयोजनाका एक कर्मचारीले भने । ८ सय ४३ मिटर सुरुङ स्क्विचिङ भएको छ ।
    स्क्विचिङ हटाउने काम सुरु भइसकेको आयोजना प्रमुख मानन्धरले बताए । ‘दैनिक रूपमा करिब १ मिटर स्क्विचिङ हटाउने काम भइरहेको छ, तीन सय दिनभित्र सकिन्छ,’ उनले भने । सुरुङ खन्नभन्दा स्क्विचिङ हटाउन अप्ठयारो हुने प्राविधिकले बताउँदै आएका छन् ।
    आयोजनाको सिभिल संरचना विद्युत्गृह, बाँध, सुरुङलगायत निर्माणमा सबैभन्दा बढी लागत रहेको छ । डिजाइन परिवर्तन, भौगोलिक अवस्था, गत वर्ष भएको सुदूरपश्चिम बन्द, निर्णय प्रक्रियामा प्राधिकरणबाट भएको ढिलाइ, ठेकेदारको लापरबाही, रकम अभावलगायतका कारणले सिभिल संरचनाको लागत बढेको हो ।
    सिभिल निर्माणको ठेकेदार चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप (सिजिजिसी) हो । २ अर्ब ८८ करोड १३ लाखमा सिभिल ठेक्का–सम्झौता भएकोमा त्यसलाई बढाएर ३ अर्ब ९७ करोड २१ लाख रुपैयाँ पुर्‍याइसकिएको छ ।
    तत्कालीन ऊर्जासचिव कोइरालाको टोलीले ठेकेदारले गरेको थप काम
    (भेरिएसन)बापतको २६ करोड २२ लाख ५४ हजार स्वीकृत गरेको थियो । तर, यसलाई प्राधिकरण सञ्चालक समितिले पारित गरेको छैन । सिभिलतर्फको लागत मात्रै करिब ५ अर्ब पुग्ने अनुमान गरिएको छ ।
    आयोजानको ०६८ वैशाख (९ मे, २०११)मा सक्ने लक्ष्य राखिएको थियो । तोकिएको समयमा निर्माण हुन नसकेपछि सिभिल कार्यको निर्माण असार दोस्रो साता (३० जुन, २०१३)भित्र सक्ने लक्ष्य राखिएको छ । तर, असारमा पनि निर्माण नसकिने देखिएपछि पुन: ०७१ पुसभित्र सक्ने लक्ष्य
    राखिएको छ ।
    सिभिल संरचना निर्माणमा ढिलाइ हुँदा यसको असर हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल तथा प्रसारण लाइन निर्माणमा परेको छ । सिभिलसँग समन्वय गरी काम गर्नुपर्दा इलेक्ट्रोमेकानिकल कार्य ढिलो हुँदा आयोजनाको लागत बढेको हो ।
    आयोजना सन् २०११ को डिसेम्बरमा सकिनुपर्ने भए पनि सिभिल परामर्शदाता तथा ठेकेदार र हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल तथा प्रसारण लाइन निर्माणका परामर्शदाता र ठेकेदार एवं आयोजनाबीच सन् २०१३ को अगस्तमा सक्ने नयाँ सम्झौतामा हस्ताक्षर भएको थियो ।
    आयोजनाको समय थप भएपछि ठेकेदारले ‘प्रोलोङगेसन कस्ट’ मागेको छ । कोरियन एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल तथा प्रसारण लाइन निर्माण भइरहेको छ । निर्माणमा ढिलाइ भएका कारण बढेको थप लागत बैंकले दिन अहिलेसम्म सहमति जनाएको छैन । यसबाट रकम अभावका कारण आयोजनाको काम अगाडि बढ्न
    सकेको छैन ।
    आयोजनाको सिभिल कार्यअन्तर्गत मुख्य सुरुङबाट पावरहाउसमा पानी खसाल्न निर्माण गरिने ‘भर्टिकल सफ्ट’ खन्ने क्रममा ठूलो भ्वाङ परेपछि डिजाइन परिवर्तन गरिएको थियो । ‘भर्टिकल सफ्ट’ निर्माणका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । निर्माणमा भएको लापरबाहीलाई ‘भवितव्य’ मान्न नसकिने भन्दै एक्जिम बैंकले थप लागत दिन मानेको छैन । हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल तथा प्रसारण लाइन निर्माण चैत ०७१ भित्र सक्ने नयाँ तालिका तय
    गरिएको छ ।
    चालू आर्थिक वर्षको स्वीकृत बजेटमा ८० करोड ८० लाख थप बजेट तथा कार्यक्रम स्वीकृतिका लागि आयोजनाले प्राधिकरणमा पेस गरेको छ । आयोजनाको चालू आवको स्वीकृत बजेट स्वदेशीतर्फ १ अर्ब ५२ करोड ७४ लाख २० हजार र वैदेशिकतर्फ ७० करोड गरी २ अर्ब २२ करोड ७४ लाख २० हजार थियो । थप माग गरिएको बजेटमध्ये प्राधिकरणतर्फको ६० करोड ६० लाख र नेपाल सरकारतर्फको २० करोड २० लाख रुपैयाँ भएको आयोजनाले जानकारी दिएको छ ।

     

    प्रस्तुति: सचेन गौतम/नयाँ पत्रिका