जलविद्युतमा एनआरएन लगानी : यूएईबाट १० करोड

    1303

    काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहेका नेपालीहरूले नेपालको जलविद्युत्मा रू. १० करोड लगानी गर्ने भएका छन् । उनीहरूले ओभरसिज नेप्लिज इन्भेष्टमेण्ट कम्पनी लिमिटेड स्थापना गरी सोहीमार्फत आआफ्नो बचत एकमुष्ट गरी लगानी गर्ने भएका हुन् ।

    गोरक्ष हाइड्रोपावर प्रालिमार्फत धादिङ जिल्लाको उत्तरी भेगमा निर्माण हुन लागेको सुपर आँखुखोला जलविद्युत् आयोजनामा उक्त लगानी गर्न लागिएको हालै यूएईमा सम्पन्न कम्पनीको प्रथम साधारणसभामा बताइएको छ । २५ दशमलव ४ मेगावाटको सो आयोजना करीब रू. ४ अर्ब ४४ करोडको लगानीमा बन्न लागेको हो ।

    आयोजनामा ७० प्रतिशत बैङ्कको र ३० प्रतिशत सञ्चालकहरूको लगानी रहनेछ । यसमा सञ्चालकहरूबाट हुने लगानी रू. १ अर्ब ३७ करोडमध्ये रू. १० करोड यूएईस्थित नेपालीको रहनेछ ।

    मुलुकको आर्थिक समृद्धिका लागि ऊर्जामा आत्मनिर्भरता आवश्यक भएकाले ऊर्जा उत्पादनमा लगानी गर्न लागिएको कम्पनीका प्रवन्ध निर्देशक लीलानाथ (श्याम) कँडेलले जानकारी दिए ।

    विशेषतः जलविद्युत्का साथै अन्य ऊर्जा उत्पादनमा लगानी गर्ने उद्देश्यका साथ कम्पनीको स्थापना भएको हो ।

    कम्पनीले जलविद्युत् उत्पादन, विकास र विस्तार सम्बन्धी आयोजनाहरूमा लगानी गर्ने तथा वैकल्पिक ऊर्जाको विकास, विस्तार तथा प्रवर्द्धनमा जोड दिने बताएको छ । यसका लागि कम्पनीले आफ्नो शेयरहरू विक्री गरी कम्पनीको शेयर पूँजीको आधारमा अन्य कम्पनी, आयोजना तथा संयुक्त पूँजी लगानी (इन्भेष्टमेण्ट अफ म्युचुअल फण्ड)को अवधारणाअन्तर्गत संयुक्त लगानी गर्ने÷गराउने पनि योजना बनाएको छ ।

    नेपालमा ऊर्जा विकासका निमित्त निर्माण हुने जलविद्युत् तथा अन्य वैकल्पिक ऊर्जा आयोजनाहरूलाई आवश्यक परामर्श, पूँजी व्यवस्थापन र प्रवर्द्धनसम्बन्धी कार्य पनि कम्पनीले आफ्नो योजनामा समेटेको छ ।

    ऊर्जाको विकासमा लगानी सबैभन्दा महत्त्वपूर्ण प्रश्न बनिरहेको सन्दर्भमा कम्पनीले सम्भावित लगानीकर्ता, व्यक्ति, कम्पनी र बैङ्कहरूमार्फत समन्वयन गरी आयोजनाका निमित्त आवश्यक पूँजी व्यवस्थापन गर्ने बताएको छ ।

    यसमा स्वदेशी तथा विदेशी लगानीकर्ताबाट विधिवत रूपमा लगानी भित्र्याई त्यस्ता आयोजनाहरूको विकास, सञ्चालन र प्रवर्द्धन गर्नेलगायत समयानुकूल अन्य क्षेत्रमा पनि लगानी गर्दै जाने उद्देश्यसहित कम्पनी स्थापना गरेको प्रबन्ध निर्देशक कँडेलले जानकारी दिए ।

    प्रथम साधारणसभा यूएईमा
    कम्पनी स्थापना भएको १ साल पूरा भएको उपलक्ष्यमा ओभरसिज नेप्लिज इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको प्रथम साधारणसभा यूएईको दुबईमा गत शुक्रवार सम्पन्न भएको छ । साधारणसभाले एलपी साँवा लिम्बूको अध्यक्षतामा २ वर्षका लागि सञ्चालक समिति गठन गरेको छ । सभाले कम्पनीको प्रबन्ध निर्देशकमा लीलानाथ (श्याम) कँडेल र अर्थ निर्देशकमा नारायण अधिकारीलाई चयन गरेको छ । त्यस्तै जनसम्पर्क निर्देशकमा टकबहादुर गुरुङ, वीरेन्द्र नकर्मी, भेषराज ढकाल र भीमनारायण श्रेष्ठ चयन भएका छन् ।

    पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको उपस्थितिमा सम्पन्न साधारणसभामा यूएईका लागि नेपालका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डनका साथै गोरक्ष हाइड्रोपावरका प्रबन्ध सञ्चालक विश्वनाथ कँडेल, कविता पोखरेल, कम्पनीका सञ्चालक समितिका सदस्यहरू र शेयर होल्डर सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा पूर्वअर्थमन्त्री पाण्डेले अब नेपालका सबै राजनीतिक दलको एक मात्र एजेण्डा आर्थिक समृद्धि भएकाले नेपालको विकासले गति लिने बताए । नेपालमा लगानी गर्न चाहने युवाहरूसँग यूएईको शारजहाँमा भएको अन्तरक्रियामा पाण्डेले वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूबाट पनि नेपालमा ठूलो लगानी हुने सम्भावना रहेको उल्लेख गरे । ‘२०५१ पछि मात्र विभिन्न मुलुकबाट ४० खर्ब रुपैयाँ विप्रेषण भित्रिएको छ,’ उनले भने, ‘प्रवासमा रहेका नेपालीको आर्थिक लगानीका साथै शीप, अनुभव र योजनासमेत मुलुकको समृद्धिका लागि हरेक क्षेत्रबाट भिœयाउन आवश्यक रहेको छ ।’

    स्रोत:अभियान