इन्जिनियरको न्युनतम पारिश्रमिक तोकिने

    1338

    काठमाडौं– सरकारले इन्जिनियरको न्युनतम पारिश्रमिक तोक्ने भएको छ। प्रधानमन्त्री केपीशर्मा ओलीले इन्जिनियरको न्युनतम पारिश्रमिक तोक्न सरकार तयार रहेको बताएका छन्।

    सेवा सुविधा वृद्धि तथा खोसिएको भत्ता पूर्ववत् कायम हुनुपर्ने लगायत ७ बुँदे मागसहितको नेपाल प्रगतिशील इन्जिनियर एशोसिएसनको ज्ञापन बुझ्दै प्रधानमन्त्री ओलीले इन्जिनियरको पेशागत सुरक्षा र न्युनतम पारिश्रमिक निर्धारण गर्न सरकार तयार रहेको बताएका हुन्। सरकारले यसअघि पत्रकार र श्रमिककाे न्युनतम पारिश्रमिक ताेकिसकेकाे जानकारी गराउँदै उनले भने, ‘तपाईंहरुको पेशागत सुरक्षा र न्यूनतम पारिश्रमिक निर्धारण गर्न सरकार तयार छ।’

    शनिवार अध्यक्ष शम्भुबहादुर श्रेष्ठको नेतृत्वमा प्रगतिशील इन्जिनियर एशोसिएसनका पदाधिकारीले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ७ बुँदे ज्ञापनपत्र बुझाएका थिए। त्यसक्रममा ओलीले इन्जिनियरका जायज माग पुरा गर्न सरकार सकारात्मक रहेको बताए।

    प्रधानमन्त्री ओलीले देश निर्माणका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने भन्दै इन्जिनियर पेशालाई मर्यादित बनाएर यसको विश्वसनीयता बढाउनु पर्नेमा जोड दिए। राष्ट्रिय आकांक्षालाई वर्तमान सरकारले समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यको रुपमा अघि बढाएको उनको भनाइ छ। ‘समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्नका लागि सुशासन र विकास पहिलो सर्त हो’, ओलीले भने, ‘यसमा सरकार प्रतिबद्ध छ। सरकारको यस अभियानमा इन्जिनियरहरुको साथ सहयोग जरुरी छ।’

    वर्तमान सरकार जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गर्न प्रतिवद्ध रहेको उनको भनाइ छ। ‘सरकारले जनताले दिएको अभिमतलाई सम्मान गर्दै उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरी काम गरिरहेको छ’, उनले भने, ‘केही मानिसहरुले विरोध गरेका छन्। त्यसलाई हामी कामबाट जवाफ दिन्छौं।’

    प्रगतिशील इन्जिनियर एशोसिएसनका केन्द्रीय सदस्य सञ्जीव रोकाहाले इन्जिनियरको समस्या समाधान गरी द्रुत गतिमा काम गर्ने वातावरण सिर्जना गर्नका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए। ‘प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपाली बनाउने भन्नुभएको छ, त्यसलाई पूरा गर्न इन्जिनियरको महत्वपूर्ण भूमिका रहन्छ। तर इन्जिनियर नै समस्यामा रहिरह्यो भने कसरी काम गर्छ? कसरी प्रधानमन्त्रीको सपना पूरा हुन्छ। यही कुरा स्मरण गराउन हामीले प्रधानमन्त्रीलाई भेटेका हौं’, उनले भने, ‘सकारात्मक जवाफ आएको छ, हामी उत्साहित छौं।’

    स्रोत:नागरिक