गण्डकी प्रदेशमा २९ जलविद्युत् निर्माणाधीन

    2122

    पोखरा — गण्डकी प्रदेश विद्युत् विकासको इतिहास त्यति लामो छैन । ०२४ मा पहिलोपटक फेवातालको पानीबाट एक किलोबाट क्षमताको फेवा जलविद्युत् योजना बनेको थियो ।

    उज्यालोमा बस्न पाइने भन्दै खुसीयाली मनाए पनि कतिपय पोखरेलीले आगलागी हुने डरले खरको छाना भएको घरमा विद्युतीकरण गरेनन् । अहिले भने बिजुलीबिना कुनै काम गर्न सकिने अवस्था छैन ।

    झुप्रादेखि महलसम्म र उद्योगधन्दालगायत सबै काममा विद्युत् अनिवार्य भइसकेको छ । पाँच दशकअघि सुरु जलविद्युत् यात्रा क्रममा अहिलेसम्म गण्डकी प्रदेशमा २३ योजना बनिसकेका छन् ।

    गण्डकी प्रदेशको नीति तथा योजना आयोगले तयार पारेको स्थितिपत्रअनुसार ६६४ मेगावाटका २९ जलविद्युत् आयोजना निर्माणाधीन छन् । यसमा सबैभन्दा बढी लमजुङमा छन् । त्यसपछि म्याग्दी, पर्वत, तनहुँ जिल्ला पर्छन् ।

    तनहुँ जलविद्युत् आयोजना (१४४ मेगावाट), लमजुङमा सुपर दोर्दी (ख) (४९.५ मेगावाट), ङयादी (३०), दोर्दी, (२७), माथिल्लो दोर्दी (२५), म्याग्दीमा राहुघाट (४०), दरबाङ (२५), पर्वतमा तल्लो मोदी (२० मेगावाट), कास्कीमा ४४ मेगावाटको सुपरमादीलगायत योजना निर्माणाधीन रहेको आयोगले जनाएको छ ।

    आयोग उपाध्यक्ष गिरीधारी शर्मा पौडेलका अनुसार प्रदेशमा सरकारी स्तरमा बनेका ६ जलविद्युत् आयोजनाबाट २९९.५ मेगावाट र निजी क्षेत्रका १७ योजनाबाट १४९ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । हाल सञ्चालितमध्ये ठूलो कालीगण्डकी ‘ए’ १४४ मेगावाट स्याङजामा छ । ७० मेगावाटको मध्यमस्र्याङदी (लमजुङ) र ६९ मेगावाटको मस्र्याङदी (तनहुँ) पनि छन् ।

    स्थितिपत्रका अनुसार प्रदेशभित्र जलविद्युत् आयोजनाबाट २० हजार ६ सय ५० मेगवाट विद्युत् उत्पादन गर्ने सैद्धान्तिक क्षमता रहेको छ । आर्थिक र प्राविधिक हिसाबले भने ११ हजार ९ सय ३० मेगावाट क्षमताको विद्युत् उत्पादन गर्न सकिने पौडेलले बताए । हाल ४ हजार ५ सय मेगावाट विद्युता लागि विभिन्न आयोजनाको अध्ययन भइरहेको छ ।

    प्रदेशमा उत्पादित विद्युत् देशभरबाट उत्पादन भएकोमध्ये चानचुन ५० प्रतिशत हो । जलविद्युतबाट प्रदेशका ८३ प्रतिशत घरमा उज्यालो पुगेको पौडेल बताउँछन् । २०६८ को जनगणनाअनुसार प्रदेशमा ५ लाख ७७ हजार ६ सय ८२ घर छन् । झन्डै २५ लाख जनसंख्या प्रदेशमा छ ।

    प्रदेशभित्रका कालीगण्डकी, बूढीगण्डकी, सेती, मादी, मोदी, उत्तरगंगा, मस्र्याङ्दीलगायत नदी र खोला छन् । त्रिशूली र नारायणीको केही खण्ड पनि यही प्रदेशमा पर्छ । विद्युत् विभागसँग भएको विद्युत् खरिद बिक्री सम्झौता (पीपीए), ऊर्जा मन्त्रालयद्वारा जारी श्वेतपत्रलगायतको अध्ययनबाट जलविद्युत्अन्तर्गत प्रदेशको स्थितिपत्र तयार पारिएको उपाध्यक्ष पौडेलले बताए ।


    लघु जलविद्युत्बाट ६.६ मेगावाट

    लघु जलविद्युतबाट पनि प्रदेशमा ६.६ मेगावाट विद्युत् उत्पादन भएको स्थितिपत्रले जनाएको छ । यसमा बाग्लुङबाट मात्रै ३.२ मेगावाटको योगदान छ ।

    कुनै बेला झोलुंगेपुलको जिल्लाले चिनिने बाग्लुङ पछिल्लो समय लघु जलविद्युत् आयोजनाको जिल्लाले परिचित छ । गोरखामा पनि १ मेगावाट विद्युत् लघु जलविद्युत्बाट निकालिएको छ । यस्तै सौर्य ऊर्जाबाट १.४ मेगावाट विद्युत् उत्पादन गरी विद्युतीकरण गरिएको छ । स्थितिपत्र छिट्टै सार्वजनिक हुने पौडेलले बताए ।
    स्रोत:कान्तिपुर