जलासय र अर्धजलासय आयोजनाको बिजुली खरिददर निर्धारण, प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्म

    1793

    काठमाडौं । सरकारले जलासय र अर्धजलासय जलविद्युत आयोजनाको बिजुली खरिददर (पीपीए) तयार पारेको छ ।
    ऊर्जा मन्त्रालयले जलासय आयोजनाको प्रकृति हेरेर सबैभन्दा बढी प्रतियुनिट १२ रुपैयाँ ४० पैसासम्म पीपीए दर तोकेको छ । ऊर्जा मन्त्रालयले भने तोकिएको दर सार्वजनिक गरेको छैन ।

    सरकारले सोमबार सार्वजनिक गर्ने तयारी गरेको उर्जा मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका सहसचिव चिरन्जीवि चटौतको संयोजकत्वमा गठन भएको समितिले जलासययुक्त आयोजनालाई मंसिर १५ देखि जेठ १६ सम्मका लागि प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र जेठ १६ देखि मंसिर १५ सम्मका लागि प्रतियुनिट ७ रुपैयाँ १० पैसा निधारण गरेको छ ।

    समितिले ६÷६ महिनाका लागि आधार मानेर जलासयको बिजुली खरिदबिक्रीदर तोकेको छ । मंसिर १५ देखि जेठ १६ सम्म ६ महिनालाई सुख्खायामा बढी पीपीए दर तय गरिएको छ ।

    यस्तै जेठ १६ देखि मंसिर १५ सम्मलाई वर्षाद मानेर कम दर तय गरिएको छ । समितिले अर्धजलासय  आयोजनाको पिकिङ ऊर्जाको मूल्य पनि तोकेको छ । जसअनुसार मंसिर १५ देखि जेठ १६ सम्म प्रतियुनिट १० रुपैयाँ ५५ पैसा र जेठ १६ देखि मंसिर १५ सम्मका लागि प्रतियुनिट ४ रुपैयाँ ८० पैसा तोकिएको छ ।

    नेपाल विद्युत प्राधिकरणले १ सय मेगावाट क्षमतासम्मका नदीका वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिका जलविद्युत आयोजनालाई हिउँदको ४ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षादको ८ महिना प्रतियुनिट ४ रुपैयाँ ८० पैसा तोकेर सोही अनुसार प्रवद्र्धकसँग पीपीए गर्दै आएको छ ।

    नेपालमा पर्याप्त जलासययुक्त आयोजनाको सम्भावना भए पनि  पीपीए दर नहुँदा लगानी आउन सकेको थिएन् । विदेशी लगानीमा बन्न लागेका पश्चिमसेती लगायत बुढीगण्डकी, नलसिंहगाड जस्ता ठुला जलासय आयोजनाका लागि पीपीए दर नहुँदा अन्यौलता थियो । नयाँ पीपीए दरले लगानीका लागि आधार तयार गरेको छ ।

    आवश्यक्ता अनुसार बिजुली किन्ने (टेक एन्ड पे ) नीति खारेज हुने 

    ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत विकास विरोधी मानिएको ‘टेक एन्ड पे’ पीपीए नीति सोमबारदेखि खारेज हुने बताएका छन् । नेपाल हाइड्रोपावर एसोसियसनको १७ आैं वार्षिक साधारणसभाको उदघाटनलाई सम्बोधन गर्दै ‘टेक एन्ड पे’ पीपीए नीतिले जलविद्युत विकास विरोधी भएको भन्दै उनले खारेज गर्ने जानकारी दिएका हुन् ।

    “केही वर्षपछि बढी बिजुली हुने भन्दै यस्तो पीपीए नीति ल्याइएको रहेछ,” उनले “भने बढी बिजुली हुन्छ भनेर ल्याइएको विकास विरोधी नीति अब खारेज हुन्छ । १० हजार मेगावाट उत्पादन गरे आजै खपत हुने बनाउँदै उनले विक्रिका कुरा गरेर उत्पादनमा बन्देज लगाउने काम कसैले नगरौं । टेक एन्ड पेले उत्पादन बन्द गरेको र यो नीति राष्ट्र हितमा छैन । यसलाई सच्याउनुपर्छ ।” उनले अमेरिकी डलरमा पीपीए गर्ने पनि जानकारी दिए ।

    स्रोत:  बाह्रखरी