सडक सौर्य बत्तीका लागि ५ अर्ब रुपैयाँ माग

    995

    काठमाडौंः विभिन्न नगरपालिकाले सडक सौर्य बत्ती जडानका लागि करिब ५ अर्ब रुपैयाँ माग गरेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले चालू आर्थिक वर्ष ०७३/७४ मा विनियोजन गरेको ५० करोड रुपैयाँ वितरणका लागि निवेदन माग गर्दा ४ अर्ब ९६ करोड रुपैयाँको माग भएको हो ।

    मन्त्रालयले गत वर्षबाट सुरु गरेको यो कार्यक्रमको प्रभावकारिता वृद्धि हुँदै गए पनि गत वर्षभन्दा कम बजेट विनियोजन गर्दा माग सम्बोधन गर्न सक्ने अवस्था छैन । गत वर्ष यो कार्यक्रमका लागि मन्त्रालयले एक अर्ब रुपैयाँ वितरण गरेको थियो ।

    स्थानीय स्वायत्त शासन ऐन, २०५५ अनुसार सहर उज्यालो बनाउने दायित्व नगरपालिकाको भएकाले त्यहीअनुसार मन्त्रालयले गत वर्षबाट लागत जनसहभागितामा आधारित भई सडक सौर्य बत्ती जडान कार्यक्रम ल्याएको शाखाका उपसचिव नरहरि भण्डारीले बताए ।

    सरकारले यो कार्यक्रम ल्याउनु अघि नै केही सक्षम नगरपालिकाले सडकमा सौर्य बत्ती राखे पनि उल्लेख्य भने नरहेको उनले बताए । सडक सौर्य बत्तीका लागि ६५ प्रतिशत अनुदान, नगरपालिकाले २० प्रतिशत र उपभोक्ताले १५ प्रतिशत लगानी गर्छन् ।

    जनसहभागितामा गरिने कार्यक्रममा विनियोजित रकमभन्दा बढी माग आएपछि के गर्ने भन्ने योजना बनाइएको छैन । मन्त्रालयसँग विद्यमान नगरपालिकामा कति सडक बत्ती चाहिन्छ भन्ने योजना पनि छैन । यसबारे अध्ययन नगरिएको भण्डारी बताउँछन् । “केही नगरपालिकाले स्थानीयले पनि रकम लगानी गर्ने प्रावधान भएकाले आवश्यकता हुँदाहुँदै पनि माग गरेनन्,” उनले भने ।

    पछिल्लो समय बनेका नगरहरू पूर्वाधारमा कमजोर रहे पनि उनीहरूले नै सडक बत्तीको लागि निवेदन नदिएको पाइएको छ । मुख्य सहरी क्षेत्र बाहिरका त्यस्ता नगरपालिकाहरू यो कार्यक्रमबाट लाभान्वित हुन सकेका छैनन् ।

    “नगरपालिकाले बुझाउने विद्युत् महसुल कमी हुनेछ,” भण्डारीले भने, “यस्तै सहर पनि उज्याला हुन्छन् ।” नगरपालिकाले सडक बत्तीवापत वार्षिक २ अर्ब रुपैयाँ महसुल तिर्ने गरेका छन् । सौर्य बत्ती जडानले विद्युत् भार व्यवस्थापन गर्न पनि सहयोग पुग्ने छ ।

    मन्त्रालयले नगरपालिकालाई पहिलो चरणमा ४७ करोड ७२ लाख ५३ हजार रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । ४५ हजार ३०८ वटा सडक बत्ती जडान गर्न अनुदान दिन लागिएको नगरपालिका शाखाले जनाएको छ । यी बत्तीले सुविधा प्रदान गरेपछि विद्युत् प्राधिकरणका ५० हजार बत्ती विस्थापित हुनेछन् भने एक हजार एक सय किलोमिटर दुरीमा उज्यालो पुग्नेछ ।

    यसले रात्रीकालीन समयमा पैदल तथा सवारी साधनलाई सहयोग पुग्ने अपेक्षा राखिएको छ । यस्तै सुरक्षा व्यवस्थापनमा समेत सौर्य सडक बत्तीले सहयोग पु¥याउनेछ । मन्त्रालयले मापदण्ड बमोजिम सौर्य बत्ती जडान गरिने जनाएको छ ।

    स्रोत:कारोबार  दैनिक