लाङटाङ रसुवा हाइड्रोपावर डलरमा पिपिए हुँदै : डलरमा गरिएको पिपिए अधिकतम १० वर्षसम्म लागू हुने

    1711

    नेपाल विद्युत् प्राधिकरणले चार वर्षपछि अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता (पिपिए) गर्ने भएको छ । प्राधिकरणले १ सय २० मेगावाटको लाङटाङ रसुवागढी जलविद्युत् आयोजनामा नयाँ विद्युत् खरिद–बिक्री निर्देशिकाअनुसार अमेरिकी डलरमा पिपिए स्वीकृत भएको हो । ‘नयाँ निर्देशिकाअनुसार प्राधिकरणले लाङटाङ रसुवागढीसँग डलरमा पिपिए गर्ने स्वीकृति दिएको छ,’ प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले भने, ‘अधिकतम १० वर्षसम्म डलरमा गरिएको पिपिए लागू हुनेछ र सो अवधिभन्दा पछि नेपाली रुपैयाँमा नै पुनः पिपिए हुनेछ ।’

    पछिल्लोपटक प्राधिकरणले ३७.६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनासँग डलर पिपिए गरेको थियो । अब विदेशी लगानीमा निर्माण हुने आयोजनाहरूले अधिकतम १० वर्षसम्मका लागि डलरमा पिपिए गर्न सक्नेछन् । रसुवा भोटेकोसी जलविद्युत् आयोजनाले निर्माण गर्न लागेको यो आयोजना डलरमा पिपिए भएपछि अब जलविद्युत्मा थप विदेशी लगानी भित्रिने प्राधिकरणको ठहर छ ।
    आयोजना निर्माण गर्ने कम्पनीले १० वर्षभन्दा अघि नै विदेशबाट ल्याएको कर्जा भुक्तानी भइसकेको अवस्थामा यो अवधिलाई कम गर्न सकिने अधिकारीले बताए । प्राधिकरणले नमुना आयोजनाका रूपमा हेरेको आयोजनाको डलरमा पिपिएको अवधि १० वर्षसम्म हुने भएका कारण बाँकी २० वर्ष नेपाली रकममा भुक्तानी हुने बताए ।

    रसुवामा निर्माण हुने यो आयोजनाका लागि कम्पनीले ७५ प्रतिशत विदेशी लगानी भिœयाउने र बाँकी २५ प्रतिशत स्वदेशी लगानी गर्ने जनाएको छ । कम्पनीले प्राधिकरणसँगको छलफलमा ८५ प्रतिशत विदेशी लगानी र बाँकी १५ प्रतिशत स्वदेशी लगानी गर्ने प्रस्ताव गरेको थियो । तर, प्राधिकरणले भविष्यमा पिपिए हुने आयोजनालाई समस्या पर्ने भन्दै ७५ प्रतिशतभन्दा धेरै नहुने बताएपछि सहमति भएको हो ।

    यसअघि प्राधिकरणले ५० मेगावाटको अपर मस्र्याङ्दी, ८२ मेगावाटको लोअर सोलु (सुपर सिक्स) र ३७.६ मेगावाटको काबेली ए जलविद्युत् आयोजनासँग डलर पिपिए गरेको थियो । प्राधिकरणले प्रवद्र्धक कम्पनीलाई १२ करोड पर्फर्मेन्स बैंक ग्यारेन्टी राखेर डलरमा पिपिए गर्न आइतबार पत्रसमेत काटिसकेको छ । कम्पनीले यो रकम दाखिला गरेपछि पिपिए हुने अधिकारीले बताए ।

    १० वर्षसम्म पिपिए गरेकै दिनको डलर एक्सचेन्ज लागू हुने

    नयाँ विद्युत् खरिद निर्देशिकाअनुसार डलरमा पिपिए भए पनि हाल चालू रहेको दरमा पिपिए हुनेछ । जसअनुसार वर्षा सिजनमा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा प्राधिकरणले विद्युत् खरिद गर्नेछ ।

    त्यस्तै प्राधिकरणसँग हुने विद्युत् खरिद सम्झौताअनुसार १० वर्षसम्म प्रवद्र्धकले प्राधिकरणसँग डलरमा पिपिए गरेकै दिनको सटही दरअनुसार हुनेछ । उदाहरणका लागि आज प्रवद्र्धक र प्राधिकरणसँग अमेरिकी डलर १०२ मा पिपए भएको छ भने १० वर्ष पछिसम्म यही दर लागू हुनेछ ।
    यसअघि गत वर्ष फागुन १८ गते सरकारले यो आयोजनाका लागि पुँजी वृद्धिको प्रस्तावलाई स्वीकृत गर्ने निर्णय गरेको थियो ।

    लगानी सम्मेलनको अघिल्लो दिन रसुवामा रहेको लाङटाङ भोटेकोसी हाइड्रोपावर कम्पनीको पुँजी वृद्धि पनि स्वीकृत भएको हो । कम्पनीले प्रस्ताव गरेको १७ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ पुँजी वृद्धिका लागि औद्योगिक लगानी तथा प्रवद्र्धन बोर्डको बैठकले स्वीकृत गरेको थियो ।

    यसअघि लाङटाङ भोटेकोसीको पुँजी २ अर्ब ३० करोड रुपैयाँ रहेको थियो । अब यो कम्पनी २० अर्ब ३८ करोड रुपैयाँबराबरको भएको छ । त्यस्तै थप पुँजी वृद्धि स्वीकृत भएसँगै कम्पनीले आफ्नो क्षमता पनि वृद्धि गर्न राखेको प्रस्ताव पनि बोर्डले स्वीकृत गरेको थियो । कम्पनीले २२ दशमलव ५ मेगावाटका विद्युत् थप गर्नका लागि प्रस्ताव पेस गरेको थियो । सुरुमा ९७ दशमलव ५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको कम्पनीले पुँजी वृद्धि र क्षमता वृद्धि भएसँगै कुल १ सय २० मेगावाट बिजुली उत्पादन गर्नेछ ।

    स्रोत : नयाँ पत्रिका