तीन हजार घरधुरीमा चौबिसै घण्टा बिजुली

    1770

    प्यूठान जिल्लामा झन्डै ६० प्रतिशत जनताको घरधुरीमा चौबिसै घन्टा बिजुली पुगेको छ।

    लोडसेडिङमुक्त जिल्लामा सिस्टममा आउने खराबीबाहेक सबै उपभोक्ताले चौबिसै घण्टा बिजुली सुविधा पाएका छन्। नेपाल विद्युत् प्राधिकरण र झिमरुक जलविद्युत् आयोजना (बुटवल पावर कम्पनी) ले चौबिसै घण्टा विद्युत् आपूर्ति गरेका हुन्।

    स्थानीयको मागअनुसार प्यूठानमा लोडसेडिङको तालिका बनाइएको छैन।
    क्षेत्र नं १ का २४ गाविस सबैमा बिजुली पुगेको छ। क्षेत्र न २ अन्तर्गत अर्खा, डाम्री, खबाङ, खुङ, लिबाङ, पूजा, रजबारा र स्याउलीबाङबाहेक सबै गाविसमा बिजुली पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। यी गाविसमध्ये डाम्री र खुङमा यसै महिना विद्युत् सेवा पुर्‍याउने गरी काम भइहेको प्राधिकरणका वितरण प्रमुख कृष्णहरि दाहालले बताए। स्याउलिबाङ, अर्खा, रजवारामा लघु जलविद्युत् निकाली स्थानीयले बत्ती बालेका छन्।
    जिल्लाका झन्डै तीन हजार घरधुरीमा विद्युत् पुगेको छ। यसै आवभित्रै दुई हजार नयाँ ग्राहक थपिने कार्यालयले जनाएको छ।

    जिल्लाका सबै ४७ हजार ७ सय १६ घरमा बिजुली पुर्‍याउन ३५ करोड रुपैयाँ आवश्यक पर्ने वितरण केन्द्र प्रमुख दाहालले बताए। झिमरुक जलविद्युतबाट १२ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ। यो विद्युत् दाङको लमहीबाट राष्ट्रिय ग्रिडमा जोडिएको छ।

    झिमरुकमा उत्पादन भएको विद्युत प्यूठानसहित छिमेकी जिल्ला रोल्पा र अर्घाखाँचीमा वितरण भएको झिमरुक जलविद्युत् केन्द्र दारिमचौरका वितरण प्रमुख श्याम थापाले बताए। प्यूठानमा पिक आवरको समयमा झन्डै ४ मेगावाट विद्युत् खपत हुने उनले जानकारी गराए। ‘तीन जिल्लामा सब–स्टेसन नहुँदा टिप जाने समस्या हुने गरेको हो,’ थापाले भने, ‘प्राधिकरणले दम्तीमा सब–स्टेसन निर्माण थालेको छ।

    स्रोत : कान्तिपुर