गुणस्तरहीन ट्रान्सफर्मर आयात प्रकरण – चीन र थाइल्यान्डका कम्पनीसँग कारोबार रोक्का

    2585

    काठमाडौं, १९ भदौ – विद्युत् प्राधिकरणलाई ट्रान्सफर्मर आपूर्ति गर्दै आएका चीन र थाइल्यान्डका पाँच कम्पनीसँगको कारोबार रोक्का गरिएको छ । ती कम्पनीले निर्माण गरेका सबै ट्रान्सफर्मर गुणस्तरहीन भएको पत्ता लागेपछि प्राधिकरण सञ्चालक समितिले उनीहरूसँग कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
    अब सहवन्त इलेक्ट्रिक कम्पनी लिमिटेड (थाइल्यान्ड), सेनयाङ डोङजेङ इलेक्ट्रिसिटी इक्युपमेन्ट कम्पनी लिमिटेड (चीन), एसभीआर इलेक्ट्रिकल प्रालि (चीन), हुवेई सनलाइट इलेक्ट्रिक कम्पनी लिमिटेड (चीन) र निङ्बो एयूएक्स हाइटेक्नोलोजी कम्पनी लिमिटेड (चीन)सँग टान्सफर्मर खरिद बन्द हुनेछ ।
    ट्रान्सफर्मर आयातमा दोषी देखिएका कर्मचारीलाई निलम्बन गर्न कामु कार्यकारी निर्देशक महेन्द्रलाल श्रेष्ठलाई निर्देशन दिइएको छ । ट्रान्सफर्मर निरीक्षणमा जाने कर्मचारी पहिलो कारबाहीमा पर्ने देखिएको छ । निरीक्षणमा केही बहालवाला र अवकाशप्राप्त महाप्रबन्धकसमेत गएकाले उनीहरू सबै कारबाहीको दायरामा आउने भएका छन् । गुणस्तरहीन ट्रान्सफर्मर आयात प्रकरणमा नयाँ तथा पुराना महाप्रबन्धकको संलग्नता देखिइसकेको छ ।
    सञ्चालक मोहन पन्तको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन आएपछि कार्यकारी निर्देशकले कारबाही अघि बढाउने वा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाउने विषयमा निर्णय लिनेछन् । समितिले चार दिनभित्र कारबाहीमा पर्ने कर्मचारीको नामसमेत किटान गरेर प्रतिवेदन बुझाउँदैछ । अख्तियारले एक–दुई दिनभित्र ट्रान्सफर्मर खरिदको फाइल तान्ने तयारी गरेको छ ।
    यसअघि सञ्चालक डा. कृष्णप्रसाद दुलालको संयोजकत्वमा गठित उपसमितिले सहवन्तको ट्रान्सफर्मरलाई ‘स्ट्रङ्ली रिजेक्टेड’ भनी प्रतिवेदन तयार गरेको छ । त्यस्तै, सेनयाङ, एसभीआर, हुवेई र निङ्बोका ट्रान्सफर्मरलाई ‘अस्वीकार’ भनिएको छ । यी पाँच कम्पनीबाट २०६३ देखि विभिन्न क्षमताका साढे ६ हजार ट्रान्सफर्मर खरिद गरिएको प्रतिवेदनमा उल्लेख छ ।
    सिन्धुपाल्चोक र अन्य वितरण केन्द्रका सातवटा ट्रान्सफर्मर लैनचौरस्थित आफ्नो वर्कसपमा परीक्षण गर्दा सबैमा तामाको तारको सट्टा आल्मुनियम भेटिएपछि चीनको हुवेई सनलाइट इलेक्ट्रिक कम्पनीका ट्रान्सफर्मर नक्कली भएको पत्ता लागेको छ ।
    ती ट्रान्सफर्मरमा गम्भीर समस्या रहेको र चुहावट मापदण्डभन्दा तीन गुणा बढी भएको भन्दै उपसमितिले अधिकांश ट्रान्सफर्मरमा जल्ने र पड्कने समस्या भेटाएको थियो । त्यस्तै, गुणस्तरहीन ट्रान्सफर्मरले गर्दा विद्युत् चुहावट अधिक हुन गई बर्सेनि करोडौ रुपैयाँ आर्थिक नोक्सान हँुदै आएको छ ।
    ३३ केभी भोल्टेजतर्फको १ सय केभीए क्षमतायुक्त ट्रान्सफर्मर परीक्षण गर्दा ‘नो लोड लस’ १ सय ८१ वाट पाइएको छ, जुन प्राधिकरणले तोकेको २ सय ९० भन्दा धेरै कम हो । त्यस्तै ‘फुललोड लस’ ३ हजार ५ सय २९ पाइएको छ, जुन प्राधिकरणले निर्धारण गरेभन्दा दोब्बर हो । प्राधिकरणले न्यूनतम ‘फुल लोड लस’ १ हजार ८ सय वाट निर्धारण गरेको छ । अधिकांश कम्पनीका ११ केभी क्षमतायुक्त ट्रान्सफर्मर निर्धारित मापदण्डभन्दा तीन गुणा कम छन् । ट्रान्सफर्मरको तौल पनि कम भएको उपसमितिले जनाएको छ ।
    दुई वर्षअघि तत्कालीन सञ्चालक मुकेशराज काफ्लेको संयोजकत्वमा गठित अध्ययन समितिले पनि अधिकांश ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा परीक्षणपछि मापदण्डअनुरूप भएमात्र जडान गर्न सिफारिस गरिएको थियो । प्राधिकरण व्यवस्थापनले यो सिफारिस पनि कार्यान्वयन गरेको थिएन ।
    प्राधिकरणले ०६३ सालयता चीन र थाइल्यान्डलबाट ४ हजार ६ सय ५७ वटा ट्रान्सफर्मर खरिद गरेको छ । गत वर्ष कुल उत्पादित बिजुलीमध्ये २८ प्रतिशत चुहावट भएको थियो, जसबाट वार्षिक ६ अर्ब रुपैयाँबराबर घाटा हुँदै आएको प्राधिकरणले जनाएको छ ।

    प्रस्तुति:  कारोबार