यूरोपियन बैङ्कले माथिल्लो सेतीमा साढे ४ अर्ब लगानी गर्ने

    2316

    भदौ १९, काठमाडौं । यूरोपियन इन्भेष्टमेण्ट बैङ्क (ईआईबी)ले  माथिल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि ५० करोड अमेरिकी डलर (करीब ४ अर्ब ४५ करोड रुपैयाँ) ऋण लगानी गर्ने भएको छ । बैङ्कको उच्चस्तरीय टोली र ऊर्जा मन्त्रालयबीच मङ्गलवार भएको छलफलमा सो आयोजनामा ऋण लगानी गर्न बैङ्कले प्रतिबद्धता व्यक्त गरेको आयोजना प्रमुख महेश आचार्यले अभियानलाई बताए ।

    निर्माणमा जाने अन्तिम तयारीमा रहेको सो आयोजनामा लगानी गर्न यसअघि एशियाली विकास बैङ्क (एडीबी) र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले प्रतिबद्धता व्यक्त गरिसकेका छन् । एडीबीले आयोजनालाई १६ करोड डलर (करीब रू. १ अर्ब ४२ करोड) दिने निश्चित भइसकेको छ । सो रकममध्ये ३ करोड ८० लाख डलर अनुदान र बाँकी सहुलियतपूर्ण कर्जा हुने बताइएको छ ।

    यसैगरी जाइकाले १८ करोड डलर (करीब रू. १ अर्ब ६० करोड) ऋण दिने भएको छ । ‘सोबाहेक अन्य रकम विभिन्न दातृ निकाय र नेपाल सरकारबाट जुटाइनेछ,’ आचार्यले भने ।  तनहुँमा निर्माण हुन लागेको उक्त आयोजनाको क्षमता १ सय ४० मेगावाट रहेको छ । सो आयोजना निर्माण भएमा अहिलेसम्मकै सबैभन्दा ठूलो जलाशययुक्त आयोजना हुने छ । अहिलेसम्म विद्युत् उत्पादन गर्ने जलाशययुक्त आयोजनामा कुलेखानी १ र २ मात्र छन् । ती दुईबाट कुल ९२ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

    माथिल्लो सेती आयोजना निर्माणका लागि ‘तनहुँ हाइड्रो पावर कम्पनी’को नाममा छुट्टै कम्पनीसमेत स्थापना भइसकेको छ । आयोजनाको सर्वाधिक शेयर नेपाल विद्युत् प्राधिकरणसँग हुनेछ । आयोजना निर्माण भए ९० परिवार विस्थापित हुनेछन् । आयोजनाको विस्तृत अध्ययन भइसकेको छ । आयोजना सन् २०१४ को शुरूसँगै निर्माणमा गई २०२० मा सम्पत्र हुनेछ । आयोजनाको लागत करीब ५ अर्ब डलर (करीब रू. ४४ अर्ब ५० करोड) अनुमान गरिएको छ ।

    जलाशययुक्त आयोजनाको अभावमा लोडशेडिङ आगामी हिउँदमा दैनिक १९ घण्टासम्म हुने पूर्वानुमान गरिएको छ । ‘लोडशेडिङको अन्त्य गर्ने हो भने जलाशययुक्त आयोजनाको निर्माण गर्नुको विकल्प छैन,’ पूर्वजलस्रोत सचिव बालानन्द पौडेलले भने, ‘माथिल्लो सेती, बूढीगण्डकी र पश्चिम सेतीलगायतका ठूला आयोजनामा निर्माण भएमा ५÷६ वर्षभित्रै लोडशेडिङ अन्त्य गर्न सकिन्छ ।’  ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्नका लागि लगानी बोर्ड र चीनको थ्री गर्जेज कम्पनीबीच सहमति पत्रमा हस्ताक्षर भइसकेको छ । सो आयोजना सन् २०१९ सम्ममा निर्माण सम्पत्र गर्ने योजना रहेको छ । यसैगरी ६ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजनाको विस्तृत अध्ययनका लागि फ्रान्सको ट्र्याकबेल छानिसकिएको छ ।

    Source : © 2012 Abhiyan