जलविद्युत्मा लगानी बढाउँदै बैङ्कहरू

    2740

    भदौ १७, काठमाडौं । बैङ्कहरूले जलविद्युत् आयोजनामा लगानी बढाउने तयारी गरिरहेका छन् । राष्ट्र बैङ्कले ऊर्जामा २०७१ असार मसान्तसम्ममा कुल कर्जाको कम्तीमा १० प्रतिशत ऋण लगानीको निर्देशन दिएपछि वाणिज्य बैङ्कहरूले यस्तो लगानीमा ध्यान दिन थालेका हुन् । बैङ्कहरूले ऊर्जामा धमाधम लगानी थप्न थालेको नेपाल बैङ्कर्स सङ्घका अध्यक्ष तथा हिमालयन बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक राणा बताउँछन् । ‘पछिल्लो समयमा हरेकजसो बैङ्कले जलविद्युत् आयोजनालाई आफ्नो लगानीको प्राथमिकतामा राख्न थालेका छन्,’ उनले भने ।

    उपयुक्त र आकर्षक जलविद्युत् आयोजनाहरूमा लगानी बढाउने योजनामा बैङ्क अफ एशिया रहेको सो बैङ्कका बिजनेश बैङ्किङ प्रमुख सुजित शाक्य बताउँछन् । बैङ्क अफ एशियाको १२ अर्ब ५० करोड कुल कर्जामध्ये करीब १ अर्ब जलविद्युत् आयोजनामा लगानी गरेको छ । ‘हामीले कुल कर्जाको करीब ८ प्रतिशत जलविद्युत्मा लगानी गरिसकेका छौं,’ शाक्यले भने, ‘राष्ट्र बैङ्कको निर्देशन १ वर्षभित्रै पूरा गर्नेछौं ।’ बैङ्क अफ एशियाले सबैभन्दा बढी बुटवल पावर कम्पनीमा ४३ करोड लगानी गरेको छ ।

    लक्ष्मी बैङ्कले नेतृत्व गरेको २२ मेगावाटको माईखोला जलविद्युत् आयोजनामा करीब २१ करोड, बैङ्क अफ काठमाडौंले नेतृत्व गरेको ४ दशमलव १ मेगावाट क्षमताको बाराम्ची खोलामा करीब ८ करोड लगानी गरिसकेको छ ।

    त्यसैगरी, सानिमा बैङ्कले नेतृत्व गरेको १० मेगावाट क्षमताको सिप्रिङ खोलामा करीब १८ करोड र सानिमाले नै नेतृत्व गरेको ३ दशमलव २ मेगावाट क्षमताको भैरवकुण्डमा ५ करोड लगानी गरिसकेको छ । सानिमाले नवीकरणीय ऊर्जामा पनि लगानी गरेको छ । माईखोला जलविद्युत् आयोजनाको क्षमता वृद्धिका लागि ११ बैङ्कले ४० करोड रुपैयाँ लगानी गर्ने भएका छन् । सो आयोजनामा लक्ष्मी बैङ्कको अगुवाइमा अन्य ११ बैङ्कले लगानी गर्ने प्रतिबद्धता जनाइसकेका सिद्धार्थ बैङ्कका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बताए ।

    ‘जलविद्युत् आयोजनाको व्यवस्थापकीय समूह हेरेर लगानी लगाउँदै छौं,’ उनले भने । माईखोलामा नबिल, ग्राण्ड, बैङ्क अफ एशिया, जनता, एसबीआई, कुमारी, बैङ्क अफ काठमाडौं, सिद्धार्थ, माछापुच्छ्रे र एस डेभलपमेण्ट बैङ्कले लगानी गर्ने भएका छन् । यसअघि माईखोलाबाट १५ दशमलव ६ मेगावाट विद्युत् उत्पादन गर्ने भनिएकोमा आयोजनाको क्षमता वृद्धि गरेर २२ मेगावाट पुर्‍याइएको छ ।

    ‘सञ्चालनमा रहेका ३२ वाणिज्य बैङ्कले ५० करोड रुपैयाँमात्र लगानी गर्दा पनि १६ अर्ब हुन्छ, यसबाट सय मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ र देशको ऊर्जासङ्कट कम बनाउन सकिन्छ,’ एक बैङ्करले भने । ८ दशमलव ४ मेगाबाट क्षमताको आँखुखोला १ को लागि प्राइम कमर्शियल बैङ्कको नेतृत्वमा विभित्र बैङ्कले थप लगानी गर्दै छन् । त्यस्तै, ४ दशमलव ५ मेगावाटको तल्लो इन्द्रावतीमा नबिल बैङ्क र १० मेगावाटको तल्लो मोदी १ मा सिटिजन्स बैङ्कको नेतृत्वमा सह वित्तीयकरणअन्तर्गत वाणिज्य बैङ्कहरूले थप ऋण लगानी गर्ने भएका छन ।

    ‘हेवाखोला ए जलविद्युत् आयोजनाका लागि ११ बैङ्कबाट १ अर्ब ६७ करोड ऋण लिने तयारी भएको छ,’ हेवाखोला जलविद्युत् आयोजनाका प्रवद्र्धक एव्म लिटिल एञ्जल्स स्कूलका संस्थापक प्रिन्सिपल उमेश श्रेष्ठले भने । सानिमा बैङ्कको अगुवाइमा लगानी गर्न पाँचथर पावर कम्पनीसँग गत शुक्रवार कर्जा सम्झौता भएको छ । पाँचथरस्थित हेवाखोलावाट १४ दशमलव ९ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुन लागेको हो । सानिमाले आफ्नो अगुवाइमा योसहित ५ ओटा परियोजनामा लगानी गरिसकेको छ ।

    बैङ्कहरूले १५ वर्षसम्मका लागि १२–१३ प्रतिशत ब्याजदरमा जलविद्युत् आयोजना निर्माणका लागि ऋण उपलब्ध गराउँदै आएका छन् । पहिलो चरणमा वाणिज्य बैङ्कहरूलाई ऊर्जामा केन्द्रित गराई विस्तारै विकास बैङ्क र फाइनान्स कम्पनीलाई पनि यसतर्फ आकर्षित गराउने राष्ट्र बैङ्कको नीति छ । गत असार मसान्तसम्ममा वाणिज्य बैङ्कहरूले ६ खर्ब १४ अर्ब ऋण लगानी गरेका छन् । त्यसमध्ये करीब ३१ अर्ब कृषि र ऊर्जामा लगानी भएको छ । कृषिको तुलनामा ऊर्जामा बैङ्कहरूको लगानी ज्यादै न्यून छ ।

    Source : © 2012 Abhiyan