Kulman Ghising as MD of Nepal Electricity Authority (NEA)

    2576

    A meeting Council of Ministers held this evening appointed Kulman Ghising as Managing Director of Nepal Electricity Authority (NEA).

    kul man ghising

    सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा संस्थाकै ११ तहका कर्मचारी (निर्देशक) कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

    मुकेशराज काफ्लेले भदौ २४ गते पदबाट राजिनामा दिएपछि रिक्त पदमा घिसिङको नियुक्ति भएको हो। रिक्त कार्यकारी निर्देशक नियुक्त गर्न ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा कमिटि गठन भएको थियो। कमिटिले मन्त्रालय, जल तथा ऊर्जा आयोगको सचिवालय, विद्युत विकास विभाग, प्राधिकरण, बूढीगण्डकी र नलसिंहगाढ जलविद्युत आयोजना विकास समितिबाट प्रस्ताव माग गरेको थियो।

    एक गैरसरकारी संस्थासहित ६ निकायबाट ८ जनाको प्रस्ताव परेको थियो। घिसिङसहित विभागबाट नविनराज सिंह, मधुप्रसाद भेटवाल, सचिवालयका जिवछ मण्डल, मन्त्रालयका चिरञ्जीवी चटौतलगायत व्यक्तिको प्रस्ताव परेको थियो। उक्त प्रस्तावमा पहिलो घिसिङ दोस्रो भेटवाल र तेस्रोमा सिंह छानिएका थिए। तीन जनामा उत्कृष्ट अंक ल्याएकाले घिसिङलाई सिफारिस गरिएको मन्त्रालय कानुन महाशाखा प्रमुख कोशलचन्द्र सुवेदीले जानकारी दिए।

    घिसिङले प्राधिकरणको निर्देशक पदबाट बुधबार नै सञ्चालक समितिसमक्ष राजिनामा बुझाएका छन्। बिहीबार सरकारी विदा परेकाले उनको राजिनामा स्वीकृत गरी शुक्रबार कार्यकारी निर्देशकमा नियुक्त गर्ने सुवेदीले बताए।

    को हुन घिसिङ ?

    रामेछापको बेथानमा २०२७ मंसिर १० मा जन्मिएका घिसिङ विगत २० वर्षदेखि विद्युत प्राधिकरणमा कार्यरत छन्। पाँच कक्षासम्म बेथानमै पढेका उनले ६ कक्षापछि काठमाडौं आएर बानेश्वरको अमर आदर्श बोडिङ स्कुलमा पढेको हुन्। उनले सोही स्कुलबाट २०४३ सालमा एलएलसी पास गरेका थिए।

    लैनचौरस्थित अमृत साइन्स क्याम्पसबाट आइएसी गरेका उनले त्यसपछि छात्रवृतिमा भारतबाट इलेक्ट्रिकल इन्जिनियरिङमा विएस्सी गरेका छन्। पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ‘पावर सिस्टम इन्जिनियरिङ’ मा स्नातकोत्तर सकेपछि उनले सिनामंगलको एस इन्स्टिच्युटबाट व्यापार प्रशासनमा पनि स्नातकोत्तर गरेका थिए।

    २०५१ सालमा प्राधिकरणको सातौं तहको इन्जिनियरबाट सेवा सुरु गरेका उनले झन्डै २० वर्षको अवधिमा प्रसारण, वितरण र उत्पादन क्षेत्रमा अनुभव हासिल गरेका छन्। चिलिमे जलविद्युत कम्पनीमा उनले २०६७ साउनदेखि  २०७१ असारसम्म चार वर्ष प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालेका थिए। रसुवागढी, मध्यभोटेकोसी, सान्जेन  माथिल्लो सान्जेन अघि बढाउन उनले विशेष भूमिका खेलेका थिए।

    तत्कालीन ऊर्जा मन्त्री राधा ज्ञवालीले हस्तक्षेप गरेपछि उनलाई २०७१ साउनमा घिसिङलाई प्राधिकरणमा फिर्ता बोलाइएको थियो। २०७१ असोजमा उनी प्राधिकरणको ११औं तह अर्थात निर्देशकमा बढुवा भएका थिए। निर्देशक भएपछि उनी राहुघाट जलविद्युत आयोजना प्रमुखको जिम्मेवारीमा थिए।