कुलेखानी तेस्रो जलविद्युत् संचालनमा अझै २ साता लाग्ने

961

नेपाल विद्युत् प्राधिकरणले गत वैशाखमै निर्माणको अन्तिम चरणमा पुगेको भनेको १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुन अझै समस्या देखिएको छ ।
२९ वैशाखमा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा १५ दिनमै आयोजनाको संरचना तथा उपकरणको परीक्षण सक्ने निर्णयसमेत गरिएको थियो, तर अझै परीक्षण सकिएको छैन । यो परीक्षणलाई विद्युत् उत्पादन पूर्वको परीक्षणको रूपमा लिइन्छ । त्यसैगरी विद्युत् प्रवाहका लागि एउटा प्रशारणलाइनको फाउण्डेसनको काम पनि बाँकी छ भने स्विचयार्डको काम पनि पूर्णरूपमा सम्पन्न भएको छैन । आयोजना अधिकारीका अनुसार, आयोजनादेखि प्रशारण लाइनसम्म पुग्ने तीन टावरमध्ये एउटाको फाउण्डेसनको कार्य अघि बढेको छ । यसका लागि करिब एक साता लाग्ने अनुमान उनीहरूको छ । टावर सम्पन्न भएपछि मात्र तार तान्ने काम एकै दिनमा सकिने आयोजनाले जनाएको छ ।

मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी हालेर गरिने परीक्षण सम्पन्न भइसकेको छ । विद्युत्गृहका टर्बाइन, जेनेरेटर, कन्ट्रोल रुमलगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरूको जडान सकिएको छ । स्विचयार्डको काम पनि ९९ प्रतिशत सकिएको छ । “कार्यकारी निर्देशककै उपस्थितिमा आयोजना व्यवस्थापन, ठेकेदार र परामर्शदाता कम्पनीबीच विद्युत् उत्पादन सुरु गर्नुभन्दा पहिला गर्नुपर्ने सम्पूर्ण परीक्षण १५ दिनभित्रमा सम्पन्न गर्ने निर्णय भए पनि २० दिन बितिसकेको छ,” आयोजनास्थलमा भेटिएका एक अधिकारीले भने, “परीक्षण सम्पन्न गर्न, स्विचयार्ड पूरा गर्न र प्रशारण लाइनको निर्माण पूरा गर्न कम्तीमा दुई साता लाग्छ ।” इलेक्ट्रोमेकानिकलको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडका दुई प्राविधिकमात्र आयोजनास्थलमा छन् भने त्यसको नेपाली साझेदार कम्पनी हुलास इन्जिनियरिङ एण्ड कन्ट्रक्सनका थोरैमात्र कर्मचारी छन् ।
हेटौंडा–कुलेखानी–स्युचाटार १३२ केभी क्षमताको प्रशारणलाइनको निर्माण सम्पन्न भइसकेको छ तर आयोजनादेखि सो प्रसारण लाइनसम्मका तीन टावर निर्माण भने अझै पूरा भएको छैन । त्यसपछि ५ सय मिटर तार तान्नु पर्नेछ । २० दिन कार्यकारी निर्देशक घिसिङ पुग्दा ठेकेदार कम्पनीले यो काम एक साताभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो । “टावरको एक लेगमा समस्या आएर ढिलाइ भएको हो, एक साताभित्र सो काम सम्पन्न हुन्छ,” विद्युत् प्राधिकरण उत्पादन निर्देशनालयका उपकार्यकारी निर्देशक सुनिल ढुंगेलले भने, “ड्राई टेस्ट भइसक्यो, वेट टेस्ट गर्न बाँकी छ, यो काम साता÷१० दिनमा सम्पन्न गर्छौ ।” उनले भने, “यी काम सकिएपछि उत्पादन सुरु हुन्छ ।” आयोजनास्थलमा भेटिएका अधिकारीका अनुसार, कुनै ठूलो समस्या नआएमा चालू आर्थिक वर्षभित्र कुलेखानीबाट उत्पादन हुने निश्चित भने देखिएको छ ।
२०६४ सालमा निर्माण भएर २०६८ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको बल्ल झण्डै ८ वर्षपछि सम्पन्न हुने अवस्थामा पुगेको छ । कुलेखानी जलाशयको पानी उपयोग गरेर उत्पादन हुन लागेको आयोजना ६० मेगावाटको कुलेखानी पहिलो र ३२ मेगावाटको कुलेखानी तेस्रोपछिको तेस्रो आयोजना हो । सुरुको लागत अनुमान २ अर्ब ३३ करोड रहेकोमा बढेर ४ अर्ब ६३ करोड रुपैयाँ पुग्ने संशोधित अनुमान प्राधिकरणले गरेको छ ।

स्रोत :कारोबार