Construction of 4 hydro project of Lamjung district resume after earthquake

    1643

    बन्द  ४ जलविद्युत आयोजनाको काम सुरु

    लमजुङ , ३ जेठ : वैशाख १२ गते आएको भूकम्प पछि बन्द भएका लमजुुङका ४ निर्माणाधिन जलविद्युत आयोजनाको निर्माण कार्य पुनः सुरु गरिएको छ । निर्धारीत समयमै आयोजना निर्माणको कार्य सम्पन्न गरी विद्युत उत्पादन थाल्ने भनिएका यि ४ आयोजनाले निर्माण कार्यको थालनी गरेका हुन् ।

    विनाशकारी भूकम्प आएपछि आयोजना निर्माणको कार्यलाई रोकेका चार वटै जलविद्युत आयोजनाहरुले एकैसाथ पुनः काम थालेका छन् । आयोजना निर्माणको कार्य रोकेर पुनः सुचारु गर्नेहरुमा ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए, २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ’ए’ २७ मेगावाटको दोर्दी खोला र २ मेगावाटको छ्याङ्दीखोला जलविद्युत आयोजना रहेका छन् ।

    माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाको प्रवद्र्धक कम्पनी सिनो–सगरमाथा पावर प्रालिले मुलुकमा आएको विनाशकारी भूकम्पका कारण आयोजनामा कुनैपनि क्षति नभएको बताएको छ । अहिलेसम्म निर्माण गरिएका कुनैपनि संरचनामा धक्का नपुगेको आयोजनाको दावी छ । आयोजनाको बाँधस्थल, विद्युत गृह र सुरुङमा कुनैपनि क्षति नपुगेको आयोजनाले जनाएको छ ।

    तनहुँस्थित ६९ मेगावाट क्षमताको तल्लो मस्र्याङ्दी, ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी लगायत देशभरीका जलविद्युत आयोजनाका संरचनाहरुमा क्षति पुगिरहेको बेला जिल्लामा निर्माणाधिन ४ आयोजनामा कुनै पनि क्षति नपुगेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सेनाले बताए ।

    आयोजना निर्माणमा गुणस्तरयुक्त निर्माण सामाग्री प्रयोग भएका कारण आफुहरु ढुक्क रहेको सिनो–सगरमाथा हाइड्रोपावरका सहायक म्यानेजर चाङ फा पिनले बताए ।

    मुलुकभर लगातार रुपमा भुकम्पको धक्का महशुस भई घटना घट्ने क्रम तिब्र भएपछि आयोजनाहरुले कार्यरत मजदुर र अन्य कामदारको सुरक्षालाई मध्यनजर गर्दै केही दिनका लागि आयोजना निर्माणको कार्य रोकेका थिए भने पछिल्लो समययता खासै ठूला कम्पन नआएका कारण निर्माणलाई जोड दिएको आयोनाका सहायक म्यानेजर पिनको भनाई छ । २०१५ भित्रै आयोजनाको सबै काम सक्ने लक्ष्यका साथ युद्धस्तरमा आयोजना निर्माणको कार्य अघि बढाएको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाले रातको समयमा समेत आयोजनाको सामान्य कामहरु गर्न थालेको छ ।

    यसैगरी दोर्दी करिडोरमा निर्माण थालेको २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ’ए’, २७ मेगावाटको दोर्दीखोला र २ मेगावाटको छ्याङ्दीखोलाले पनि आफ्नो निर्माण कार्यलाई सुचारु गरेको छ । आयोजनाहरुले सुरुङ, बाँध क्षेत्र र विद्युत गृह लगायतका सबै स्थानको काम जोखिम भएको हुनाले समय मिलाएर मात्रै काम गर्ने गरेको बताएका छन् ।

    स्रोत: काराेबार