सयबढी रोजगारी दिने उद्योगलाई छुट्टै लाइनबाट बिजुली माग

    1031
    नेपाल उद्योग परिसंघ(सीएनआई)ले १ सय जनाभन्दा बढीलाई रोजगारी दिने उद्योग–प्रतिष्ठानका लागि छुट्टै औद्योगिक विद्युत् वितरण लाइनमार्फत विद्युत् आपूर्ति गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

    आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो व्यवस्था गर्न परिसंघले सरकारसँग आग्रह गरेको हो। नेपाल विद्युत् प्राधिकरणले हाल अत्यावश्यक सेवा(स्वास्थ्य, खानेपानीलगायत) तथा कुटनीतिक नियोगहरुमा छुट्टै फिडरमार्फत चौबीसै घण्टा विद्युत् उपलब्ध गराउँदै आएको छ। तर, दैनिक अत्यावश्यकबाहेकका अन्य उद्योग प्रतिष्ठानका लागि भने उपलब्ध विद्युत्लाई नै नियमित गर्न डेडिकेटेड फिडरको माग गरिएको परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए।

    ‘हामीले अत्यावश्यक सेवालाई जस्तै सबै उद्योगलाई चौबीसै घण्टा डेडिकेटेड फिडरबाट विद्युत् देऊ भनेका छैनौं,’ अध्यक्ष शर्माले भने, ‘जति घण्टा दिन सकिन्छ त्यही विद्युत्को आपूर्ति नियमित र गुणस्तरीय बनाउन डेडिकेटेड फिडरको व्यवस्था गर्न माग गरेका हौं।’ सर्वसाधारणले पाउने फिडरकै विद्युत् उद्योगले प्रयोग गर्दा भोल्टेजमा हुने घटबढ, आपूर्ति समयमा हुने अनियमितता आदिले देशका प्रशोधन उद्योगहरुले पूर्ण क्षमतामा उत्पादन गर्न नसकिरहेको र उत्पादन कटौती गर्न बाध्य भएको शर्माको भनाइ छ।

    ‘मुलुकलाई आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्रमा लैजान पनि विद्युत्को आपूर्ति नियमित हुनु आवश्यक छ,’ उनले भने, ‘उपलब्ध परिमाणका हिसाबले दिनमा ८ घण्टा मात्र दिन सकिन्छ भने त्यती नै सयम विद्युत् देऊ, तर दैनिक ८ घण्टा नै नियमित भोल्टेजमा विद्युत् पाउने सुनिश्चितता उद्योगहरुले पाउनु पर्छ।’

    एक सय जनाभन्दा बढी रोजगारी दिने उद्योगका लागि छुट्टै फिडरको व्यवस्था गर्न धेरै रकमको आवश्यकता पनि नपर्ने उनको भनाइ छ। प्रशोधन उद्योगहरुमार्फत मुलुकलाई आयातमुखी अर्थतन्त्रबाट आत्मनिर्भर अर्थतन्त्रतर्फ लैजाने हो भने सरकारले ९ सय अर्बको बजेटबाट १ अर्ब यस कार्यका लागि छुट्याउनै पर्ने उनको जोड छ। ‘ऊर्जा अभाव झेलिरहेका र विद्युत्को आपूर्ति अनियमित हुने विश्वका अरु मुलुकले पनि अपनाएको विधि नै अपनाउन हामीले भनेका हौं,’ उनले भने।

    हाल सम्बन्धित क्षेत्रीय कार्यालयका प्रमुख, प्राधिकरणको भार प्रेषण केन्द्रका प्रमुखलगायत रहने ३ सदस्यीय समितिको सिफारिसमा नेपाल विद्युत् प्राधिकरणको सञ्चालक सिमितिले अनुमोदन गरेपछि डेडिकेटेड फिडरमार्फत विद्युत् दिने व्यवस्था छ। प्राधिकरणले काडमाडौं क्षेत्रीय कार्यालयमाफर्त हाल करिब १ सय ५० उद्योग प्रतिष्ठान तथा कार्यालयहरुलाई डेडिकेटेड फिडरमार्फत विद्युत् उपलब्ध गराउँदै आएको क्षेत्रीय कार्यालयका प्रखुख दीर्घायु श्रेष्ठले बताए। अन्य क्षेत्रीय कार्यालयहरुले पनि यस्तो फिडरमार्फत विद्युत् दिँदै आएका छन् ।

    सर्वसाधारणलाई लिने महशुलको दोब्बर महशुलमा डेडिकेटेड फिडरबाट विद्युत् उपलब्ध गराउने व्यवस्था छ। यस्तो फिडरको विद्युत् बढीमा प्रतियुनिट २२ रुपैयाँसम्म पर्ने गरेको छ। डेडिकेटेड फिडरमार्फत दिइने विद्युत् थर्मल(डिजेल)प्लाण्ट वा निजी डिजेल जेनेरेटलबाट उत्पादन गर्ने विद्युत् भन्दा सस्तो पर्दछ। थर्मल विद्युत् कम्तीमा पनि प्रतियुनिट ३० रुपैयाँभन्दा माथि पर्ने विज्ञहरुले बताउँदै आएका छन्।