बुढीगण्डकीमा चिलिमेले लगानी गर्ने

    2055

    अति विपन्नलाई २ प्रतिशत सेयर अनिवार्य

    नेपाल विद्युत् प्राधिकरणको सबैभन्दा सफल आयोजना मानिने चिलिमे जलविद्युत् कम्पनीले बुढीगण्डकीमा लगानी गर्ने भएको छ । १२ सय मेगावाट क्षमताको राष्ट्रिय गौरवको जलाशययुक्त बुढीगण्डकी आयोजनामा चिलिमेले लगानी गर्न लागेको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

    ‘चिलिमेमा हामीले अपनाएको कम्पनी मोडेल सफल भइरहेको छ,’ घिसिङले भने, ‘चिलिमेबाट प्राप्त आम्दानीबाट लगानीकर्तालाई नगद बोनसको सट्टा बुढीगण्डकीमा लगानी गरेर ऊर्जा क्षेत्रलाई थप मजबुत बनाउन चाहन्छौँ ।’

    चिलिमेले अहिले चारवटा जलविद्युत् आयोजनाको काम एकैसाथ अगाडि बढाइरहेको छ । चिलिमेले प्रवद्र्धन गरेका ४२.५ मेगावाट क्षमताको सान्जेन, १०२ मेगावाटको मध्य भोटेकोसी, १११ मेगावाटको रसुवागढी र बेम्दाग खोला रहेका छन् ।

    यी सबै आयोजनाका लागि आवश्यक चुक्ता पुँजी जुटाइसकिएको घिसिङले बताए । हाल ८० करोड हाराहारीमा रहेको चिलिमेको वार्षिक आम्दानी चारवटै आयोजना सम्पन्न भइसकेपछि बढेर वार्षिक २ अर्ब रुपैयाँ हुने उनले बताए । घिसिङले अबको १ वर्षपछि सबै आयोजनाबाट विद्युत् उत्पादन हुने भएकाले वार्षिक २ अर्ब रुपैयाँ बुढीगण्डकीमा लगानी गरिने बताए ।

    तामाकोसीको आम्दानी जलाशययुक्त आयोजनामा 
    प्राधिकरणले निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसीको आम्दानी सोही क्षमताबराबरको अर्को आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले तामाकोसीलाई पनि चिलिमे मोडेलमा अगाडि बढाएर १ हजार मेगावाटभन्दा ठूलो आयोजनामा लगानी गर्ने घिसिङले बताए । माथिल्लो तामाकोसीको काम हालसम्म करिब ९४ प्रतिशत सकिएको छ ।

    निर्माण सम्पन्न भएपछि वार्षिक १० अर्ब रुपैयाँभन्दा धेरै आम्दानी गर्ने सो आयोजनाको पैसाले जलाशययुक्त आयोजनामा लगानी गर्ने उनको भनाइ छ । ‘अबको लक्ष्य भनेको जलाशययुक्त आयोजना नै हो, रन अफ दी रिभर (आरओआर)बाट अब जलाशययुक्त आयोजनातिर प्राधिकरणको ध्यान जान्छ,’ उनले भने ।

    सेयर रिजर्भ गरेर लगानी खुम्च्याउनुभन्दा सबै नेपालीले जति रकमको सेयर आवेदन दिन चाहेका हुन्, त्यति नै रकमबराबरको सेयर प्राप्त गर्न सक्ने वातावरण प्राधिकरणले बनाउने उनले बताए । उनले भने, ‘सर्वसाधारण जनताले जति रुपैयाँको सेयर भर्छन् सबै सेयर पर्ने गरी आयोजना निर्माण अगाडि बढाइनेछ ।’

    २ प्रतिशत सेयर अति विपन्नलाई 
    विद्युत् प्राधिकरणले अब निर्माण गर्ने सम्पूर्ण जलविद्युत् आयोजनाको दुई प्रतिशत सेयर गरिब तथा अति विपन्न वर्गलाई दिने गरी कानुनी रूपमा नै प्रावधान ल्याउने बताएको छ । चिलिमे मोडलमा थप आयोजना निर्माण गर्ने र सर्वसाधारणलाई सेयरमा लगानीको अवसर दिन प्रबन्धपत्रमा नै उल्लेख गरिने उनले बताए । विद्युत् प्राधिकरणले बनाउने जलविद्युत् आयोजना सबै कम्पनी मोडेलमा बन्नेछन् ।

    उमेश पौडेल

    स्रोत:नयाँपत्रीका