अघि बढ्यो त्रिशुली गल्छी, सिद्धकाली पावर र चिनियाँ कम्पनीबीच सहमतिपत्रमा हस्ताक्षर, १० अर्ब लगानी गर्ने

    1675

    सिद्धकाली पावर लिमिटेड र चीनको दोङफाङ इलेक्ट्रिक इन्टरनेशनल कर्पोरेशनबीच द्विपक्षीय लगानी सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर  भएको छ ।

    सिद्धकाली पावर लिमिटेडले निर्माण गर्न लागेको ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी आयोजना इन्जिनियरिङ, परक्रयुरमेन्ट  कन्स्ट्रक्सन र फाइनान्सिङ (इपिसिएफ) मोडलमा निर्माण गर्न लागिएको हो ।

    रु १० अर्ब २९ करोड बराबरको रकम सो आयोजनामा चिनियाँ कम्पनीले लगानी गर्ने सहमति भएको छ । प्रवद्र्धक सिद्धकाली पावर लिमिटेडले बत्ती बलेको एक वर्ष पछि सो रकम फिर्ता गर्ने सहमति भएको छ ।

    लक्ष्मी बैंकको नेतृत्वमा विविभन्न बैंकले सहवित्तियकरणमा आयोजनामा ऋण लगानी गर्ने सहमति समेत यसअघि नै भएको थियो । आयोजना ४२ महिनामा निर्माण सम्पन्न हुने छ । कूल आठ किलोमिटर लामो सुरुङ निर्माण हुनेछ ।

    नुवाकोटको ढोडबेसी बाँध निर्माण गरेर  धादिङको मासटारमा विद्युत् गृह निर्माण गरिनेछ । आयोजनाको कूल लागत रु १४ अर्ब ५० करोड रहेको छ । त्यसमा चिनियाँ कम्पनीले रु १० अर्ब २९ करोड लगानी गर्नेछ ।

    द्विपक्षीय लगानी सम्बन्धी सम्बन्धी सम्झौतामा सिद्धकाली पावर लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपाने र चिनियाँ कम्पनीका तर्फबाट डेपुटी जनरल म्यानेजर डिभिजन एक छाऊ हुई यूले हस्ताक्षर गर्नुभएको थियो । हस्ताक्षर कार्यक्रम होटल अन्नपूर्णमा आयोजना गरिएको थियो ।

    अर्थ संसार