‘कुलेखानी तेस्रो’ समयमै सक्न उपप्रधानमन्त्री थापाको निर्देशन

    1097

    स्थानीय ठेकेदारले कामदार र निर्माण सामग्री उपलब्ध गराउन सकेन –

    नवनियुक्त उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाले कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माणकार्य समयसीमाभित्रै सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । मंगलबार मकवानपुरको भैँसेमा आयोजनास्थलको स्थलगत निरीक्षण गर्दै ऊर्जामन्त्री थापाले तोकिएको समयभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिएका हुन् । ऊर्जामन्त्री थापा, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको उच्चस्तरीय टोलीले आयोजना निर्माणमा भइरहेको ढिलाइका बारेमा जानकारी लिन स्थलगत निरीक्षण गरेका हुन् ।

    लोडसेडिङको पीडाबाट सधैँका लागि मुक्त हुन यो आयोजना चाँडै सम्पन्न गर्नुपर्ने बाध्यता रहेको भन्दै ऊर्जामन्त्री थापाले काम–कारबाहीमा धेरै ढिलासुस्तीको समस्या समाधान गर्दै काममा तीव्रता दिन निर्देशन दिएका छन् । थापाले योजना सम्पन्न गर्नका लागि मन्त्रालय र व्यक्तिगत रूपमा ऊर्जामन्त्रीले गर्नुपर्ने आवश्यक सहयोग गर्ने बताए । त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ घटाउन ऊर्जा चुहावटलाई कडाइका साथ नियन्त्रण गरिने र त्यसका लागि कार्यदल गठन भइसकेकाले लोडसेडिङ हुने सम्भावना नरहेको बताए ।

    सरकारी लगानीमा निर्माण भइरहेको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको काम ०६४ चैतदेखि सुरु गरिएको हो । सुरुवातमा उक्त आयोजना ०६८ सालमा सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । तर, सो अवधिमा काम नसकेपछि पहिलोपटक ३० महिना म्याद थपिएको थियो । सो समयमा पनि काम सम्पन्न नभएपछि पुनः ९ महिना म्याद थप गरियो । त्यसैगरी तेस्रो ३ महिना र चौथोपटक अर्थात् २०१५ अक्टोबर १५ बाट २०१६ अप्रिल १८ सम्म ६ महिना म्याद थप गरेको थियो ।

    चौथोपटक थप गरिएको समयमा आयोजना सम्पन्न नभएपछि प्राधिकरणले ८ महिना अर्थात् २०१६ डिसेम्बरसम्म म्याद थप गरेको थियो । त्यसमा पनि काम सम्पन्न नगरेपछि हाल थप समयसीमा तोकेर ठेकेदार कम्पनीले काम गरिरहेको छ ।

    कुल १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो निर्माण सुरु भएको दश वर्ष पूरा भएको छ । तर, निर्माण व्यवसायीले निर्माणमा ध्यान नदिँदा र विभिन्न समयमा राजनीतिक दलको चुनावी एजेन्डा भएपछि बर्सेनि म्याद थप र लगानी बढाउनुपर्ने कारण थपिँदो छ । विशेष गरी इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल र सिभिलतर्फका निर्माण व्यवसायीले तोकेअनुसारको काम गर्न नसकेको प्राधिकरणले जनाएको छ । आयोजनाको सिभिल निर्माणको ठेक्का चीनको सिनो हाइड्रोले लिएको छ भने इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलको ठेक्का झेयलिङ, जिन्लुङ इलेक्ट्रोमेकानिक कम्पनीले लिएको छ ।

    आयोजना निर्माण सम्पन्न गर्नका लागि चिनियाँ ठेकेदारले नेपालको स्थानीय ठेकेदारलाई निर्माण गर्न दिएको छ । तर, ठेकेदारले जनशक्ति परिचालन र निर्माण सामग्री उपलब्ध गराउन नसक्दा कामले गति लिन नसकेको ऊर्जामन्त्री थापाले बताए । चिनियाँ ठेकेदार कम्पनीले प्रतिनिधिका रूपमा ६ जना मात्रै प्राविधिक आयोजनास्थलमा राखेका छन् ।

    स्रोत:नयाँपत्रीका