Financial Closure conclude for Hewa Khola

    1306

    hewa_khola_fcसंखुवासभामा निर्माणाधीन ८ दशमलव ५ मेगावाटको अपर हेवाखोला साना जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । १ अर्ब ४० करोड लागत रहेको आयोजनाका लागि ९८ करोड रुपैयाँबराबरको ऋणसम्झौता भएसँगै वित्तीय व्यवस्थापन भएको हो ।

    एनएमबी बैंक लिमीटेडको अगुवाइमा नेपाल बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडको सहवित्तीयकरणमा परियोजना कर्जाका रूपमा ऋणसम्झौता भएको आयोजनाले जनाएको छ । शुक्रबार आयोजित सम्झौता कार्यक्रममा एनएमबीका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेल र कम्पनीका अध्यक्ष केशबबहादुर रायमाझीलगायतले ऋण सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

    कम्पनीका अध्यक्ष रायमाझीले कोशी कोरिडोरको प्रसारण लाइन र सवस्टेसन समयमै बनेमा दुई वर्षभित्र आयोजना सम्पन्न भइसक्ने बताए । कार्यकारी अधिकृत उपेन्द्र पौडेलले आयोजनाका प्रवद्र्धकहरू अनुभवी रहेकाले समयमै आयोजना सम्पन्न हुनेमा विश्वास व्यक्त गर्दै बैंकका तर्फबाट कुनै किसिमको समस्या आउन नदिनेसमेत बताए ।

    संखुवासभा जिल्लाको जलजला गाविस र चैनपुर नगरपालिकाबीच भएर बग्ने हेवाखोलाबाट विद्युत् उत्पादन गर्न २०६६ सालमा विद्युत् उत्पादनको सर्वेक्षण र २०७२ साल वैशाखमा विद्युत् उत्पादनको अनुमतिपत्र प्राप्त गरेको थियो भने गत पुसमा विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भएको थियो ।

    आयोजनाले २०७६ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । आयोजनाको संस्थापक सेयरमा लगानी गर्न आयोजना प्रभावित क्षेत्रका स्थानीय जनता अति उत्साहित रहेकाले प्रभावित क्षेत्रका स्थानीय जनतालाई सेयर लगानीमा विशेष प्राथमिकता दिने आयोजनाका प्रबन्धकले जानकारी दिए ।

    राजधानी