ठूला आयोजनाको पीपीए दर सार्वजनिक सुनुवाईमार्फत

1148

विद्युत् नियमन आयोगले एक सय मेगावाटभन्दा माथिका आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) सार्वजनिक सुनुवाईमार्फत तय गर्ने प्रक्रिया अघि बढाएको छ । विद्युत् नियमन आयोग ऐन र नियमावलीमा भएको व्यवस्थाअनुसार नियमन आयोगले एक सय मेगावाटभन्दा माथिका आयोजनाहरूको लागि सार्वजनिक सुनुवाई प्रक्रिया अघि बढाएको हो ।
नेपाल विद्युत् प्राधिकरणले एक सय मेगावाटसम्मका आयोजनाहरूको लागि नदी प्रवाहमा आधारित (रन अफ दिन रिभर–आरओआर) आयोजनाको लागि वर्षामा प्रतियुनिट ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा तोकेको छ । अर्धजलाशय (पिकिङ रन अफ दिन रिभर) आयोजनाका लागि वर्षायामका लागि ४ रुपैयाँ ८० पैसा, सुख्खायामको नन पिकिङको लागि ८ रुपैयाँ ४० पैसा र पिकिङको लागि ८ रुपैयाँ ५० पैसा पीपीए दर तोकिएको छ । तर ंएक सय मेगावाटमाथिका आयोजनारुको हकमा भने सौदावाजी (नेगोसिएसन) को आधारमा हुँदै आएको छ । नियमन आयोग सक्रिय भएपछि भने पीपीए दरको निर्धारणको काम आयोगले गर्दै आएको छ ।
एक सय मेगावाटभन्दा ठूला आयोजनाहरूको लागि भने आयोगले उपभोक्ताको अधिकार संरक्षणका लागि भन्दै सार्वजनिक सुनुवाई गरेर मात्र पीपीए दर निर्धारण गर्ने व्यवस्था छ । यसैक्रममा आयोगले मनाङ मस्र्याङ्दी हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागेको १३५ मेगावाटको मनाङ मस्र्याङ्दी आयोजनाको लागि सार्वजनिक सुनुवाई आह्वान गरेको छ । यसरी पीपीए दर तोक्नका लागि आयोगले सार्वजनिक आह्वान गरेको यो पहिलो आयोजना हो । आयोगका प्रवक्ता डा. रामप्रसाद धिताल आयोगको व्यवस्थाअनुसार पीपीए दर तोक्नका पहिलोपटक सार्वजनिक सुनुवाई गर्न लागेको बताउँछन् । “ठूलो आयोजनाको हकमा उपभोक्ताको सस्तो बिजुली पाउने अधिकारलाई कुण्ठित नहोस् भनेर सरोकारवाला सबै निकायका प्रतिनीधिहरू राखेर सार्वजनिक सुनुवाई गरेर पीपीए दर तोक्ने योजना अनुसार सार्वजनिक सुनुवाई गर्न लागेका हौं,” उनले भने, “कोरोना महामारीको कारण मनाङ मस्याङदीको पीपीए तोक्नका लागि जुममार्फत आगामी पुस ९ गते सार्वजनिक सुनुवाई तय गरेका छौ, आयोगले एक सय मेगावाटभन्दा माथिका आयोजनाको लागि सार्वजनिक सुनुवाई गर्न लागेको यो पहिलोपटक हो ।”
बुटवल पावर कम्पनी (बीपीसी) को समेत सेयर रहेको मनाङ मस्र्याङ्दीले निर्माण गर्न लागेको आयोजनाको लागत ३२ करोड २९ लाख ४५ हजार एक सय अमेरिकी डलर छ भने आयोजनाको प्रतिफल ८.२७ प्रतिशत छ । वार्षिक ७५ करोड ९ लाख ४८ हजार युनिट विद्युत् उत्पादन हुने आयोजनाबाट वर्षायाममा ५२ करोड ४१ लख ६२ हजार, हिउँदको पिकिङमा ३ करोड ७८ लाख ८४ हजार तथा नन पिकिङमा १८ करोड ८९ लाख २ हजार युनिट उत्पादन हुनेछ । पहिलोपटक मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाको पीपीए दरका लागि सार्वजनिक सुनुवाई हुन लागेकोले यसलाई उच्च महत्वका साथ हेरिएको छ । यो सार्वजनिक सुनुवाईबाट निर्धारण हुने पीपीए दर भने भविष्यमा हुने ठूला आयोजनाको पीपीए दर कायम गर्नका लागि नजिर बन्नेछ ।

स्रोत : कारोबार