जलविद्युतमा लगानी गर्ने रुसको इच्छा

1400

रुसले नेपालमा ठूलो लगानीको जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा प्रकट गरेको छ। नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई ऊर्जा मन्त्रालयमा भेटेर नेपालको जलविद्युत् आयोजनामा लगानी गर्न इच्छुक भएको बताएका छन्। राजदूत नोभिकभले रुसका दुई ठूला बैंक लान्टा र मस्को इन्डस्ट्रियल बैंक नेपालको जलविद्युत् आयोजनामा लगानी गर्न चाहेको जानकारी गराए।

राजदूत नेतृत्वको टोलीले नेपालमा जलविद्युत् उत्पादन र वितरणसम्बन्धी कानुनी व्यवस्था तथा क्षेत्रीय बजारको सम्भावनाबारे मन्त्री पुनसँग चासो राखेको थियो। यस्तै, नेपालमा विद्युत् र सिँचाइका संयुक्त आयोजनाको सम्भाव्यताबारे पनि टोलीको चासो थियो। रसियन प्रतिनिधिमण्डलले उत्पादित विद्युत् आफ्नै उद्योगमा खपत गर्न सकिने÷नसकिने विषयमा समेत मन्त्री पुनसँग प्रश्न गरेको थियो। प्रारम्भिक चरणमा ‘पाइलट प्रोजेक्ट’का रूपमा कुनै आयोजनामा लगानी गर्ने र बजारको अवस्था बुझेर सरकारी र निजी दुवै क्षेत्रलाई नेपालमा लगानीका लागि प्रोत्साहित गरिने राजदूत नोभिकभले बताए।

मन्त्री पुनले आगामी १० वर्षमा नेपालको आन्तरिक बजारमा १० हजार मेगावाट विद्युत् खपत हुने प्रक्षेपण सरकारले गरेको जानकारी दिए। उनले नेपालमा उत्पादन भएर बढी भएको विद्युत् निर्यात गर्न भारत र बंगलादेशसँग विद्युत् व्यापार सम्झौता गरिसकेको स्मरण गराए।