चमेलियाको विद्युत् परीक्षण आज

    1390

    दार्चुला: राष्ट्रिय गौरवको चमेलिया जलविद्युत् आयोजनामा झण्डै एक दशकपछि आइतबार विद्युत् उत्पादन परीक्षण हुँदैछ ।

    सन् २००७ बाट निर्माण सुरु गरिएको आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सन् २०११ मा सम्पन्न गर्ने भनिएको शैल्यशिखर नगरपालिका १ शिखर बलाँचमा निर्माणाधीन ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको काम झण्डै ११ वर्षपछि पूरा हुने भएको हो ।

    आयोजना प्रमुख अजयकुमार दाहालले ९९.१९ प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए । आइतबार बलाँच–अत्तरिया १ सय ३१ केभी प्रसारणलाइन र सबस्टेसनको परीक्षण गरिने भएको छ ।

    यस्तै जडान गरिएका तथा जडान नगरिएका उपकरणहरूको पनि परीक्षण गरिने आयोजना प्रमुख दाहालको भनाइ छ । प्रसारणलाइनको परीक्षण सुरु गर्न प्राधिकरण, कोरियाली ठेकेदार तथा परामर्शदातासहितको टोली दार्चुला आइपुगेको छ । १ सय ३१ किलोमिटरको प्रसारणलाइन र  सबस्टेसन परीक्षण कार्य १५ दिनसम्म गरिनेछ ।

    आयोजनाको काम डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अब अडिट टनेलहरू २ र  ३ मा केही उपकरणहरू जडान गर्न बाँकी रहेको आयोजना प्रमुख दाहालले जानकारी दिए । हालसम्म आयोजनाले १४ अर्ब ५० लाख खर्च गरेको छ भने काम सम्पन्न भइसक्दासम्म १५ अर्ब ६० करोड खर्च हुने अनुमान गरिएको छ ।

    आयोजना निर्माण सम्पन्न भए पनि दार्चुलाबासीले तत्काल विद्युत् उपभोग गर्न भने  नसक्ने भएका छन् । चमेलियाको विद्युत् दार्चुला जिल्लालाई वितरण गर्न महाकाली नगरपालिका ७ थालीगाडमा बन्न लागेको सबस्टेसनको काम सम्पन्न भएपछि मात्रै दार्चुलाबासीले चमेलियाको उत्पादन उपभोग गर्नसक्ने जनाइएको छ ।

    गोकुलेश्वरदेखि बरमुडे हँुदै थालीगाडसम्म ल्याइन लागेको १ सय ३३ केभीको २२ किलोमिटर  प्रसारणलाइन सम्पन्न भइ थालीगाडमा पावर स्टेसन निर्माण गर्ने काम चैतपहिले सम्भव नहुने प्राधिकरण दार्चुला वितरण केन्द्रका प्रमुख इन्जिनियर रामदिनेश चौधरीले बताए ।

    संरचना नहुँदा दार्चुलाबासीले जिल्लामै उत्पादित ८ मेगावाटको अपी हाइड्रोपावरको विद्युत्समेत बाल्न सकेका छैनन् । त्यस्तै जिल्लाका विभिन्न ठाउँमा लघुजलविद्युत् योजनाहरू बने पनि भरपर्दो नहुँदा स्थानीयले समस्या बेहोरिरहेका छन् । दार्चुला जिल्लामा भारतबाट ०.५ एमभीए अर्थात झण्डै ६ किलोवाट विद्युत् आयात भईरहेको छ ।

    स्रोत : कारोबार