Budhigandaki Hydro began distributing compensation

    1586

    गोरखाबजार– एक हजार २०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजनाले अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरण गर्न थालेको छ।

    budhigandaki hydro

    गोरखाको घ्याल्चोक गाविस– ९ स्थित सिउरेनीटारका जग्गाधनीहरुलाई मुआब्जा वितरण सुरु गरेको हो। जिल्ला प्रशासन कार्यालयमार्फत् जग्गाधनीलाई मुआब्जा वितरण गरिएको छ। कार्यालय भवन निर्माणका लागि आयोजनाले १३३ रोपनी जग्गा स्थानीयबाट अधिग्रहण गरेको छ। प्रतिरोपनी रु सात लाख ९५ हजारका दरले मुआब्जा वितरण गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले बताए।

    आयोजनाले ३७ जना स्थानीयवासीको जग्गा अधिग्रहण गरेको हो। ‘तीस जनालाई मुआब्जा वितरण गरेका छौँ,’ प्रजिअ तिमल्सेनाले भने, ‘बाँकी सातजनालाई छिट्टै वितरण गर्छाैँ।’ सातजनाको जग्गा बैंकमा रोक्का रहेकाले फुकुवा गरेपछि मात्रै मुआब्जा दिने प्रशासन कार्यालयले जनाएको छ।

    पहिलो पटक चैत १२ गते सूचना प्रकाशन गरेर २७ जनाको र दोस्रो पटक जेठ २० गते सूचना जारी गरेर १० जनाको जग्गा अधिग्रहण गरिएको इञ्जिनियर आनन्द पौडेलले जानकारी दिए। अधिग्रहण गरिएको जग्गाको मुआब्जा रु १० करोड ६६ लाख १० हजार वितरण गर्ने तयारी आयोजनाले गरेको छ। आठ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार हुँदैछ। साथै चारवटा परीक्षण सुरुङ खनिएको छ।

    रासस