टकपुरबाट थप १५ मेगावाट विद्युत् ल्याउन अनुमति

1332

काठमाडौं,२५ पुस २०७७ । नेपाल विद्युत प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयातका लागि अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत प्राधिकरण (सिईए)ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन नेपाल विद्युत प्राधिकरणलाई अनुमति दिएको हो । विद्युत प्राधिकरणले टकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको थियो ।
सिईएले अनुमति दिएसँगै अब आवश्यक परेको बेला टनकपुरबार ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने नेपाल विद्युत प्राधिकरणका कायम मुकायम (कामु) कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताउनुभयो । प्राधिकरणले टनकपुरबाट खरिद गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४.१४ भारतीय रुपैयाँ (६.६२ नेपाली रुपैयाँ) छ । नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट विद्युत निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ ।
‘टनकपुरमा अहिले १०० एमभीएको ट्रन्सफर्मर भए पनि उताबाट अनुमति नपाउँदा ७० मेगावाटभन्दा बढी ल्याउन पाइरहेका थिएनौं, भारतीय अधिकारीहरुसँगको निरन्तरको छलफलपछि जनवरी—मार्च र जुलाई—डिसेम्बरमा आयात क्षमता बढाएर ८५ मेगावाटसम्म ल्याउन पाउने अनुमति पाएका छौं,शाक्यले भन्नुभयो । ‘प्रसारण लाइनको क्षमताले नधान्दा पूर्वबाट पश्चिमतर्फ विद्युत पठाउन सकिरहेका थिएनौ, टनकपुरबाट थप विद्युत् ल्याउन पाएपछि अब पश्चिम क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने छ भने बिहारबाट महंगोमा आयात भइरहेको विद्युत्लाई कम गर्न सकिने छ ।’
प्राधिकरणले ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत आयात गरेको विद्युत्लाई प्रसारण लाइनको क्षमता अभावका कारण रौतहटको चपुरबाट पश्चिम पठाउन समस्या भोगिरहेको थियो । टनकपुरबाट थप आयात गर्न सकिने भएपछि पश्चिम पठाएको विद्युत्लाई काठमाडौं उपत्यका र पूर्वतर्फ आपूर्तिका लागि पठाउन सकिने शाक्यले बताउनुभयो । यसबाट मुलककै समग्र विद्युत् आपूर्तिमा सुधार हुने उहाँले उल्लेख गर्नुभयो ।
केही दिनअघि ढल्केबर सबस्टेसनमा ट्रान्सफर्मरको क्षमता विस्तार गरेसँगै त्यहाँबाट थप १०० मेगावाटसम्म विद्युत आयात गर्न सकिने छ । यसबाट यस वर्षको जाडोमा हुने विद्युत्को माग धान्न पर्याप्त विद्युत् हुने छ । प्राधिकरण र भारतीय कम्पनी एनटिपिसी विद्युत निगम लिमिटेड(एनभीभीएन)बीच ढल्केबर–मुजफ्फपुर क्रस बोर्डर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत खरिद बिक्री सम्झौता (पिपिए) भएको छ । पीपीएको म्याद ३० जुन २०२१सम्म रहेको छ । खरिद गरिने विद्युत्को प्रतियुनिट मूल्य ४.१८ भारु (६.६९ नेरु) छ ।
विद्युत आपूर्ति सुधार गर्न निर्देशन
प्राधिकरणका कामु कार्यकारी निर्देशक शाक्यले लुम्बिनी प्रदेशको विद्युत् आपूर्ति तथा सेवा प्रवाहमा सुधार गर्न, चोरी नियन्त्रणमा आक्रामक हुन, विद्युतीकरणमा जोड दिन कर्मचारीहरुलाई निर्देशन दिनुभयो । शाक्यले बुधबार, बिहीबार र शुक्रबार लुम्बिनी प्रादेशिक कार्यालय, बुटबल ग्रिड कार्यालय, औद्योगिक क्षेत्र, निर्माणाधीन आयोजनाको स्थलगत निरीक्षण गर्नु भएको थियो ।
भैरहवा क्षेत्रका उद्योगीहरुले विद्युत्को गुणस्तरीयता र पर्याप्त विद्युत् आपूर्ति नपाएको गुनासो बारम्बार गरिरहेको उल्लेख गर्दै उहाँले पर्याप्त र भरपर्दो विद्युत आपूर्ति हुने गरी नयाँ संरचना बनाउन, भइरहेको संरचनाको नियमित मर्मतसम्भार गर्न र चालू योजनालाई जतिसक्दो छिटो सम्पन्न गर्न निर्देशन दिनुभयो ।