तामाकोसीको डिजाइन अन्तिम समयमा परिवर्तन

1324

निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको अन्तिम समयमा आएर डिजाइन परिवर्तन हुने भएको छ । मुख्य सुरुङबाट आएको बेगले आउने पानीलाई टर्बाइनमा पठाउनुअघि उच्च गतिलाई व्यवस्थापन गर्न एक्सपान्सन ज्वाइन्ट पाइप राख्ने योजना बनाएको आयोजनाले अन्तिम समयमा आएर यसमा परिवर्तन गरी वेल्डिङ गर्ने निर्णय गरेको हो । एक्सपान्सन ज्वाइन्ट पाइप निर्माण गर्ने कम्पनीले डिजाइनअनुसार पाइप उत्पादन गर्न नसकेको र यसको कारण आयोजनाको काममा ढिलाई हुने भन्दै यस्तो गर्न लागिएको हो । विज्ञहरूले भने आठ सय मिटरभन्दा धेरै हेड भएको ठूलो आयोजनाको कारण सुरुङबाट आउने पानीको वेग थप घट हुँदा यसमा दबाब थपेर फुट्न सक्ने भन्दै छिटो सम्पन्न गर्ने नाममा उचित सुरक्षा नअपनाउँदा ठूलो खतरा हुन सक्ने बताउँछन् ।
२०६८ सालमा निर्माण सुरु भएर २०७२ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको राष्ट्रिय गौरवको आयोजना घोषणा गरिएको सो आयोजना अझै सम्पन्न भएको छैन । सरकारले २०६७ सालमा राष्ट्रिय गौरवको आयोजना घोषणा गरेपनि हालसम्म कुनै सम्पन्न नभईरहेको बेला माथिल्लो तामाकोसीमाथि तत्काल सम्पन्न गर्न ठूलो दबाब छ । सत्तारुढ विभाजनपछि आफ्नो कार्यकालमा माथिल्लो तामाकोसी जसरी भएपनि सम्पन्न गर्नका लागि प्रधानमन्त्री कार्यालयबाट ठूलो दबाब दिएपछि र तामाकोसी आयोजना व्यवस्थापनमाथि ढिलाइको आरोप लागेपछि थप एक्सपान्सन ज्वाइन्ट पाइपको सट्टा सोही राख्न सक्ने विकल्प हुँदा हुँदै थप समयभन्दा तत्कालका लागि खतराभन्दा हतारोलाई रोजिएको हुन सक्ने विज्ञहरूको तर्क छ । आयोजना व्यवस्थापनसम्वद्ध स्रोतले भने प्रधानमन्त्री कार्यालयका साथै ऊर्जा मन्त्रालयबाट समयमै सक्न ठूलो दबाब आए पनि प्राविधिक रूपमा सुरक्षामा सम्झौता नगरिएको र वाईन्डिङ गरेर क्रंक्रिट गर्ने परामर्शदाताकै सल्लाहमा विकल्पमा गएको जनाएको छ । आयोजनाको लट २ को ठेकेदार कम्पनी टेक्सम्याको एण्ड रेल्वे कम्पनीले पाइप उत्पादन गर्न असफल भएपछि परामर्शदाता कम्पनी नरकल्सल्ट–ल्याह्मेरसँग र उत्पादकसँगको छलफलपछि विकल्प रोजिएको आयोजना व्यवस्थापनको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमीटेडमार्फत निर्माण भईरहेको सो आयोजना स्वदेशी लगानीमा निर्माण भइरहेको सबैभन्दा ठूलो आयोजना हो । विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक एवं तामाकोसी हाइड्रोपावर कम्पनी लिमीटेडका अध्यक्ष हितेन्द्रदेव शाक्य एक्सपान्सन ज्वाइन्ट पाइप तत्काल राख्न नसक्ने अवस्था देखिएकोले वेल्डिङ गरेर क्रंकिट गर्ने परामर्शदाताको सुझावकै आधारमा विकल्पमा जाने निर्णय गरिएको बताए । “सम्झौता भएको कम्पनीले पाइप दिन नसकेपछि परामर्शदाताकै सुझावमा विकल्पमा गएका हौं, यहाँ दुई एक्सपान्सन ज्वाइन्ट पाइप राख्न लागिएको थियो, एउटा निश्चित (फिक्स) र अर्को झिक्न मिल्ने, फिक्समा मात्र हामी विकल्पमा जान लागेको हौं,” उनले भने, “झिक्न मिल्नेमा हामी एक्सपान्सन ज्वाइन्ट पाइपमै राख्ने योजना छ तर यसमा पनि कम्पनीले ल्याउन नसक्ने अवस्था देखिएकोले के गर्ने भन्ने निर्णय भैसकेको छैन ।”
निर्माण ढिलो भएपछि आयोजना छिटो सक्न दबाब आएको भएपनि यसकै आधारमा भन्दा पनि परामर्शदाताहरूले वेल्डिङ गरेर क्रंक्रिटमा जाँदा कुनै जोखिमता नहुने उल्लेख गरेकोले सबै पक्षसँग छलफल गरेर निर्णय गरिएको उनी बताउँछन् । “भविष्यमा मर्मत सम्भार गर्नुपर्दा ठूलो समस्या आउन सक्छ, छिर्ने बाटो नहुने भएकोले खतरा आउन सक्ने भएकोले यसको विकल्पमा खोजी गरेका छौ, झिक्न नमिल्ने ठाउँमा कंक्रिट गरेपछि यसमा खतरा हुँदैन, नांगो पाइपमा भने खतरा हुन सक्छ,” उनी भन्छन् । विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ आफूले यसबारे विस्तृत जानकारी नभएपनि परामर्शदाता कम्पनीको सुझावमा गरिएको हुँदा यसमा खतरा हुन नसक्ने बताउँछन् ।
आयोजनाको लट २ को ठेकेदार कम्पनी टेक्सम्याको एण्ड रेल्वे कम्पनी भारतले एक वर्षदेखि यसको उत्पादनै गर्न सकेको छैन । “अर्डरमा दिइएको डिजाइन अनुसारको एक्सपान्सन पाइप उत्पादक कम्पनीले बनाउनै सकेन,” उनले भने, “अब त्यसको साटो डिजाइन नै परिवर्तन गर्ने कम्पनीको बोर्डले निर्णय नै गरेर नयाँ डिजाइन अनुसारको उत्पादन भइरहेको छ ।” अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठ भन्छन्, “टेक्सम्याकोले उत्पादन गरेको अघिल्लो डिजाइन अनुसारको एक्पान्सन ज्वाइन्टको पाइप असफल भयो । अहिले परामर्शदाता कम्पनी नरकल्सल्ट–ल्याह्मेरसँग र उत्पादकसँगको छलफलपछि नयाँ डिजाइन गर्न लागेको हो ।”
नयाँ डिजाइनअनुसार अब कंक्रिट बाक्लो हुन्छ । यस्तो ज्वाइन्ट धेरै जलविद्युत् आयोजनामा प्रयोग भए तापनि नेपालमा भने हालसम्मकै ठूलो जलविद्युत् आयोजना र उच्च हेडबाट पानी खसाल्ने हुँदा जोखिम पनि बढी छ । तर, श्रेष्ठ मेलम्चीमा सुरुङ परीक्षणमा भएको दुर्घटनाले पनि ढिलै भए तापनि गुणस्तरीयतामा कुनै सम्झौता नहुने गरी काम भइरहेको र आगामी चैतसम्ममा काम सकेर बैशाखदेखि पहिलो युनिट उत्पादन गर्ने लक्ष्य राखिएको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए । पानीको उच्च बेग अनुसार उक्त पाइप तल–माथि भएर सरिरहँदा पनि यसले पानीको बेगले उत्पन्न हुने प्रेसरलाई घटाउने काम गर्ने आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेको दाबी छ ।
साना लघु जलविद्युत् आयोजना समेत एक्सपान्सन ज्वाइन्ट पाइप राख्ने गरिएको भएपनि ठूलो आयोजनामा नराख्दा ठूलै खतरा हुन सक्ने तर्क गर्छन । “पाइप जोड्न एक्सपान्सन ज्वाइन्ट पाइप नभै हुँदैन । पानीको घटेर बढेर हुन सक्ने अवस्थालाई मध्यनजर राखी तन्किने ठाउँ राख्ने गरिन्छ । दबाबलाई नियन्त्रण गर्छ,” एक विज्ञले भने, “ठेक्का दिएको कम्पनीले समयमै गर्दैन भन्ने थाहा हुँदा हुँदै विकल्प खोजिएन तर अहिले छिटो सक्न भरपर्दो विकल्पमा नजाँदा भोलि आयोजनामा ठूलो विपद आउन सक्छ ।” उनका अनुसार, ठेक्का दिएको कम्पनीले गर्न नसकेमा करिब तीन करोड थपेर नयाँ कम्पनीसँग जान सक्ने वा सम्बन्धित कम्पनीले अर्को कम्पनीबाट ल्याउन सकिने विकल्प हुँदा हुँदै यसो गर्दा भोलि समस्या आउन सक्छ । ज्वाइन्ट पाइप राख्नलाई भने अब सुरु गरेपनि कम्तीमा ८ महिना भने लाग्ने तर यो राखेपछि आयोजनामा खतराको सम्भावना कम हुने उनको तर्क छ ।
गत वर्ष पाइप कम्पनीले बनाउन नसकेपछि सामान लिन कोलकाता गएको आयोजनाको टोली सामान नै नलिइ फर्किएको थियो । एक वर्षदेखि पेनस्टक पाइप उत्पादनका लागि आयोजनाले मेकानिकल इन्जिनियरलाई कोलकत्ताको टेक्सम्याकोकै उत्पादन उद्योगमा राखेको थियो । कोभिडका कारण लकडाउनका कारण टोली फर्कियो । ६ महिना जति कोलकत्तामा उद्योग बन्द भयो । अहिले फेरि इन्जिनियर कोलकातामै राखेको छ । उक्त पाइप आयोजनामा पुगेपछि बाँकी रहेका केहि पेनस्टक पाइप र उक्त एक्सपान्सन पाइप जडान गर्न २ महिनासम्म समय लाग्न सक्ने न्यौपाने बताउँछन् । नयाँ डिजाइन अनुसारको पाइप समयमा आइपुगे फागुनसम्म पाइप जडान गरेर चैतदेखि विद्युत् परीक्षण उत्पादन गरी असारसम्म पूर्ण क्षमता ४५६ मेगावाटकै उत्पादन गर्न सक्ने गरी कार्ययोजना बनाएको छ ।
आयोजनाले एक्सपान्सन ज्वाइन्टसँगै अर्को पनि महत्वपूर्ण सामान डिस्पान्टेबल बक्स पनि ल्याउन बाँकी छ । आयोजनाको निर्माण सकिएपछि सुरुङमार्गलगायत भित्री संरचनामा कुनै समस्या आउँदा मर्मतका लागि जाँदा त्यही बक्सको सहायताले भित्र जानु पर्छ । उक्त बक्स अहिले नै जडान गर्नुपर्ने हुन्छ । यो बक्स निर्माण गरिसकेको भए पनि एक्सपान्सन ज्वाइन्ट निर्माण नभएकाले दुवै सामान एकै पटक ल्याउने आयोजनाको तयारी छ । यी दुई उपकरण बाहेक आयोजनाको अधिकांश काम सकिएको छ । मुख्य सुरुङमार्गमा पेनस्टक पाइप जडान भइसकेको छ । सुरुङमार्गमा ग्राउटिङ र कंक्रिटिङको काम पनि साथसाथै भइरहेको छ । विद्युत्गृह निर्माण सकिएको छ । टर्बाइन र ट्रान्सफर्मरहरूको जडान भइसकेको २ वर्ष बितिसकेको छ । प्रसारणलाइन निर्माणको काम पनि अन्तिम चरणमा छ । ६ महिनादेखि अन्तिमको मल्टी सर्किट टावार मुआब्जा र स्थानीयको विवादले निर्माण हुन सकेको छैन । फुलासीको सबस्टेशन अब २ महिना भित्रै पूरा हुने निर्माण कम्पनी केईसी इन्टरनेशनल भारतीय कम्पनीका प्रतिनिधि अमित पुनियाँले बताए ।
एक्स्पान्सन ज्वाइन्ट राखिसकेपछि आयोजनाको सुरुङमार्गमा पानी भरेर सुरुङ परीक्षण गर्ने छ । सुरुङमार्गमा पानी भरिसकेपछि कतै चुहिने समस्या देखिएमा भने सबै पानी खाली गरेर त्यसलाई मर्मत गर्न थप केही समय लाग्ने छ । तर पानी चुहिने समस्या देखिएन र सुरुङमार्गको परीक्षण सफल भएमा भने विद्युत् गृह र टर्बाइनको परीक्षण सुरु हुने छ ।
त्यसपछि विद्युत् उत्पादन नगरी विद्युत् गृहका संरचनाको परीक्षण गरेपछि तेस्रो चरणमा विद्युत् उत्पादन गरेर आयोजनाको परीक्षण गरिने छ । त्यसपछि भने आयोजनाले नियमित विद्युत् उत्पादन सुरु गरेर राष्ट्रिय प्रसारणलाइनमा जोड्ने आयोजनाको तयारी छ । कुनै प्राविधिक समस्या आएन भने २०७८ बैशाखमा माथिल्लो तामाकोसीको एउटा युनिटबाट कम्तिमा ७६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्रवक्ता न्यौपानेले बताए । ४५६ मेगावाटको नेपालकै ठूलो जलविद्युत् आयोजनामा ७६ मेगावाट क्षमताका ६ वटा टर्बाइन राखिएका छन् । वैशाखमा एउटा युनिटबाट विद्युत् उत्पादन सुरु गरेपछि क्रमैसँग अरु युनिटबाट पनि विद्युत् उत्पादन सुरु गर्ने कार्यतालिका छ । आयोजनाको हेडवक्समा भने इन्टेक, बाँध, डिस्यान्डरमा भने पानी भरेर ८ महिना अघि नै पानी भरेर परीक्षण गरिसकेको छ ।
टेक्सम्याकोले मेकानिकलका सामान उत्पादन र ढुवानीमै ढिलाइ गरेपछि एक वर्ष अघि ऊर्जासचिव, दिनेश घिमिरे, तत्कालीन विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ, अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठ, आयोजना प्रमुख दिनेशजंग राणा, अनुगमन महाशाखा प्रमुख विमल गुरुङ आफैं कोलकाता पुगेका थिए ।
आयोजनाको २०७० सालमा पनि मुख्य सुरुङमार्ग पनि कमजोर चट्टानका कारण डिजाइन परिवर्तन गरी २ वटा ठाडो सुरुङ डिजाइन गरिएको थियो । तर सुरुको ठेक्का सम्झौता अनुसार सामान उत्पादन र ढुवानी २०७१ चैतसम्म गरिसक्नु पर्ने छ । त्यससमयसम्म ढुवानीको काम नै सुरु हुन सकेको थिएन ।
आयोजनाको समय लम्बिँदा लागत समेत बढेर व्याज सहित दोब्बर बढी भएको छ भने वार्षिक १० अर्ब आम्दानी समेत गुमाउदै आएको छ । तामाकोसीको ढिलाइले २२ मेगावाटको रोल्वालिङ डाइभर्सनको काम समेत सुरु हुन सकेको छैन । यो आयोजना अपर तामाकोसीकै पाइप लाइनको आयोजना हो ।

 

स्रोत : कारोबार