तल्लो मोदीको निर्माण कार्य तीव्र : आगामी असोजबाट विद्युत् उत्पादन तयारी

    2650

    २० मेगावाट क्षमताको तल्लो मोदीको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । आउँदो असोजभित्रमा विद्युत् उत्पादन गर्ने तयारीका साथ तल्लो मोदी जलविद्युत् आयोजनाको काम दु्रत गतिमा सञ्चालन भइरहेको हो । जिल्लाको कुश्मा नगरपालिका–१२ मा निर्माणाधीन उक्त आयोजनाको निर्माण कार्य ७५ प्रतिशत पूरा भइसकेको आयोजना प्रमुख पवनकुमार यादवले जानकारी दिए ।

    २०६९ साउनदेखि निर्माण शुरू भएको आयोजनामा भारतले गरेको नाकाबन्दी र भूकम्पका कारण ढिलाइ भएको हो । ‘निर्धारित समयमा आयोजना पूरा नहुने निश्चित भयो,’ आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेल्बासेले भने, ‘अब भने आयोजनाको काम तीव्रताका साथ अघि बढेको छ ।’ आयोजना निर्माणको काम मनाङ टे«डलिङ्कले गरिरहेको छ । ४ हजार २७ मिटर सुरुङमध्ये अब १ हजार १ सय मिटर खन्न बाँकी छ भने २ हजार ९ सय २७ मिटर निर्माण पूरा भएको छ । सुरुङलाई ६ भागमा बाँडेर खन्ने काम शुरू गरिएकोमा फेज ५ र ६ नम्बर पूरा भइसकेको छ । फेज ५ को १ हजार १ सय मिटर तथा फेज ६ को ४ सय २५ मिटर सुरुङ निर्माण सकिएको छ । अहिलेसम्म फेज ४ को ७ सय ८८ मिटरमध्ये ६ सय खनिसकिएको छ ।

    फेज १ को ७ सय ९६ मध्ये ५ सय ८० मिटर खनिएको छ । कमजोर भूभाग भएकाले फेज २ र ३ मा काम ढिलो भइरहेको छ । फेज २ को ६ सय मिटरमध्ये १ सय २३ मिटर र फेज ३ को ५ सय १० मिटरमध्ये २ सय मिटर मात्रै सुरुङ खनिएको छ । ३ अर्ब ५७ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजना नेपाल विद्युत् प्राधिकरणसँग २०६८ भदौमा विद्युत् खरीद सम्झौता गरी २०६९ साउनदेखि निर्माण शुरू भएको हो ।

    पर्वतको कुश्मा नगरपालिकामा पर्ने चुवा, दुर्लुङ तथा तिलाहार, बाजुङ तथा देउपुर गाविसमा पर्ने आयोजनामा नेपाल इन्भेष्टमेण्ट बैङ्कको नेतृत्वमा सनराइज, ग्राण्ड, सिद्धार्थ, नेपाल क्रेडिट एण्ड कमर्श, कमर्ज एण्ड ट्रष्ट, मेगा, ग्लोबल आईएमई, एचएण्डबी, कैलाश र एनआईडीसी डेभलपमेण्ट बैङ्कले लगानी गरेका छन् । कुल लागतमध्ये मनाङ ट्रेडलिङ्कको २५ र बैङ्कहरूको ७५ प्रतिशत लगानीमा आयोजना बन्न लागेको हो ।

    @ अभियान