५५ लाख पङ्खा र २ करोड पुरानो चिम प्रतिस्थापन गर्ने कुलमानको योजनाले ३५६ मेगावाट बिजुली बचत गर्ने

    2830

    काठमाडौं । हाल सञ्चालनमा रहेका बढी बिजुली खपत गर्ने पुराना पङ्खा र चिम प्रतिस्थापन गर्दा सयौं मेगावाट बिजुली खपत घटने भएको छ ।

    नेपाल विद्युत प्राधिकरणले देशभर रहेका बढी विद्युत खपत गर्ने ५४ लाख ८४ हजार ४८ थान पंखा र २ करोड थान सीएफएल, ट्युवलाइट र इनक्यानडिसेन्ट चिम विस्थापन गरेर ऊर्जा दक्षता भएका पंखा र चिमको प्रयोगबाट ३५६ मेगावाटसम्म बिजुली खपत घटने देखिएको छ ।
    पुराना पङ्खा प्रतिस्थापन गर्दा २०६ र पुराना चिम हटाउँदा १५० मेगावाटसम्म बिजुली खपत कम हुने प्राधिकरणका योजना तथा प्राविधिक सेवा विभागका निर्देशक बज्रभुषण चौधरीले बताए ।

    लोडसेडिङ हटेकाले अब यसलाई सन्तुलनमा राख्न विद्युत प्राधिकरणले बढी बिजुली खपत गर्ने विद्युतीय उपकरण विस्थापन गरेर कम बिजुली खपत गर्ने उपकरण जडान गर्न ऊर्जा दक्षता योजना (ईनर्जी इफिसेन्सी प्रोगाम) ल्याउन लागेको उनले जानकारी दिए ।

    १८ लाख २८ हजार १६ ग्राहसँग औसत ३ वटा पङ्खा भएको अनुमानका आधारमा झण्डै ५५ लाख पङ्खा विस्थापन गर्दा वर्षातको ६ महिनासम्म २०६ मेगावाट बिजुली वचत हुने उनको भनाइ छ । हाल सञ्चालनमा रहेका अधिकांश पङ्खा औसत ८० वाटका छन् । विस्थापनपछि ४० वाटको पङ्खा जडान गर्ने तयारी प्राधिकरणको छ । पङ्खा बढीमा ६ महिनासम्म सञ्चालनमा हने गरेको छ । गर्मिका बेला तराईमा बढी पङ्खा चल्ने गरेको छ ।

    पङ्खा विस्थापन गरेपछि साँझमा बिजुलीको माग (पिक लोड) २०६ मेगावाट कमी आउने चौधरीको भनाइ छ । बताए । कम बिजुली खपत गर्ने नयाँ प्रविधिको पङ्खा जडानपछि ६ महिनामा  साढे ६७ करोड युनिट बिजुली बचत हुने उनले जानकारी दिए । चौधरीका अनुसार ऊर्जा दक्षता भएको पङ्खा जडान भएपछि  ६ अर्ब ५४ करोड ७५ लाख रुपैयाँ वार्षिक वचत हुने अनुमान छ । पङ्खा प्रतिस्थापन गर्न ३८ अर्ब ३८ करोड ८३ लाख ३६ हजार रुपैयाँ लाग्ने देखिएको छ । यसबाट सोही क्षमताको पिकिङ जलविद्युत आयोजना बनाउन सकिने छ ।

    दक्ष र स्मार्ट पङ्खा र एयर कन्डिसन र ऊर्जा दक्षता भएको मोटर चलाउन व्यापक प्रचारप्रसार गर्ने तयारी प्राधिकरणको छ ।  यसका लागि प्राधिकरणले वितरण प्रणालीमा इलेक्ट्रिक मिटरिङ सिस्टम र स्मार्ट मिटेरिङ प्रयोग कार्यक्रम लागुगर्ने भएको छ ।

    हाल रहेका पुराना प्रविधिका सीएफएल, ट्युवलाइट र इनक्यानडिसेन्ट चिम विस्थापन गरेर २ करोड थान एलईडी चिम जडान भएपछि १ वर्षमा डेढसय मेगावाटसम्म बिजुली खपत कम हुने चौधरीको भनाई छ । एउटा ६० वाट बराबरको इनक्यानडिसेन्ट चिमको उज्यालो ३६ वाटको ट्युवलाईटले दिने, ३६ वाटको ट्युवलाइट बराबरको उज्यालो १८ वाटको सीएफएल र सीएफलएल बारबरको उज्यालो ९ वाटको एलईडीले १८ वाटको सीएफएल बराबरको उज्याले दिने भएकाले पूरालाई प्रतिस्थापन गर्ने तयारी भएको उनले जानकारी दिए । ६० वाटको चिमको काम ९ वाटको एलईडीले गर्ने चौधरीको भनाइ छ । अन्य चिमको तुलनामा एलईडीले ८१ प्रतिशत बढी उज्यालो र बढी समय खप्ने देखिएको छ ।

    विद्युत प्राधिरकरणले विद्युत खपत कम गर्ने  र ऊर्जाको वचत गर्नका लागि २ करोड थान एलईडी चिम ल्याउदै छ । २ करोड एलईडी चिम वितरण गर्दा.२ अर्ब ३० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । २ करोड थान एलईडी चिम वितरण गरी  जडित सीएफएल र इनक्यानडिसेन्ट चिम प्रतिस्थापन गर्ने चौधरीले जानकारी दिए ।

    स्रोत:बाह्रखरी